सहरमा भेटिन्नन् शौचालय, हाइटेक शौचालय भित्र्याउने योजना, आगामी २८ गते बाँके जिल्ला नै पूर्ण सरसफाई घोषणाको तयारी
आपतकालिन स्थितिमा शौचालयक आवश्यक पर्यो भने कसैको घरमा पस्नु पर्छ वा कुनै सरकारी कार्यालय खोज्नु पर्छ । नेपालगन्ज खुल्ला दिसामुक्त घोषणाको दोस्रो दिन सहरका शौचालयको अवस्था प्रयोगविहीन पाइयो ।
नेपालगन्जको उच्च ब्यवसायिक क्षेत्र त्रिभुवन चोक, न्युरोड, बसपार्क क्षेत्र, पुष्पलाल चोक, कारकाँदो, धम्बोझी, विपी चोक, गणेशमान चोक, यी यस्ता स्थान हुन् जहाँ आपतकालिन अवस्थामा निजी शौचालय प्रयोग अर्थात कसैको घरमा पस्नु पर्छ । नेपालगन्जको २३ वटै वडालाई क्रमिक रुपले खुल्ला दिसामुक्त घोषणाको पहल सुरु भएपछि अभियानले निकै ढिलागरि नेपालगन्ज वडा नं.२२ लाई खुल्ला दिसामुक्त घोषणा गर्यो । त्यसलगत्तै शनिवार औपचारिक कार्यक्रम विच नेपालगन्ज उपमहानगरपालिकाले खुल्ला दिसामुक्त नेपालगन्ज घोषणा गर्यो ।

 

नेपालगन्ज क्षेत्रमा अहिले करिब ५ लाख जनसंख्याको बसोबास छ । यात्री, पर्यटक, आगन्तुकको प्रष्ट विवरण सरकारी कार्यालयहरु नभएपनि सहरी क्षेत्रमा आवश्यक कामले निस्कने महिला, बालबालिका आपतकालिन अवस्थामा सहायता लिनुको विकल्प छैन । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकृत सरद पौडेलले नेपालगन्जमा रहेका पुराना शौचालयलाई मर्मत गरेर संचालनको योजना बनाइएको जानकारी दिए । खुल्ला दिसामुक्त कार्यक्रममा सहभागी रहेका उनले भने, ‘जीर्णअवस्थामा रहेका र संचालन भएपनि फोहोरयुक्त भएका पुराना शौचालय मर्मत सम्भार गरि जीर्णोद्वारको योजना तय भएको हो ।’

 

नेपालगन्ज क्षेत्रमा रहेका जम्मा ८ वटा सार्वजनिक शौचालय मध्ये त्रिवेणी मोड, महेन्द्रपार्क र अदालत क्षेत्रमा रहेको शौचालय मात्र बाध्यात्मक रुपमा प्रयोग गर्न लायक छन् । प्रयोगकर्ताहरु भन्छन्, फोहोर र दुर्गन्धित शौचालय प्रयोग गर्नु बाध्यता बनेको छ ।

 

‘जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत मिन बहादुर मल्लले जनसंख्याको अनुपातमा शौचालयको संख्या कम रहेको बताए । नेपालगन्जको एक तिहाई बढि क्षेत्रमा सार्वजनिक शौचालय छैन’, उनले भने, ‘आमनागरिकलाई भएको समस्या तर्फ समयमा पहल हुन आवश्यक छ ।’

 

नेपालगनजको वडा नं.८ घसियारा टोलमा सयौं ब्यक्तिको घरमा अझै शौचालय छैन । घर नै साँघुरो भएका कारण शौचालय बनाउन नसकिएको बताउँदै स्थानीय शालिक कोरीले शौचालय निर्माणका लागि घरनै अन्तै सार्नु पर्ने बताए । महेन्द्र पार्क नजिक रहेको सार्वजनिक शौचालय प्रयोग गर्दै आएको बताउँदै कोरीले सरकारी योजना अनुसार काम गर्न नसकिएको बाध्यता सुनाए । नेपालगन्जको अधिकांस क्षेत्रमा गरिब वस्तीमा बसोबास गरिरहेकाहरुले शौचालय निर्माण गर्न सकेका छैनन् ।

 

सूचना अधिकृत शरद पौडेल भन्छन्, ‘खुल्ला दिसामुक्त घोषणाको अर्थ सबै स्थानमा शौचालय हुनुपर्छ होइन ।’ ‘पूर्व सरसफाई बिस्तारै कायम हुँदै गरोस भन्ने सांकेतिक दबावको रुपमा अभियान अघि बढेको हो’, पौडेलले भने, ‘सार्वजनिक स्थानमा थप १० वटा शौचालय आगामी आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य तय गरिएको छ ।’

 

त्रिभुवन चोक, न्युरोड, बसपार्क क्षेत्र, पुष्पलाल चोक, कारकाँदो, धम्बोझी, विपी चोक, गणेशमान चोक लगायत क्षेत्रमा खाली जग्गा बारे जाँचबुझ अघि बढिसकेको बताउँदै पौडेलले आगामी वर्षबाट समस्या समाधान हुने पक्का भएको बताए । २८ गते बाँके जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने तयारी अघि बढेको बताउँदै सूचना अधिकृत पौडेलले आगामी वर्षमा उच्च प्रविधियुक्त घुम्ती शौचालय स्थापनाको योजना पनि बनेको छ ।

 

‘नेपालगन्जको धम्बोझी क्षेत्रमा प्रयोग गर्न मिल्ने खालको योजना सहित घुम्ती शौचालयको योजना बनेको हो’, दैनिक नेपालगन्जसँग कुरा गर्दै पौडेलले भने, ‘उच्च प्रविधियुक्त शौचालयमा महिला, बालबालिका, पुरुष र अन्य समुदायका लागि फरक फरक क्याबिन हुनेछन् ।’

प्रतिक्रिया

प्रतिक्रिया