काठमाडौं, ६ पुस । नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने माँग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता सापकोटाले प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् । उनले भने,‘प्रधानमन्त्री देउवाजीको एउटै राजिनामाले अहिलेको गत्यारोधको निकास दिन्छ, राजिनामा दिन उहाँले किन ढिलाई गर्नुभएको छ, हामीले बुझ्न सकेको छैन, नयाँ जनमतको सम्मान गर्दै राजिनामा दिँदा नै कांग्रेसको पनि भलो हुन्छ, राजिनामा दिन जति ढिलाई हुन्छ त्यति नै कांग्रेसलाई घाटा हुन्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता सापकोटाले राष्ट्रिय सभासम्बन्धी निर्वाचनको बारेमा पहिल्यै नै बुहमतीय संक्रमणीय व्यवस्थाको आधारमा जाने सहमति भएको दाबी गरे । उनले थपे,‘निर्वाचन आयोग, तत्कालिन सरकार र संसदको राज्य व्यवस्था समितिमा पनि राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी बहुमतीयकै आधारमा जाने सहमति भएको थियो, अहिले आएर यसरी बेखडा झिक्नुहुँदैन थियो, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक हुँ भन्ने पार्टीले यस्तो काम गर्नु गलत भयो।’
नेता सापकोटाले नयाँ जनमत आईसकेको अवस्थामा प्रधानमन्त्रीले अब विलम्ब नगरी राजिनामा दिँदा सबै खाले शंकाहरु दुर हुने समेत स्पष्ट पारे । ‘प्रधानमन्त्री देउवाजीले राजिनामा दिएपछि बसेर सहमति खोज्दा राम्रो हुन्छ’ उनले भने,‘राजिनामाको लागि प्रधानमन्त्रीले ढिलाई गर्नुहुँदैन, यो राजनीतिक विषय भएकोले यसलाई राजनैतिक रुपमै हल गर्नुपर्छ।’ राष्ट्रपतिले अध्यादेश राकेको भनेर कांग्रेसले आरोप लगाउनु सरासर गलत भएको समेत उनको भनाई थियो । उनले भने,‘राष्ट्रपतिले बरु दलहरुवीच सहमति खोज्नुहोस् भनेर बारबार आग्रह गर्नुभएको छ, उहाँलाई विवादमा मुछ्नु गलत हुनजान्छ, बरु सरकारले यसरी अध्यादेश ल्याउनु र पास गर्न दबाब दिनु चाहीँ यसमा केही नीहित स्वार्थ छ भन्ने पुष्टि हुन्छ।’
फरक प्रसँगमा उनले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता अब कसैले चाहेर पनि रोक्न नसक्ने जिकिर गरे । सापकोटाले थपे,‘पार्टी एकता संयोजन समिति बनाएर हामी चुनावी महाअभियानमा होमिएका थियौं, जनताले पनि सोही अनुसार जनमत दिएका छन्, एकताबाट दायाँबायाँ गर्नुहुँदैन, दुई पार्टीबाट जसले दायाँबायाँ गरे तीनलाई जनताले विस्थापित गर्छन्।’ उनले कांग्रेसलाई अरु पार्टीसँग एकता गर्न सुझाव दिए ।
त्यस्तै उनले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बन्ने समेत घोषणा गरे । सापकोटाले थपे,‘दुवै पार्टीका शीर्ष नेताहरुलाई कार्यकारी पद दिनेबारे पहिल्यै नै सहमति भएको हो, एकजना प्रधानमन्त्री बन्दा अर्को नेता एकीकृत पार्टीका अध्यक्ष बन्ने पक्का छ।’सिन्धुपाल्चोकबाट निर्वाचित सांसद समेत रहेका नेता सापकोटाले सरकार बनेको तीन महिनाभित्रै चीनसँगको तातोपानी नाका खुल्ने समेत दाबी गरे । उनले भने,‘म चुनावी अभियानमा भएको बेला क्लबका अध्यक्ष ऋषिजी साक्षात्कार गर्न सिन्धुपाल्चोक आउनुभएको थियो, त्यतिवेला पनि मैले घोषणा गरेको थिएँ कि तातोपानी नाका सरकार बनेको तीन महिनाभित्रै सुचारु हुन्छ भनेर, अब त्यसको लागि मैले पहल सुरु गरिसकेको छु, चीनका लागि नेपाली राजदुत लिलामणि पौड्यालजीसँग पनि कुरा गरिसकें, चीनीयाँ नेताहरुसँग पनि छलफल गरेको छु, अब छिट्टै नेपालका लागि चीनीयाँ राजदुतसँग पनि कुरा हुँदैछ।’
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने बताएका छन् । उक्त अध्यादेश तत्काल स्विकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने भन्दै उनले चिन्ता व्यक्त गरे ।
महतले निर्वाचन आयोगले मत गणना गर्न सजिलो हुन्छ भनेर बुहमतीय संक्रमणीय व्यवस्थाको कुरा उठाएकोप्रति टिप्पणी गर्दै भने,‘कसैको सजिलोको लागि बहुमतीय संक्रमणीय पद्धती हुँदैन, संविधानमा कहाँ लेखेको छ त ? अहिले बहुमत ल्याएकोले एमालेले अहंकार देखायो, बरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्नुभएको छ, तर एमाले अध्यक्ष केपी ओलीजीले त हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्दैहुनुहुन्छ, यो अहंकार हो।’
स्थानीय तहको परिणाम आईसकेपछि कांग्रेसले एकल संक्रमणीय व्यवस्थाको गर्यो भनेर आरोप लगाउनु नै गलत भएको उनको तर्क थियो । उनले थपे,‘अहिले हाम्रो ठाउँमा एमाले–माओवादी केन्द्र हुन्थे भने राष्ट्रपतिले किन अध्यादेश स्विकृत नगरेको भनेर नारा र जुलुस निस्किन्थ्यो।’
महतले हिजो सरकारले अध्यादेश पेश गर्दा ताका दलहरुवीच सहमति खोज्नुहोस् भनेर किन नभनेको भन्दै प्रश्न समेत उठाए । उनले भने,‘राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नुहुँदैन, उहाँले अध्यादेश रोक्न मिल्दैन, हामी त भन्दैछौं कि राष्ट्रपति विवादमा आउनुहुँदैन्, उहाँले तत्काल विद्येयक स्विकृत गर्नुपर्छ, हामी बडो विनम्रसँग अनुरोध गर्दैछौं।’
उनले आफूहरुलाई सरकारमा बसिरहने रहर नै नभएको जिकिर गरे । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि हामी सरकार छाड्छौं, संविधानलाई लत्याएर देश चल्छ ?’ उनले अहिले प्रधानमन्त्री देउवाले राजिनामा नदिने जिकिर गर्दै भने,‘उहाँले अहिले सरकार छोड्दैछोड्नुहुन्न।’
उनले राष्ट्रपतिले जित उक्त अध्यादेश रोक्यो उति नै मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने बताए । महतले थपे,‘यो अध्यादेश लैजाँदै गर्दा माओवादी केन्द्र जो अहिलेपनि सरकारमै छ, उहाँहरुको असहमति थिएन्, यसबारेमा माओवादी केन्द्रको नेतृत्वले स्पष्ट दृष्टिकोण दिनुपर्छ।’
उनले वाम गठबन्धनले ५ वर्ष होईन ५० वर्ष शासन गर्छु भनेको उल्लेख गर्दै भने,‘सक्नेसम्म चलाए हुन्छ, उहाँहरुले ५० वर्ष त के ? पाँच वर्षपनि चलाउन सक्दैनन्, कांग्रेस कुनै दलभन्दा कमजोर छैन।’पार्टी सभापतिलाई हटाउँछु भनेर केही युवा नेताहरुले अभिव्यक्ति दिएका छन् नि भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले थपे,‘कसैले टिप्पणी गर्दै हिँडेर हुन्छ त ? सस्तो लोकप्रियताको पछि लाग्नुहुँदैन्, पार्टीका बारेमा कुरा राख्ने आफ्नै फोरम छ, हामी कमजोर छैनौं, अब पार्टीलाई आधुनिक शैलीमा अघि बढाउनुपर्छ, यसबारेमा केन्द्रिय कार्य समितिमा बृहत्त छलफल हुन्छ।’
उनले पार्टी सभापतिको विकल्प खोज्छौं भनेर हिँड्नु उत्ताउलो टिप्पणी भएको स्पष्ट पारे । उनले भने,‘जसले जे भनेपनि अब आधारसहित प्रस्तुत हुनुपर्छ, एक अर्कालाई दोषारोपण गरेर हुँदैन्, तर्कको वजन हेरेर विश्लेषण हुन्छ, सामूहिक रुपमा छलफल गर्नुपर्छ।’
नेकपा एमालेका नेता पार्वत गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने बताए । उनले भने,‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजिनामा दिनुपर्छ, तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि भन्ने आभाष हुन थालेको छ।’
नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासको लागि मत दिएको भन्दै सोही अनुसार अब बन्ने सरकारले काम गर्ने समेत विश्वास दिलाए । उनले भने,‘सबैलाई सहमतिमा लिएर सरकार अघि बढ्छ, कांग्रेसले अब पाँच वर्ष कम्युनिष्टको सरकार हेरेर बस्छ।’
दोलखाबाट लोकप्रिय मत हाँसिल गरेर विजयी भएका नेता गुरुङले एमाले–माओवादी केन्द्रवीच पार्टी एकता हुने भन्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्ने पक्का भैसकेको स्पष्ट पारे । उनले थपे,‘प्रधानमन्त्री को बन्छ भन्नेबारे अब कुनै अलमल छैन, ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ।’ उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति नहुने समेत जिकिर गरे ।
उनले दुई पार्टीवीच एकता हुँदैन कि भनेर प्रचार गर्नु गलत भएको समेत स्पष्ट पार । ‘भोलिबाट एकताको लागि छलफल शुरु हुँदैछ, अब पनि एकता हुँदैन भन्नु जनताको मत विपरित हुन्छ’ उनले भने,‘जसले एकता मान्दिन भन्छ उ सिद्दिन्छ।’