२०७२ चैत्र १८ गते काम सुरु गरी १५ महिना भित्र निर्माण पूरा गर्ने सर्तका साथ काम सुरु गरेको एउटा निर्माण कम्पनीले हदै सम्मको लापरवाही गरेपनि कारवाही अघि बढ्न सकेको छैन ।
२०७४ असोजमा म्याद सकिएको निर्माण अवधि बारे नेपालगन्ज उपमहानगरपालिकाले ९ महिना म्याद थप गरेको थियो । समयमा काम पूरा नगर्ने निर्माण कम्पनीलाई नेपालगन्ज उपमहानगरपालिकाले कारवाही गर्नुको सट्टा म्याद थप गरेर झारो टार्ने काम गर्दै आएको छ ।
नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण कार्यमा भएको लापरवाहीका कारण सवारी साधन र यात्रीले सास्ती खेप्दै आएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधायुक्त बस पार्क निर्माण कार्य सुरु गरेको थियो । सुरुमा निर्माण कम्पनी यूनाइटेड बिल्डर्स संग १५ महिनामा प्रोजेक्ट पूरा गर्ने शर्तमा ठेक्का सम्झौता भएको थियो । अब्यवस्थित रुपमा संचालित नेपालगन्जको बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन १५ महिना भित्रको निर्माण पूरा गर्ने सम्झौता भएपनि २ वर्ष पूरा हुन लाग्दा पनि निर्माण स्थलमा ६० प्रतिशत काम बाँकी देखियो ।
२० करोड रुपैयाँको लागतमा निर्माण हुने बसपार्क निर्माण कम्पनीको अनियमितताका कारण गति लिन सकेको छैन । सवारी साधनलाई पार्किंङ गर्न सहज हुने र यात्रीहरूलाई सुविधा सम्पन्न बसपार्कको अनुभव गराउनका लागि १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारले समयमा काम नगर्दा बसपार्क क्षेत्रका बासिन्दा समेत सास्ती खेप्दै आएका छन् ।
अत्याधुनिक टर्मिनल भवन सहितको बसपार्क बनाउने योजना ठेकेदार र उपमहानगरपालिकाका केहि कर्मचारीको मिलोमतोमा सुस्त भएको स्थानीयहरुको आरोप छ । युनाइटेड विल्डर्सले १५ महिनाभित्र अत्याधुनिक टर्मिनल भवनसहितको बसपार्क निर्माण कार्य पूरा गर्ने शर्तमा नेपालगन्ज उपमहानगरपालिकासँग सम्झौता गरेको थियो ।
नेपालगन्जमा नेपालकै उदाहरणीय र अत्याधुनिक बसपार्क बनाउने सपना विचमै अल्झिएको छ । बसपार्क निर्माणको प्राविधिक रेखदेख तथा सुपरभिजनका लागि खटिएका सेरा कन्सल्टेन्ट प्रालिका इन्जिनियर धर्मराज भट्टले निर्माण कम्पनी र नगर विकास कोष दुबैको कारणले काम ढिला भएको बताए ।
‘अहिले असारसम्मको थपिएको म्याद थियो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्जिनियर भट्टले भने, ‘चाहेको समयमा सामाग्री नआउने, भारतीय क्षेत्रबाट संरचना मगाउनु पर्ने, बीचमा स्थानीय तह निर्वाचन लगायत कारणबाट ढिला भएको हो ।’
निर्माण कम्पनीलाई नियमन गर्न खटिएका इन्जिनियर भट्टले आफुले कुनै ठूलो कारवाही गर्न सक्ने अवस्थामा नरहेको बताए । ‘निर्माण गराइरहेको सेवाग्राही कार्यालयले आन्तरिक रुपमा समन्वय गरि काम गरिरहेकोले दुवै बीचको मिलोमतोमा हामीले खासै बोल्न मिल्दैन’, उनले भने, ‘हामीले म्याद नथप्ने दाबी गरेपनि सेवाग्राहीले चाहेको बेलामा म्याद थप गर्न सक्ने अवस्था रहेको खुलाए ।’ करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीले पनि यसअघि दबाव बनाउँदै आएका थिए ।
बसपार्कबाट राजधानी लगायत पूर्व–पश्चिम तथा उत्तर तर्फ गरी दैनिक ४ सय बढी साना ठूला बसहरू नेपालगन्जबाट संचालनमा रहेका छन् । निर्माण कम्पनी यूनाइटेड बिल्डर्ससँग भएको सम्झौता अनुरुप २०७२ चैत्र १८ गते काम सुरु गरी १५ महिना भित्र निर्माण कार्य सक्नु पर्ने थियो । निर्माण कम्पनीले विभिन्न बहानामा निर्माण कार्य सुस्त गतिमा अगाडि बढाउँदा निर्धारित अवधीमा भन्दा दोब्बर समय हुन लाग्दा काम अझै अधुरो पाइएको हो ।
बसपार्कमा पार्किङ्ग गर्न नपाएपछि पुष्पलालचोकदेखि बसपार्कसम्मको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त देखिन्छ । सडकमै बस पार्किंङ गर्दा पनि विकल्प दिन नसकिएपछि नियामक निकायहरुले समेत केही गर्न सकेको देखिंदैन । जथाभावी पार्किङ्ग गरिएका बसका कारण व्यवसायमा समेत नकारात्मक प्रभाव परेको यातायात ब्यवसायीहरुले बताएका छन् । स्थानीय ब्यवसायीहरु पनि सवारी साधनको अनाधिकृत पार्किंगबाट सास्ती खेप्दै आएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाले केही महिनादेखि मात्रै कार्यले गति लिएको बताएका छन् । ‘३।४ महिनादेखि केहि तीब्र रुपमा काम भइरहेको छ’, दैनिक नेपालगन्ज संग उनले भने, ‘हामी आग्रह गरेर काम लिनुको विकल्प छैन ।’
‘निर्माण कार्यमा विभिन्न कारणले ढिलाई भयो’, प्रमुख राणाले भने, ‘केही निर्माण कम्पनीले ढिला गर्यो केहि समय भौतिक संरचना क्षेत्र खाली नहुँदा चुनौती खेप्नु पर्यो ।’ ‘अब ३ महिना भित्रै निर्माण सम्पन्न हुनेगरि दु्रत गतिमा काम भइरहेको छ’, उनले भने, ‘चाँडै निर्माण पूरा होस् भन्ने विषयमा हामी पटक पटक दवाव दिँदै आएका छौं ।’