क्यामेराको निगरानीमा बाँके कारागार

कारागार सुरक्षामा विवाद बढ्दै गएपछि जेल प्रशासनले क्यामेरा जडान गरेको हो

स्मृति देवकोटा/दैनिक नेपालगन्ज

विभिन्न विषयमा विवादको केन्द्रविन्दुमा रहँदै आएको बाँके कारागार बुधवारदेखि सिसिटिभी क्यामेराको निगरानीमा भएको छ । कारागार कार्यालय नेपालगन्जबाट कैदी उम्किने, विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहने र कारगार प्रमुख समेतको सरुवा गराउन सक्ने हैसियत राख्न थालेपछि सो निगरानी थाल्न कारागार प्रशासनले सिसि क्यामेरा जडान गरेको हो । कारागारबाटै चरेस तस्करी, फिरौती, अपहरण जस्ता गम्भीर अपराधहरु संचालन हुन थालेपछि कारागारले पछिल्लो समयमा केहि कैदीलाई बर्दिया र धनगढीमा सारेको छ ।

 
कारागारमा अपराधीहरुलाई सुधार गर्नका लागि राख्ने गरिएपनि अपराधमा संलग्न रहेको विभिन्न तथ्यहरु बाहिर आउन थालेपछि गृहमन्त्रीको निर्देशन पछि सिसि क्यामेरा जडान गरिएको छ । कारागार प्रमुख श्याम लामिछानेका अनुसार नेपालगन्ज कारागारको क्षेत्रफल भित्र १० वटा सिसि क्यामेरा जडान गरिएको हो । ‘अब कारागार भित्र हुने अपराधका घटनाहरु रोक्न र निगरानी गर्न सहज हुने भएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘संदिग्ध गतिविधि अब पर्दा भित्र बस्न सक्दैनन् ।’

 
सिसि क्यामेरा जडान नहँुदा कारागार भित्र भएको अपराधबारे अनुसन्धान गर्न असजिलो हुने गरेकोमा विस्तारै सो विषयमा पनि सहयोग हुने लामिछानेले बताए । कारागार भित्र कस्ले के गरिरहेको छ भनेर निगरानी गर्न सजिलो हुने भएकोले सहज हुने प्रमुख लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया