दुर्घटनाको जिम्मा नलिने व्यवसायीको निर्णय

यातायात व्यवसायी समिति साउन १ गतेदेखि खारेज हुन लागेको भन्दै व्यवसायीले दुर्घटनाको जिम्मा नलिने निर्णय गरेका हुन्
बुटवल\समाचारदाता

 

प्रदेश नं. ५, ६ र ७ का यातयात व्यवसायीहरुले साउन १ गतेदेखि दुर्घटनाको जिम्मेवारी नलिने भएका छन् । साउन १ गतेदेखि संघसंस्थाहरु खारेज हुनै लाग्दा व्यवसायीहरुले दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका हुन् । सरकारले गत चैत १८ गते यातायात क्षेत्रमा भएको सिडिकेट अन्त्य गर्ने भन्दै यातायात सम्बद्ध व्यवसायीहरुको बैंक खाता रोक्नुका साथै साउन १ गते देखि संघ संस्था खारेज गर्ने निर्णय गरेको थियो ।

 
ट्रक व्यवसायीहरुको संयुक्त बैठकले तीन वटा प्रदेशका करिव ७ हजार ट्रकहरुले दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको पश्चिममाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए । अहिले दुर्घटनाका नाममा यातायात व्यवसायी संघ, संस्थाहरुले मासिक डेढ करोड रुपैयाँसम्म खर्च गर्दै आइरहेका छन् ।

 
पश्चिमाञ्चल ट्रक व्यवसायी समिति, बाणगंगा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति, भेरी ट्रक तथा टयांकर व्यवसायी समिति, लुम्बिनी ट्रक व्यवसायी समिति, मध्यपश्चिम ट्रक तथा टेक्टर व्यवसायी सििमति र लुम्बिनी साना तथा मझौला व्यवसायी समितिको संयुक्त बैठकले दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका हुन् । संयुक्त बैठकले माल बाहक क्षेत्रमा रोड प्रमिट अधिकारज्य भर खुला रहेको, कुनै पनि रुट र रोडमा ट्रक सञ्चालन गर्न कहि कतैबाट अवरोध नभएको साथै भाडा राज्यबाट तोकी प्रतिस्पर्धात्मक रुपमा सञ्चालन भएको भन्दै सरकारलाई खाता सञ्चालन गराउन र संस्था नविकरणका लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

 
पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष लोकराज पोखरेलले मालवाहक यातायात व्यवसायीमा कुनै पनि सिन्डिकेट नरहेको भन्दै संस्था नविकरण र बैंक खाता सञ्चालन गर्नुपर्ने बताए ।

 
मासिक रुपमा डेढ करोड रुपैयाँसम्म उपचार खर्चमा संस्थाको रकम जाने भएको भन्दै संस्था नविकरण र बैंक खाता सञ्चालन नभएसम्म दुर्घटनाको जिम्मेवारी आफुहरुको नहुने उनको भनाइ छ । यातायात व्यवसायीहरुले घोषणा गरेर आन्दोलनका कार्यक्रम नगर्ने तर दुर्घटनाको जिम्मेवारी भने नलिने निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया