जीवन भर सँगै बाँच्ने संगै मर्ने कसम खाएर सम्बन्ध निर्वाह गर्न नसकेका कारण बाँकेमा सम्बन्ध विच्छेद र अवैध सम्बन्धको सिलसिला बढ्दो छ । श्रीमति भागेको, अवैध सम्बन्ध कायम गरेको वा सम्बन्ध बिच्छेद गरि अर्को बिहे नै गरेको सम्मका घटनाबाट समाज अछुतो रहेन । जुन श्रीमति बालबालिकाका लागि पुरुष खाडीमा पसिना बगाउँछ त्यो श्रीमति नै यहाँ गर्भपतन गर्दै हिडेपछि सम्बन्ध कायम रहने प्रश्न नै उठ्दैन ।
घटना बाँके खजुरा गाउँपालिका वडा नं. २ को हो । ८ वर्षअघि विदेश पसेका एक युवक घर फर्किंदा श्रीमति अर्कै संग हिंडेको खबर पाए, खोज तलास सुरु भयो । महिना दिन तलासपछि फर्किएकी श्रीमति अर्कै युवकसँग थिइन् । बिदामा मात्र घर आउने युवकले जीवनका लागि पर्याप्त कमाइ भइसकेकोले अब पुनः विदेश नआउनु पर्ने मनशायका साथ घर आएका थिए । उनी त्यस दौरान कयौं पटक गर्भपतन गरेको तथ्यहरु प्रहरी माझ पुगिसकेको थियो । प्रहरीले दुवै महिला पुरुषलाई मिलेर बस्न अनुरोध गर्दै थियो । महिलाले आफु अर्कैसँग बस्ने तर्क गरेपछि प्रहरी पनि निरिह बन्यो । कारण कानून महिलाकै पक्षधर छ ।
दृष्य हो, आइतवार जिल्ला प्रहरी कार्यालय बाँकेमा एउटा श्रीमान–श्रीमति बीचको छलफलको । साउदी अरबमा बसेर युवकले सात वर्षमा ७० लाख रुपैयाँ पठाए । महिलाका अनुसार, सबै रकम घर बनाउन, बच्चाको पालन पोषण, शिक्षा आदीमा खर्च भयो, बचेको १८ लाख रुपैयाँको हिसाब छैन ।
त्यो १८ लाख नै फिर्ता दिन युवकले अनुरोध गरे, तर महिलाले आफु संग रुपैयाँ नरहेको दाबी गरिन् । उनले भनिन््, ‘मलाई तपाई संग बस्नु छैन ।’ युवकले पनि सम्बन्ध विच्छेद गरौं भनि सहमति भयो । जोडी जिल्ला प्रहरी कार्यालय बाँकेबाट बाहिर निस्कियो । पुरुषका समर्थक र सहकर्मीहरु सहित प्रहरी पनि मूकदर्शक भयो । श्रीमति अर्कै युवक सँग आफ्नो बाटो लागिन । १२ वर्षिय छोरा र ९ वर्षिया छोरी सहित युवक पनि बिस्तारै बाहिरिए । दैनिक नेपालगन्जसँग सम्पर्कमा युवकले भने, ‘हाम्रो कहानी लामो छ, तर छोटोमा बुझौं, भन्नु पर्ने अब कुनै शब्द रहेन । न्याय पनि कसरी र कहाँबाट मागु, न्याय पनि आवश्यक रहेन अब ।
यो घटना नौलो होइन । प्रतिनिधिमूलक घटनाबाट समाज भरिएको छ र हरेक दिन नयाँ घटनाले सम्बन्ध विच्छेदको मोडमा पुगेर टुंगो लागिरहेको भयावह स्थिति छ । ६ महिना अघि मात्रै नेपालगन्ज धम्बोझी बस्ने एउटा नयाँ जोडी धोकाको पात्र भयो । आफु एउटा टेलिफोन कम्पनीमा काम गर्दै श्रीमतिलाई क्याम्पसमा बीएड अध्ययनमा सहयोग गर्दै आएका युवक काठमाडौं रहेका बेला श्रीमतिको फोन लाग्न छाड्यो । उनी हतारमा नेपालगन्ज फर्केर आउँदा श्रीमति घरमा थिइनन्, खोजी सुरु भयो । प्रहरीले उनलाई सुर्खेतबाट अर्कै युवक संग बसेको अवस्थामा पक्राउ गर्यो । कुरा सक्कियो ।
प्रहरी रोहवरमा भएको छलफलमा महिलाले भनिन्, ‘म यिनी सँग बस्दिन ।’ ‘श्रीमतिको अन्तिम शब्द यहि थियो’, दैनिक नेपालगन्जसँग कुरा गर्दै युवकले भने, ‘अब जीवनमा कहिले पनि बिहे गर्दैन ।’ अर्को घटना बाँके लक्ष्मणपुरको हो । मलेशियाबाट घर फर्किरहेका श्रीमान काठमाडौंमा पुगेको सूचना दिएपछि श्रीमति आवश्यक सम्पत्ति सहित भारत पसेको समाचार यसअघि दैनिक नेपालगन्जमा प्रकाशित गरिसकेको छ ।
यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । समाज यस्ता भित्री अपराधहरुबाट समाज भरिएको छ । जुन श्रीमतिको खुशीका लागि पुरुष विदेशिन्छ, फर्कदै उनी अर्कैको भइसकेको पीडा ती पुरुषले मात्रै बुझ्न सक्छन् । ‘अन्ततः सम्बन्ध बिच्छेदको प्रक्रिया संगै आर्थिक लेनदेन नलिने नदिने सम्झौता गरेर प्रहरीले पीडक र पीडितलाई घर पठायो’, सामाजिक सञ्जालमा आइतबार माथिकै प्रकृतिको एउटाबारे युवा स्रष्टा ऋचा लुइटेलले लेखेकी छन्, ‘जिल्ला प्रहरी कार्यालय बाँकेबाट बाहिर निस्किदा मन निक्कै भारी महसुस भएको छ ।’
उनका अनुसार, निकै बेरको बहसपछि एउटा घटनामा ‘महिला नयाँ सारथीका साथमा र पुरुष स–साना लालाबालाका साथमा’ प्रहरी कार्यालयबाट बाहिरिएका थिए । ‘सितापुरका ती भाईलाई जीवनमा हिम्मतका साथ अघि बढन हौसला मिलोस्’, लालाबाला लिएर बाहिरिएका पीडित पुरुष प्रति सहानुभूति व्यक्त गर्दै लुइटेलले आफ्नो पोष्टमा भन्छिन्, ‘महिलाको यस्तो रुप कहिल्यै देख्नु नपरोस् ।’