प्रहरी सरुवा देखि दरवन्दी मिलान सम्मको ठेक्का लिने ब्यक्ति प्रहरी फन्दामा
दैनिक नेपालगन्ज/विनय दीक्षित
समाजमा फरक फरक किसिमले ब्यक्तिहरु माथि ठगी र ठगीको प्रयास भइरहेको बारे प्रहरी कारवाही चल्दै आएको छ । सो क्रममा मंगलवार अपत्यारिलो ब्यक्तिलाई बाँके प्रहरीले उच्च प्रविधिको प्रयोग गरेर फन्दामा लिन सफल भएको छ ।
आफुलाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव जोख बहादुर महरा भएको दावी गर्ने ब्यक्ति रोल्पा बस्ने गुमान थापालाई बाँके प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।
बाँके कोहलपुरमा सामान्य किराना पसल गरि बस्दै आएका गुमान थापा प्रहरीलाई एक साता देखि आफु बाहिर रहेको दावी गर्दै लुकीछिपी बसीरहेका थिए । हामीले खोज्ने प्रयास गर्दा पोखरा, बुटवल काठमाण्डौ भएको दावी गर्ने ब्यक्ति आफ्नै घरबाट पक्राउ परेको हो बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘आम नागरिक सहित थुप्रै प्रहरी अधिकारीलाई सरुवा बढुवाको नाममा रकम ठगी गरेको बारे सूचना प्राप्त भएको छ ।’
२०६१ सालमा सशस्त्र प्रहरीको हवल्दार पद छाडेर भागेका थापा पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतको केन्द्रिय सदस्य समेत रहेको खुलेको छ । पक्राउ पछि बाँके प्रहरीले थालेको अनुसन्धानमा उनले दर्जन बढि सरकारी अधिकारी संग सरुवा बढुवाको नाममा रकम असूली गरि ठगी गरेको पाइएको हो ।
‘आफुलाई नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भई प्रचण्डको निजी सचिव भएको दावी गरी आफु हुँदै नभएको पदमा रहेको झुक्याई आम नागरिक देखि सरकारी अधिकारी समेतलाई गफलतमा पारी रकम ठगी गरेको पाइयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘थप विषयमा हामीले अनुसन्धान अघि बढाएका छौं ।’
प्रहरी हवल्दार पछि प्रहरी नजिक रहँदै आएका थापा प्रहरीमा विभिन्न मुद्दा मिलाउने देखि सरुवा र बढुवा गराई दिने सम्मको ठेक्का लिँदै आएका थिए । प्रहरीको उच्च अधिकारीहरु संग सम्पर्क बढाउने, विभिन्न घटनामा मिलापत्र गराउने र प्रहरीको सरुवा गराउने नाममा रकम असूली गरेको खुलेपछि थापालाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।
थापा कोहलपुरमा नै बसेको अवस्थामा पनि आफु बाहिर रहेको प्रहरीलाई जानकारी दिँदै आएका थिए । घटना बारे सूचना र थप विवरणहरु प्राप्त भइसकेपछि प्रहरीले उनको मोबाइल लोकेसन सर्च गरेर कोहलपुरबाट फन्दामा लिएको हो ।
अनुसन्धानको क्रममा थापाले आफुले समाज सेवा गरिरहेको दावी गरेका छन् । यस्तो क्रियाकलापबाट पार्टीको क्षबि अझ बलियो हुने र जनता माझ काम गर्न सजिलो हुने तर्क गरेको प्रहरी भनाई छ ।
‘घटनामा संलग्न रहेको आरोपमा प्रमाणित भएपछि प्रहरीले थापालाई पक्राउ गरेको हो’, मुद्दा इन्चार्ज विष्टले भने, ‘सरुवा बढुवाको नाममा धेरै ब्यक्तिहरु संग रकम असूल गरिसकेको सूचना प्राप्त भएको छ ।’थापाले आफुलाई पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव भएको दावी गर्दै प्रहरी अधिकारीहरुलाई प्रभावित पार्दै आएका थिए । बाँके प्रहरीले थापाको विशेष अनुसन्धान थाल्दै नालीबेली समेत पत्ता लगाएर कारवाही अघि बढाउने जनाएको छ ।
असूली विरुद्ध अनुसन्धान
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्ज रुपईडिहा सिमा क्षेत्रमा आम नागरिकबाट प्रहरीले असूली गरेको विषयमा अनुसन्धान जारी रहेको छ ।
प्रहरी निरीक्षक रन्जन स्वाँरको संयोजकत्वमा गठित समितिले सटहीमा संलग्न नरहेको ब्यक्तिबाट मुचुल्का खडा गरी प्रहरी हवल्दार मान बहादुर अधिकारीले भारतीय रुपैया सटही गरेर ल्याएको विवरण जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको श्रोतले जानकारी दिएको छ ।
हवल्दार अधिकारी र थप एक जना प्रहरी अधिकारीले तीन पटक सम्म अवैध असूली कार्यमा संलग्न रहेको पाइएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको निर्देशनमा प्रहरी निरीक्षक स्वाँरले अनुसन्धान अघि बढाएका हुन् ।
‘आएको प्रतिवेदन अनुसार घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कारवाही अघि बढाउने तय भएको छ’, बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘अवैध क्रियाकलाप खेप्ने भन्ने हुनै सक्दैन ।’