भारतबाट बढ्दो चामल आयात

२ सय हेक्टरमा रोपाई सुरु, १५ हजार हेक्टरमा मात्र सिंचाई सुविधा, ३६ हजार हेक्टरमा रोपाईको सम्भावना
समाचारदाता
दैनिक नेपालगन्ज
देशमा १५ औं राष्ट्रिय धान दिवस मनाई रहँदा नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कले प्रति वर्ष चामल आयात बढ्दै गएको देखाएको छ ।

 
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुभाष श्रेष्ठले भन्सार तथ्याङ्क उदधृत गर्दै वार्षिक रुपमा चामल आयात बढ्दै गएको बताएका हुन् । ‘तरकारी, खाने तेल, अन्य खाद्य सामाग्री पनि बृद्धि हुने क्रममा नै छ,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘चामल आयातको विवरण प्रतिवर्ष बृद्धि भइरहेको छ ।’

 
आर्थिक वर्ष २०७३।०७४ मा ८ करोड २७ लाख ८४ हजार २ सय ४५ केजी चामल नेपालगन्ज नाका भएर भित्रिएको भन्सारको अभिलेखमा छ । त्यसैगरि आर्थिक वर्ष २०७४।०७५ र हाल चालु आर्थिक वर्षको जेष्ठ सम्म १० करोड ९७ लाख १७ हजार ३ सय ८५ केजी चामल आएको पाइएको हो ।

 
मध्यपश्चिम क्षेत्रको मुख्य भन्सार नाका नेपालगन्ज नै भएकोले भारतीय क्षेत्रबाट आयात हुने चामलको विवरणले यहाँको कृषि उत्पादन सन्तोषजनक अवस्थामा नरहेको देखाएको छ । तर, जिल्ला कृषि कार्यालय नेपालगन्जका प्रमुख कृष्ण बहादुर बस्नेतले बाँकेमा वार्षिक ८३ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको बताएका छन् । आकाशे वर्षामा निर्भर रहेको बाँकेको धानबालीले वार्षिक अनुपात समान रुपमा प्राप्त गर्न नसकेपनि अनुमानित उत्पादनको आधार रोपाईबाटै निकाल्ने गरिएको उनले बताए ।

 
असार १५ लाई धान दिवसको रुपमा मनाई रहँदा बाँकेमा मात्र २०० हेक्टरमा रोपाई सुरु भएको कृषि कार्यालयको विवरणले देखाएको छ । ३६ हजार ५ सय हेक्टर धान उत्पादन योग्य जग्गा रहेकोमा १५ हजार हेक्टरमा मात्र अहिले सिंचाई सुविधा रहेको छ ।

 
आकाशे वर्षाको भरमा धान बाली उत्पादनमा असर पर्ने गरेको बताउँदै कृषि कार्यालयका प्रमुख बस्नेतले भने, ‘उत्पादन भएको कतिपय क्षेत्रको धानबाली भारतीय क्षेत्रमा गैरकानूनी तरिकाबाट निकासा हुन्छ ।’ ‘भारतीय क्षेत्रमा यसरी बिक्री भएको धानबाली निर्यात तर्फ नदेखिएकोले आयात मात्रै देखियो,’ कृषि प्रमुख बस्नेतले दैनिक नेपालगन्ज संग भने, ‘अर्को पक्ष नेपालीहरु पनि अहिले मसिनो र विदेशी स्ट्याण्डर्डको चामल खान रुचाउने भएकोले आयात बढेको देखिएको हो ।’ मसिनो ब्राण्डका चामलको माग बढि रहेको ब्यवसायीको दावीलाई भन्सारको विवरणले पनि पुष्टि गरेको छ ।
बाँके खुल्ला सिमाना भएको जिल्ला हो । अधिकाँश क्षेत्र सिमावर्ती भारतीय क्षेत्र संग जोडिएकोले धानको दर रेट महँगो हुँदा अवैध नाकाहरुबाट निकास हुने गरेको कृषि कार्यालयको दावी छ ।

 
जिल्लामा उत्पादन भएको कुल धान र जनसंख्याको अनुपात अपुग भने होइन । गहुँ र अन्य बाली पनि उत्पादन हुने भएकोले बाँकेलाई आत्म निर्भरको गणनामा राखिँदै आएको छ । भन्सार नाका भएर पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाहरु चामल, दाल, तरकारी लगायत जाने भएकोले सो तथ्याङ्कबाट बाँकेको हकमा चिन्ता लिनु पर्ने नदेखिएपनि राज्यस्तरको चुनौतीको विषय रहेको कृषि प्रमुख बस्नेतले बताए ।

 
नेपालगन्ज क्षेत्रमा नै तरकारी, दूध, मासु लगायत तस्करी भइरहेको देखिन्छ । भन्सार नाका क्षेत्रबाट नै अवैध किसिमले भित्रिएको सामाग्री र चामलको अभिलेख छैन । यतिकै वा यसभन्दा कम परिमाणमा चामल तस्करको माध्यमबाट पनि भित्रिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया