घोराही उपमनपा–१४ का ३९ वर्षीय गंगटे भनिने देवबहादुर विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनाको नेपालगन्जस्थित अधिकारकर्मीको एक टोलीले बुधबार प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवम् थुनुवासँग भेटघाट गरेका छन् ।
इन्सेक कार्यालय नेपालगन्जका प्रमुख भोला महतको नेतृत्वमा आएको अधिकारकर्मीको टोलीले घटनाको विषयमा संघीय प्रहरी इकाई कार्यालय तुलसीपुरका एआइजी मिङमार लामा, घटना छानवीन समितिका संयोजक तथा एसएसपी दिलिप कुमार चौधरी, दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्द, वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर सुरज खड्का, तथा हिरासतका गार्ड तथा मृत्यु भएका विकसँगै रहेका अन्य थुनुवासँग भेटगरी घटनाका विषयमा जानकारी लिएको थियो ।
अधिकारकर्मीको टोलीसँग एआइजी लामाले थुनुवाको मृत्यु भएपनि प्रहरीको कुटपिटबाट नभई पहिलेकै विरामीका कारण भएको पुष्टि भएको बताए । उनले चोरीको आरोपमा भदौ १३ गते गिरफ्तार गरिएको र १४ गते विहान एक्कासी वेहोस भई ढलेपछि राप्ती उपक्षेत्रीय अस्पतालमा लैजादा चिकित्सकहरुले मृत घोषणा गरेको बताए ।
‘पोष्टमार्टम रिपोर्टले फोक्सोमा घाउ भएको र त्यही कारणले मृत्यु भएको देखाएको छ, हिरासतमै थुनुवाको मृत्यु भन्ने कुराले अप्ठेरोमा पर्ने डरले प्रहरीले गलत सूचना प्रवाह गर्दा समस्या भएको हो’, एआइजी लामाले भने, ‘सूचना लुकाउने एसपी दुर्गा सिंह चन्द, इन्स्पेक्टर सुरज खड्का र हिरासतमा खटिएका एकजना हवल्दारलाई विभागीय कारवाहीका लागि सिफारिस गरेका छाँै ।’
प्रहरीले चोरीको आरोपमा भदौ १३ गते घोराहीबाट गिरफ्तार गरी वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेको थियो । भदौ १४ गते विहान मृत घोषणा भएका गंगटेलाई जिल्ला प्रहरी कार्यालयले आफनो फेसवुकमा घोराही लमही सडक खण्डको चौपट्टा भन्ने स्थानमा मृत भेटिएको भन्दै पोष्ट गरेको थियो । अधिकारकर्मीहरुको टोलीले गंगटेको शव पोष्टमार्टम रिपोर्ट, एआइजी कार्यालयले सार्वजनिक गरेको घटनाको प्रतिवेदनको प्रतिलिपिसमेत लिएको इन्सेक क्षेत्रीय प्रमुख महतले जानकारी दिए ।
मृतकका आफन्त भएपनि कोही पनि सम्पर्कमा नआएकोले प्रहरीको रोहवरमा घोराही उपमहानगरपालिकाले भदौ १६ गते नै शव गाडेको थियो । अनुगमन टोलीमा इन्सेक क्षेत्रीय प्रमुख भोला महत, क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत नारायण सुवेदी, अधिवक्ता बसन्त गौतम, वि ग्रुपका गोपालनाथ योगी र इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागर सहभागी थिए ।