१२ वटा ठूला योजना कार्यान्वयनका लागि बाँके, बर्दियाका सांसदको संयुक्त लबिङ्ग

दैनिक नेपालगन्ज/झलक गैरे

बाँके, बर्दियाका प्रतिनिधिसभा सदस्यहरुले संयुक्त रुपमा योजना निर्माण गरी कार्यान्वयनका लागि संगठित ढंगले लबिङ्ग थालेका छन् । उनीहरुले दुवै जिल्लालाई उपयुक्त हुने विभिन्न १२ वटा ठूला योजना छनोट गरी कार्यान्वयनका लागि संयुक्त लबिङ्ग थालेका हुन् ।

 

‘हामीहरु कुनै पार्टी विशेष भन्दा सम्पूर्ण जनताका साझा प्रतिनिधिका रुपमा योजनाहरु छनोट गरी कार्यान्वयनका लागि लागिपरेका छौं’, बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले दैनिक नेपालगन्जसँग भने, ‘प्रधानमन्त्री कार्यालयदेखि सरोकारवाला मन्त्रालयसम्मलाई ती योजनाहरु पठाइसकेका छौं ।’ सांसद रोकायका अनुसार, सोमबारमात्रै प्रदेश ५ का सांसदहरुको एउटा टोलीले योजना प्राथमिकीकरणका लागि एउटा कार्यदल गठन गरेका छन् । कार्यदलमा अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझीदेखि दाङकी सांसद शान्ता चौधरीसम्म छन् ।

 

बाँकेबाट क्षेत्र नं. १ का सांसद महेश्वर गहतराज (अथक)देखि रोल्पाकी सांसद जयपुरी घर्तीसम्म कार्यदलमा छन् । ‘कार्यदलले प्रदेश ५ बाट प्राथमिकीकरण गर्ने योजनाहरुको छनोट गरी केन्द्र सरकार, प्रदेश र स्थानीय तहबाट गर्ने कामको एकिन गर्नेछ’, सांसद रोकायले भने । त्यसअघि कार्यदल समक्ष प्रत्येक निर्वाचन क्षेत्रका सांसदले आ–आफ्ना प्राथमिकताका योजना छनोट गरिसकेका छन् । ‘बाँके, बर्दियाबाट हामी सबै सांसदले विभिन्न १२ वटा योजनालाई अन्तिम रुप दिएका छौं’, रोकायले भने ।

 

बाँके क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राईका अनुसार, राष्ट्रिय गौरवका योजनाका रुपमा पर्नुपर्ने योजनालाई बाँके, बर्दियाका सांसदहरुले प्राथमिकीकरण गरेका छन् । ‘सिक्टा, बबई जस्ता राष्ट्रिय गौरवका योजनालाई निरन्तरता दिने बाहेक नीति तथा कार्यक्रमले हाम्रा मागहरुलाई सम्बोधन गरेको छैन’, शुक्रबार सोमबार राष्ट्रपतिबाट प्रस्तुत सरकारका नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै सांसद राईले दैनिक नेपालगन्जसँग भने, ‘हामीलाई विश्वास छ, हामीले अघि सारेका योजनालाई सरकारले पक्कै सम्बोधन गर्नेछ ।’ उनले सबै योजनाहरु नीति तथा कार्यक्रममा पर्न नसक्ने धारणा राख्दै भने, ‘सरकार हाम्रा मागहरुमा उदासिन होला जस्तो लाग्दैन ।’

 

सांसद राईका अनुसार, बाँके, बर्दियाका जनप्रतिनिधि, काठमाडौंमा रहेका बाँके, बर्दियाबासी, पत्रकार सम्मिलित बृहत अन्तरक्रियाले पनि योजना छनोट गर्न सहयोग पुर्याएको छ । ‘पत्रकारहरु पनि निकै सक्रिय भएर जनप्रतिनिधिहरुलाई एक ठाउँमा ल्याउन प्रयासरत् रहनुभयो’, सांसद राईले नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणादेखि खजुराका प्रमुख किस्मत कुमार कक्षपतिसम्म अन्तरक्रियामा सहभागी भएको जानकारी दिंदै भने, ‘त्यसपछि पनि हामी दुवै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु एक ठाउँमा बसेर योजनालाई प्रष्ट बुंदागत बनायौं ।’

 

बाँके र बर्दियाका १२ वटा प्राथमिक योजनामा नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, नेपालगन्जको धम्बोझीदेखि गुलरिया बजारसम्मको हुलाकी सडकलाई चारलेन बनाउने, बर्दियामा कृषि रिसर्च सेन्टर, बाँकेमा नेपालगन्ज टेक्निकल विश्वविद्यालय, भेरी अञ्चल अस्पतालको स्तरोन्नती गरी मेडिकल कलेज शिक्षण अस्पताल बनाउने, नौबस्ता औद्योगिक करिडोर स्थापना, कोहलपुरलाई बृहत सघन सहरी आयोजना, बिनौना–बैजापुर–नरैनापुर हुँदै बाँकेका तीन वटै निर्वाचन क्षेत्रको लिंक रोड निर्माण गरी बर्दिया बढैयातालसम्म सडक बिस्तारसम्मका योजनाहरु सांसदहरुले अघि सारेका छन् ।
बर्दिया मानपुर, बाँकेको डुडुवा, राप्तीनदी नियन्त्रणका लागि बृहत प्राधिकरण गठन सांसदहरुको जोड छ । ‘जल उत्पन्न प्रकोप नियन्त्रणबाट भैरहेको प्रयास पर्याप्त छैन’, सांसद राईले भने । उनका अनुसार, नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय सभागृह तथा प्रदर्शनी स्थल निर्माण पनि सांसदहरुको प्राथमिकतामा छ । ‘नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समेत यसका लागि निरन्तर सक्रिय हुनुहुन्छ’, सांसद राईले बाँके, बर्दिया यतिबेला सम्पूर्ण रुपमा विकासका लागि केन्द्रित भएको जानकारी दिंदै भने ।

 

आफुले अघि सारेका योजनाहरुलाई प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म पुर्याउन बाँकेका तीन वटै निर्वाचन क्षेत्रका सांसद, बर्दिया काँग्रेसका पार्टी सभापति समेत रहेका सांसद सञ्जय गौतम, पूर्व उपसभामुख समेत रहेकी सांसद पूर्णाकुमारी सुवेदी, सांसद सर्वतआरा खानम सम्बन्धित ठाउँहरुमा पुगेका छन् । ‘सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीदेखि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससम्म एक ठाउँमा बसेका छौं’, संघीय समाजवादी फोरमका केन्द्रीय सचिव समेत रहेका सांसद राईले विकासका लागि बाँके, बर्दिया एक ढिक्का भएर लागेको जनाउँ दिंदै भने, ‘यतिबेला पनि हाम्रा मागहरु सुनुवाई भएन भने अगाडि कसरी बढ्ने भन्ने कुरामा पनि रणनीतिक छलफल सुरु भैसकेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया