व्यवसायी भन्छन्, पंखा चल्दैन, उद्योग कसरी चलाउने ?

उद्योगी, व्यवसायीहरुले स्थानीय तहमा मनपरी करको गुनासो गरेका छन्

समाचारदाता
दैनिक नेपालगन्ज

बाँकेका उद्योग, व्यवसायीहरुले बढ्दो ऊर्जा संकटका कारण उद्योग व्यवसाय चौपट हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबार नेपालगन्जमा भएको व्यवसायिक सरोकारको एउटा अन्तरक्रियामा कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र शर्माले भने, ‘पंखा, फ्रिज त चल्दैन उद्योग कसरी चलाउने ?’

 
सत्तारुढ दलले उद्योगी, व्यवसायीहरुको समस्यामा ध्यान दिएर सरकार समक्ष समाधानका लागि पहल गरिदिनु पर्ने माग उनीहरुको थियो । खासगरी विघटित नेकपा एमाले सम्बद्ध उद्योगी, व्यवसायीहरुले दलका नेताहरुसँग व्यवसायिक समस्याहरु बारे ध्यानाकर्षण गराउन अन्तरक्रिया गरेका हुन् । ‘चन्दाका लागि मात्र व्यवसायीहरु चाहिन्छ भन्ने धारणा त्यागेर दलहरु अगाडि बढुन् भन्ने हाम्रो चाहना हो’, राष्ट्रिय वाणिज्य संघ बाँकेका अध्यक्ष भाष्कर काफ्लेले कार्यक्रम बारे भने । नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भएपछि ती दल सम्बद्ध जनवर्गीय संगठनहरु विघटित भएका छन् । विघटित संघका अध्यक्ष काफ्लेले संघ विघटित भएपनि व्यवसायीका समस्याहरुमा आफुहरु चुप लागेर बस्न नसक्ने धारणा राखे । कतिपय स्थानीय तहमा मनपरी कर थोपरिरहेकोमा चिन्ता पनि व्यक्त गरे ।

 
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाले व्यवसाय करमा मनोमानी गरिरहेको भन्दै आलोचना पनि गरिएको थियो । ‘यतिबेला व्यवसाय करको दायरामा जानेहरुसँग १० बर्षयताको कर असुल्न थालिएको छ’, उद्योगी कपिल अधिकारीले भने, ‘केहीगरी न्यायोचित कुरा होइन ।’ राँझाकी अगुवा व्यवसायी उषा थापा भण्डारीले दुई बर्ष अगाडि मात्रै नगर क्षेत्रमा जोडिएका गाउँका व्यवसायीहरु समेतलाई १० बर्ष अगाडिदेखिको करको दायरामा जोडेर उपमहानगरपालिकाले अन्याय गरेको टिप्पणी गरिन् ।

 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, प्रवक्ता अभय कुमार बस्नेत, अगुवा व्यवसायी मधुसुदन शर्मा, सेम शाक्य लगायतले स्थानीय तहको सरकारसँगै व्यवसायिक क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि दलको भूमिका अपेक्षा गरे । ‘हामी व्यवसायिक क्षेत्रसँगै साझेदारी र समन्वयमा कर सम्बन्धी नीति तर्जुमा गरिरहेका छौं’, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले भने, ‘करदातासँगै भीडेर कर प्रशासन सफल हुन सक्दैन ।’ उनले आगामी साउन १ गतेदेखि खजुराले एकिकृत सम्पत्ति कर लगाउने कुराको तयारी गरिरहेको जानकारी पनि दिए ।

 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता देवराज भार, अशोक कोइराला, डेकनाथ गौतम लगायतले व्यवसायिक समस्यामा पार्टीले खेल्न सक्ने भूमिकाका बारेमा चर्चा गरेका थिए । ‘अगुवा व्यवसायीहरुसँग तत्कालका समस्याबारे अन्तरक्रिया गरिएको हो’, विघटित संघ वाणिज्यका सचिव मुकुट ढकालले दैनिक नेपालगन्जसँग भने, ‘नेपाल कम्युनिष्ट पार्टी सँग आस्था राख्ने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र सम्बद्ध व्यवसायीहरुसँग छिट्टै अन्तरक्रिया गरेर व्यवसायिक मुद्दा र आपसी एकतालाई लिपिबद्ध गर्नेछौं ।’

 
कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्मा, महासचिव तेज प्रसाद अधिकारी, नेपालगन्जका अगुवा व्यवसायी भीम सुवेदी, भीम बहादुर रानाभाट लगायतले आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व सँगै व्यवसायिक समस्यामा दल उदासिन हुँदा लक्ष्य प्राप्तिमा कठिनाई उत्पन्न हुने टिप्पणी गरेका थिए । उनीहरुले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिका लागि व्यवसायिक क्षेत्र आशातित ढंगले अगाडि बढ्ने वातावरणको अपेक्षा गरे ।
दलका नेताहरु समेत सहभागी अन्तरक्रियामा अगुवा व्यवसायीहरुले राजनीतिक दलहरुले आफुहरुलाई उपयोग मात्रै गर्ने गरेको भन्दै सामूहिक स्वरमा भने, ‘हामीलाई दलबाट सम्मान र सहभागिताको सुनिश्चितता गरियोस् ।’

प्रतिक्रिया

प्रतिक्रिया