बुटवल/ऋषि गैरे
प्रहरीको खोजीको सूचिमा रहेका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
बुधबार विहान ४ बजे रुपन्देहीको देवदहमा प्रहरीले पुनको इन्काउन्टर गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुन घरमा आउने सूचना पाएपछि पुगेको प्रहरीमाथि पुनले फायर खोलेपछि जवाफी फायरमा पुन मारिएको बताएको छ ।
प्रहरी इन्काउन्टरमा दुई जना मारिएका छन् । पुनका सहयोगी मानिएका सोम आले पनि प्रहरी कारवाही मारिएका हुन् ।
पुन ४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका थिए । मनोज पुनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरेको आरोप छ । पौडेल रुपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए । उनले भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएको प्रहरीले बताएक छन् । २३ असोज ०७४ मा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरी बताउँछ ।