नेपालको चरेशमा पाकिस्तानी लगानी

विनय दीक्षित

अदालतबाट सजाय पाएका ब्यक्तिको आचरण सुधार होस् र पुनः सामान्य जीवन विताउ सकोस् भन्ने उद्देश्यले स्थापित कारागारलाई सुधार गृह पनि भनिन्छ । तर, उक्त सुधारगृहबाटै अपराध क्षेत्रमा ठूलो भूमिका निर्वाह भइरहेको तथ्य बाहिर आएको छ ।

 

 

बाँके भित्र चरेस र ब्राउनसुगर तस्करीमा दुई वर्ष अघि ठूलो परिमाणको ब्राउन सुगर सहित काठमाडौमा पक्राउ परेका पाकिस्तानी नागरिक नासिर अली खाँको संलग्नता रहेको खुलेको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्ज (साविक अंचल प्रहरी कार्यालय भेरी) बाँकेले २१ केजी चरेस सहित दुईजनालाई पक्राउ गरेपछि तस्करीमा संलग्न पाकिस्तानी नागरिकको खुलासा भएको हो ।

 
पाकिस्तानी नागरिक नासिर अली खाँ काठमाडौमा पक्राउ परेर सजाय पाएपछि काठमाडौ केन्द्रीय कारागारले उनलाई गत वर्ष कारागार कार्यालय धादिंगमा सारेको थियो । आचरण संकास्पद देखा परेपछि धादिंगबाट उनलाई पुनः काठमाडौ सारिएको कारागार अभिलेखमा छ ।

 

 

तेस्रो चरणमा नासिर अली खाँलाई काठमाडौ कारागारले बाँके पठायो । ‘बाँकेमा उनको क्रियाकलाप शंकास्पद देखापरेपछि गत वर्ष नै काठमाडौ फिर्ता पठाइएको थियो’, कारागार कार्यालय बाँकेका निमित्त प्रमुख श्याम लामिछानेले भने, ‘पछि उनी आफै विरामी परेको सन्दर्भमा गत माघ महिनामा बाँके कारागार आएका हुन् ।’
‘नासिर काठमाडौ कारागारमा बस्दा लागुऔषध सहित काठमाडौमै पक्राउ परेका बाँकेका चुन्नन जसगढ संग चिन जान भयो’, श्रोतले भन्यो, ‘पाकिस्तानी नागरिक नासिर र चुन्नन काठमाडौ कारागारबाटै संदिग्ध क्रियाकलाप गर्न थालेपछि उनीहरुलाई बाँकेमा सारिएको हो ।’ बाँके कारागारले पनि दुबै संग एकाआपसमा राम्रो चिनजान रहेको र दुवै जना काठमाडौ कारागारमा संगै बसेको तथ्यलाई पुष्टि परेको छ । चुन्नन जसगढ बाँके कारागारमा नाइके छन् । हरेक दिन विहान ९ देखि १० र साँझ ४ देखि ५ बजे सम्म उनको कारागार हाता भित्र चौकीदारको ड्युटी छ ।

 

 
‘चुन्नन खुलेआम मोबाइल प्रयोग गर्छन्’, श्रोतले भन्यो, ‘उनी आफुले चाहेको स्थानमा आउन जान पनि स्वतन्त्र छन् ।’ चुन्ननका अर्का सहयोगी युनुस खाँ पनि बाँके कारागारमै छन् । काठमाडौमा पाकिस्तानी नागरिक नासिर संगै थुनामा रहेका तीनै जना ठूलै पावरमा बाँके सरुवा भएको कारागार कार्यालय बाँकेको बुझाई छ ।

 

 
पछिल्लो ८ महिना देखि बाँके कारागारमा रहेका तीनै जना मध्ये युनुस खाँ सहायक नाइके हुन् । कारागार भित्र कैदीहरुको ब्यवस्थापन र उनीहरुको सहयोगका लागि हरेक २५ जनामा एक जना नाइके र १० जनामा एक जना सहायक नाइके चयन गर्ने कैदीहरुको परम्परागत ब्यवस्था छ ।

 
नाइके चुन्नन जसगढ र सहायक नाइके युनुस खाँ वन्दीगृह भन्दा बाहिरै बसेर लागुऔषध तस्करीको आवश्यक सेटिङ्ग मिलाउने गरेको श्रोतको दावी छ । दैनिक नेपालगन्जको एउटा टोली शुक्रवार साँझ कारागार पुग्दा नाइके र सहायक नाइके दुबै जना कारागार हाता भित्र फेला परे । दुबै जना कर्मचारीझै सुविधा उपभोग गरिरहेका देखिए । दुबै जना मोबाइलको खुलेआम प्रयोग गरिहेको विषयमा कारागार प्रमुख लामिछानेले नाइकेहरुलाई मोबाइल प्रयोग गर्न छुट रहेको खुलाए । कारागार बन्दीगृहमा अहिले १३ वटा मोबाइल संचालनमा रहेको उनले खुलाए । अर्थात् बाँके कारागारमा कैदीको हातमा १३ वटा मोबाइल रहेको छ, जुन मोबाइलबाट जुनसुकै समयमा कुराकानी गर्न सकिने बुझिएको छ ।

 

 

 

विश्वास बनाएका कारण नाइके चुन्नन जसगढ र सहायक नाइके युनुस खाँलाई वन्दीगृह भन्दा बाहिरै राखिएको कारागार प्रमुख लामिछानेले दैनिक नेपालगन्ज संग भने, ‘यिनीहरुको क्रियाकलाप संदिग्ध नपाइएकोले छुट दिइएको हो ।’
संदिग्ध अवस्थाको रिपोर्ट प्राप्त भएपछि अब मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइने निमित्त प्रमुख लामिछानेले बताए । ‘यस्तो हुन्छ भन्ने अनुमान पनि गर्न सकिन्न’, उनले भने, ‘पाकिस्तानी नागरिकलाई त त्यति विश्वास गर्न नसकिएकै
हो ।’ ‘अपराध गरेकै मानिस बन्दी गृहमा छ’, लामिछानेले भने, ‘सुधार हुनुको सट्टा झन विग्रिएको हो भने सुधार गर्ने जिम्मेवारी कारागारकै हुन्छ ।’ बाँके कारागारबाट आपराधिक क्रियाकलापमा कैदी संलग्नता यो पहिलो घटना भने होइन ।
यसरी हुन्छ लगानी र सेटिङ्ग

नेपाली क्षेत्रबाट भारतका विभिन्न सहरहरुमा पुग्ने गरेको चरेस र भारतबाट नेपाली क्षेत्रमा आउने लागुऔषधका लागि अधिकांस पूँजीमा कारागार भित्रबाटै लगानी हुने गरेको खुलेको छ ।
‘विभिन्न अभियोगमा पक्राउ परि सजाय पाएका कैदीहरुको आचारण सुधार हुनुको सट्टा ध्वस्त भइरहेको पाइएको छ’, लागुऔषध विरुद्ध अनुसन्धानमा सक्रिय रहेका एक प्रहरी अधिकृतले भने, ‘बेतहनी क्षेत्रबाट पक्राउ परेको लागुऔषध र त्यसमा सक्रिय रहेको गिरोह बारे बुझ्दै जाँदा ब्यापक लगानीको अवस्था कारागार भित्रबाटै हुने गरेको प्रारम्भिक तथ्य फेला परेको हो ।’

 
संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले शुक्रवार पत्रकार भेटघाट गरि २१ केजी चरेस सहित बाँके डुडुवा गाउँपालिका वडा नं.२ बस्ने ५४ वर्षिय राम फेरन अहिर र सोही ठाउँका ७० वर्षिय मुरली अहिरलाई सार्वजनिक गरेको हो ।
सामान्य रुपमा नेपालगन्ज रुपैडिहा नाकाबाट ब्राउनसुगर र चरेस तस्करी हुने गरेको तथ्यहरुलाई चुनौती दिँदै प्रहरीले करिब ३ लाख ६० हजार रुपैया“ मुल्य पर्ने चरेस बाँके बेतहनीबाट पक्राउ गरेको हो ।
बेतहनीबाट होलिया हुँदै भारतीय क्षेत्रमा निकासीका लागि गइरहेको चरेस विशेष सुराकीको आधारमा बरामद गर्न सफल भएको प्रहरीले यस भित्रका फरक फरक धारमा अनुसन्धान अघि बढाएको
छ ।

 

 

एक वर्ष कारागार कार्यालय बाँकेमा बसेका एक कैदीले बाँके कारागारमा लगानी गर्ने ब्यक्तिहरु धेरै रहेको खुलाएका छन् । ‘म त्यहाँ हुँदा घरमा काम परेको बेला एक लाख रुपैया ऋण लिएको थिएँ’, उनले भने, ‘छुट्नु भन्दा अघि नै रकम तिर्नु पर्ने शर्त हुन्छ ।’ ‘भित्रबाट बाहिरी क्षेत्रमा ब्यवसाय, कारोबार, र विभिन्न उद्योगमा लगानी गर्ने कैदीहरु पनि छन्’, उनले भने, ‘त्यहाँ पैसाको कमि छैन ।’

 

 

पाकिस्तानी नागरिक नासिर अली खाँ, कारागारका नाइके चुन्नन जसगढ र सहायक नाइके युनुस खाँको कनेक्सन बरामद भएको २१ केजी चरेस संग जोडिएपछि चारैतिर चासो बढेको छ । ‘पाकिस्तानी नागरिकको हातमा लगानी गर्ने किसिमको रकम कसरी र कहाँबाट पुग्यो भन्ने पनि अनुसन्धानको पाटो हो’, अनुसन्धान अधिकृतले भने, ‘प्रारम्भिक रुपमा उनीहरुको मोबाइल रेकर्डबाट डाटा भिडाउने काम अघि बढेको छ ।’

 

 

मंगलवार बरामद भएको चरेस बारे ब्यापक अनुसन्धान पछि सो विषय सार्वजनिक गरेको प्रहरीले फेरन अहिर र मुरली अहिरलाई कारागार नाइके चुन्नन जसगढले परिचालन गरेको हुन सक्ने आशंका गरेको छ ।
यद्यपि उनीहरु यसअघि कति पटक भारतीय क्षेत्रमा चरेस लगेको वा भारतीय क्षेत्रबाट ब्राउन सुगर ल्याउने क्रियाकलापमा संलग्न रहेको बारे प्रहरीले खुलाएको छैन । सो विषयमा पनि अनुसन्धान अघि बढि रहेको प्रहरीले जनाएको छ ।
हतारमा सारिए ६८ कैदी
२५० जना क्षमताको कारागार कार्यालय बाँकेमा क्षमता भन्दा तीन गुणा सम्म कैदी हुँदा पनि बाहिर नपठाएपनि केहि दिन यता हतारमै बाँकेबाट कैदीलाई अन्य जिल्ला कारागारमा सारिएको छ ।

 
पछिल्लो २३ दिन भित्र बाँके कारागारबाट ६८ जना कैदीलाई देशका विभिन्न कारागारमा सारिएको पाइएको छ । बाँके कारागारबाट ४९ जना तुलसीपुर दाङ्ग, ३ जना बर्दिया, ४ जना धनगढि, ११ जना विरामी परेर काठमाडौ र १ जनालाई चितवन क्यान्सर अस्पतालमा सारिएको कारागार अभिलेखले देखाएको छ ।

 
‘चाप धेरै बढेका कारण सारिएको हो, सो बाहेक अन्य कुनै कारण छैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै कारागार कार्यालय बाँकेका निमित्त प्रमुख श्याम लामिछानेले भने, ‘७ सय १२ जना पुगेपछि बस्न समस्या भएको हो ।’
शुक्रवार साँझ सम्म बाँके कारागारमा ६४८ जना महिला पुरुष कैदीहरु रहेको कारागारले जनाएको छ । अझैपनि क्षमता भन्दा निकै बढि कैदी कारागारमा रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया