साइकल सिटि आवश्यकता कि रहर ?

जीवन शर्मा
अहिले शहरमा चर्चा र बहसको विषय बनेको साइकल सिटिका बारेमा सबैको ध्यान केन्द्रीत भएको पाइन्छ । विभिन्न शहरहरुमा साइकल संघ, साइकल मेला र सामूहिक साइकल यात्रा गर्ने क्रम बढेको पनि छ । साइकल चलाउदा फाइदा के त ? किन साइकल चलाउने ? कस्तो साइकल चलाउने ? साइकल कहाँ चलाउने ? यी र यस्ता साइकलसँग सम्बन्धीत सवालहरु सँगसँगै साइकल सिटिको अवधारणाहरुमा पनि सानै रुपमा भएपनि बहश शुरु भएको छ ।

 
नेपालको तराइ जिल्लाहरु कन्चनपूर देखि झापासम्मै, पहाडि र हिमाली जिल्लाका केही शहरहरुमा दैनिक लाखौ व्यक्तिहरु साइकल चढ्छन् । अहिले नेपालमा कतिले साइकल चढ्छन् ठ्याक्कै तथ्याङ्क नै नभएपनि आधाभन्दा बढी जनसंख्यासँग साइकल छ र नीयमीत चढ्छन् पनि । अझ तराइका जिल्लाहरुमा महत्वपूर्ण सवारी साधन कै रुपमा यस्को प्रयोग हुने गरेको छ । विहान दुध र तरकारी बेच्नदेखी लिएर घरयासी अन्य काममा सहयोगी साइकल तराइका सामान्य किसान देखि विद्यार्थी, शिक्षक, ज्यालादारी मजदुर, शिक्षक सबैका लागि महत्वपूर्ण सवारी साधन हो । हामीसँग साइकल छदैछ किन आवश्यक छ त साइकल सिटि ? त्यसो हो भने यो नयाँ शब्द मात्रै हो ? अथवा कसैको रहर र शौखका विषय ? साइकल सिटि हुन के हुनपर्छ ? के भए साइकल सिटि हुनसक्छ ? स्थानीय तहले के गर्नसक्छ ? यस्का फाइदा, चुनौति के के छन् ? अबका दिनमा बहस गर्न जरुरी भइसकेको छ ।

 
स्थानीय निकायको निर्वाचित जनप्रतिनिधिहरुको निर्वाचन अघिका घोषणाहरु सुन्न लायक बनेका थिए । कसैले पनि साना मसिना विषय उठान नै भएन । ग्रेटर सिटि, स्मार्ट सिटि, औद्योगिक सिटि, वाइफाइ सिटि, साइकल सिटि गज्जब गज्जबका सिटिका सपना बाँडिए । जस्ले जति धेरै सपना बाँडे उनिहरु मिडियाका नजर देखि लिएर सर्वसाधरणका पनि आँखामा पर्न सफल भए । निर्वाचनका समयमा भएका यी प्रतिबद्धता के साँच्चै पुरा गर्न सकिन्थ्यो त ? कसैले पनि सुक्ष्म अध्ययन र विश्लेषण गरेको पाइएन ।

 
साइकल सिटि बनाउन अथवा बन्नका लागि धेरै विषयहरु आवश्यक हुन्छ । पूर्वाधार र दृढ इच्छाशक्ति नभई साइकल सिटि गफ गर्ने मेलो मात्रै हुनेछ । सबैभन्दा पहिला साइकल सिटिका लागि पूर्वाधार बन्नु पर्नेछ । अहिलेको हाम्रा सडक निर्माण प्रकृयामा त्यस्ता पूर्वाधार बनाउन हामीले ध्यान दिएका छैनौ । न त स्थानीय निकायले त्यस्का बारेमा योजना नै बनाएको छ । साइकल मैत्री सडक पहिलो अनिवार्य आवश्यकता हो । दोस्रो पार्किङ्ग क्षेत्र, साइकल चलाउन भिन्नै साइकल लेन मात्रै भएर भएन, साइकल पार्किङ्ग क्षेत्र नभइ हुन्न । अहिले साइकल भनेपछि जहाँपनि जतापनि अव्यवस्थित तरिकाले पार्किङ्ग गरेको भेट्छौ जस्ले दुर्घटना बढाउने मात्रै हैन शहरको शोभा नै हराउँछ । साइकल चलाउन र साइकल सिटि बनाउन सरकार, साइकल संघ अथवा दुई चार जना व्यक्तिले भनेर मात्रै पनि हुन्न यो त पुरै समाज र सर्वसाधरणको दृढ इच्छाशक्ति पनि चाहिन्छ । हामी बाइक र साना सवारी साधनलाई घरमा राखेर कार्यालय, व्यवसाय सम्म साइकलमा जानसक्छौ कि सक्दैनौ? साइकल सिटि बन्न त्यस्ले धेरै अर्थ राख्दछ ।

 
साइकल सिटि किन ? पहिलो काम जनचेतना फैलाउन आवश्यक हुन्छ । साइकल चलाउँदा प्रत्यक्ष र अप्रत्यक्ष धेरै कुराको लागि फाइदा छ भन्ने कुराको जबसम्म बुझाउन सकिन्न तबसम्म सिटि बन्न मुस्किल छ । साइकल चलाउँदा प्रत्यक्ष रुपमा खेल, स्वास्थ्य, मनोरञ्जन र वातावरणका लागि हो भने अप्रत्यक्ष रुपमा आर्थिक मितव्ययी, ग्लोवल वांिर्मङ्ग, दिर्ध जीवन, पर्यटन प्रर्वधनका लागि फाइदा पुग्छ संगसंगै साइकल सवारी साधनका रुपमा छरितो र सजिलो छ ।

 
हामी कहाँ साइकल साधरण साधनका रुपमा लिइन्छ अझ साइकल आर्थिक अवस्था कमजोर भएकाले मात्रै चलाउँछन् भन्ने भ्रम रहेको छ । अलिकति पैसा हुने वित्तिकै मोटरसाइकल र साना चारपाड.ग्रे सवारी किनी हाल्छौ । पक्तिंकारले कयौ पटक साथीहरुलाई साइकल किनौ भन्दा ‘बरु बाइक किन्ने’ भनेर पन्छिएको पाएको छु । साइकल चलाउदा सबैभन्दा बढि फाइदा स्वास्थ्यलाई नै हुन्छ । श्वासप्रश्वास, मुटु र रक्तचाप लाइ नियमित र नियन्त्रित राख्न र गर्न यस्ले सहयोग गर्छ । शरिरलाई स्फुर्त राख्न पनि मद्दत गर्छ ।

 
साइकल चलाउदा अर्को फाइदा भनेको वातावरणलाई हो । आर्थिक रुपमा पनि साइकलले दैनिक खर्च कटौति देखि आर्थिक मितव्ययी बनाउँछ । नेपालको आधा जनसंख्या जति दैनिक साइकल नै चढ्छन । साइकल यस्तै चाहि चढ्न पर्छ भन्ने छैन । तपाइको रुचि र सजिलो भए जुनसुकै साइकल चलाउन सक्नुहुन्छ । तपाइको वजन र उचाइ मिल्ने गरि साइकल किन्न र चढ्न सक्नुहुन्छ । तपाइले साइकल खेलकुद र अफ रोडमा चलाउनुहुन्छ भने चाहि साइकल किन्दा ध्यान दिनुपर्छ । अहिले बजारमा बिस पच्चिस हजारदेखि लाखौ मूल्यका त्यस्ता साइकलहरु पाइन्छन् ।

 
त्यसैले साइकल रहर मात्रै हैन यस्ले शहर विकासमा पनि मत्वपूर्ण भूमिका रहन्छ । स्थानिय सरकार मात्रै नभइ साइकल सिटि बन्न प्रत्येक व्यक्तिमा वातावरण, स्वास्थ्य, आर्थिक मितव्ययी र सभ्य समाजमा फाइदा पुग्छ भन्ने कुरा मनमा नरहेसम्म यो अवधारणा कापी, परियोजना र गफमा नै सिमित रहनेछ । त्यसैले अवको दश पन्ध्र वर्षमा यहाँसम्म पूर्वाधार बन्नसक्छ र साइकल प्रति जनचासो विशेष गरि शहरी समूदायमा यहाँ पुयाउछौ भनेर ठोस योजना बनेर आउन आवश्यक छ । (हेडौडा निवासी शर्मा हाल काठमाडौमा छन्)

प्रतिक्रिया

प्रतिक्रिया