बागेश्वरीको सम्पत्ति गायब !

विनय दीक्षित

बागेश्वरी मन्दिरमा स्थापित रहेको मुर्तिको सुनचाँदीका गहना र आवश्यक कागजात एकत्र गरी राखिएको भनिएको बाकस बाँकेको मालपोत कार्यालयमा छ । तर, उक्त बाकसमा दावी गरिएको धनमाल भित्रबाटै गायब भएको खुलासा गरिएको छ ।

 

‘बागेश्वरी मन्दिरको सम्पत्ति रहेको दावी गरिएको तीन वटा बाकस रित्तो अवस्था छन्’, श्रोतले भन्यो, ‘यो चर्चा मात्रै हो । मालपोत कार्यालयमा राखिएको बाकस भित्र अर्ब बढिको सम्पत्तिको दावी गर्ने विषय बाहिर आएपछि सो बारे चासो बढ्दै गएको हो ।

 

मालपोत कार्यालय बाँकेबाट मंगलवार मात्रै सरुवा भएका प्रमुख मालपोत अधिकृत ऋषिराम केसीले पनि बाकसको चर्चा औचित्यहीन भएको टिप्पणी गरेका छन् । ‘पञ्चायती ब्यवस्थामा उक्त बाकस राखिएको विषयमा न कुनै मुचुल्का छ, न त्यसको साँचो छ’, उनले भने, ‘जिम्मेवारी पाएका कर्मचारीहरु पनि कतिपय जीवित छैनन्, ।’
दैनिक नेपालगन्ज संगको फोन सम्पर्कमा अधिकृत केसीले भने, ‘बाकस खोल्ने सम्मको प्रयासका लागि चर्चा हो भने ठिक छ, नत्र बाकस खाली नै छ ।’ उनले बाकस भित्र केही रहेको भए त्यो सुरक्षित स्थानमा राखिने अनुमान गर्दै भने, ‘धनमाल राखिएको भनिएको बाकसलाई एक स्थानबाट अर्को स्थानमा सारिँदा पनि त्यस भित्र कुनैपनि प्रकारको महंगो धातु वा वस्तु भएको महसुस गर्न सकिन्न ।’
पञ्चायती ब्यवस्थामा सबै सरकारी कार्यालयको आर्थिक पक्ष हेर्ने कार्यालयको रुपमा रहेको तत्कालिन माल अड्डा, २०४८ पछि मालपोत कार्यालयमा परिणत भएपनि बागेश्वरी मन्दिरको जिन्सी उक्त कार्यालयमा अलपत्र अवस्थामा फालिएको तथ्यहरु बाहिर आएको थियो ।

 
मालपोत कार्यालयमा करिब ६ महिना सम्म जिम्मेवारी सम्हालेका केसीले उक्त बाकस बारे आन्तरिक तथ्यहरुमा बुझेपछि बाकस खाली रहेको खुलासा गरेका हुन् । ‘बाकस राखिएकोले भित्र केहि छ कि भन्ने अनुमान मात्रै हो,’ उनले भने, ‘बाकस धेरै वर्ष अघि देखि नै खाली रहेको अवस्थामा छ ।’

 
‘कति करोड वा लाखको सम्पत्ति भित्र राखिएको थियो त्यसको अभिलेख नै फेला नपरेपछि, कुन कर्मचारीको जिम्मेवारी थियो भन्ने पनि यकिन हुन सकेन,’ प्रमुख केसीले भने, ‘पछिल्लो समयमा बाकस बारे चासो बढेपछि आन्तरिक रुपमा मैले त्यसलाई जाँच गर्ने प्रयास गरेको हुँ ।’ भाडामा रहेको कार्यालयबाट नयाँ भवन बाकस सारिँदा पनि केही भएको अनुभूत गर्न नसकिएको उनको भनाइ छ । ‘साँचो नभएका कारण त्यसलाई मुचुल्का खडा गरी सरकारी अधिकारीहरुको रोहबरमा मात्र खोल्न मिल्छ,’ उनले भने, ‘तर प्रष्ट हुनुस् बाकस खाली नै छ ।’ केसीले ‘प्रचार प्रसार र चर्चा जस्तो सुकै भएपनि धेरै वर्ष अघि देखि नै बाकस रित्तो रहेको’ अनुमान सुनाए ।

 
‘३० बर्ष भन्दा बढि समय देखि मन्दिरको सुनचादी र नगद लगायतका सम्पत्ति राखिएको फलामका ३ वटा बाकसहरुमा सम्पत्ति छ भन्ने हल्ला मात्रै चलिआएको हो, दैनिक नेपालगन्ज संग मालपोतका एक पूर्व कर्मचारीले भने, ‘केहि समय मेरो पनि जिम्मेवारी त्यस बाकसमा थियो ।’

 
नेपालगन्जका कानून ब्यवसायीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई भेटेर वागेश्वरी मन्दिरको तीन वटा बाकस सुरक्षित पार्न र त्यसमा भएको सम्पत्ति सार्वजनिक गर्न माँग गरेपछि सो विषयले चासो लिएको हो ।
‘तीन वटा बाकस मध्ये एउटामा जिन्सी र बाँकीमा कागजातहरु भएको बारे सामान्य जानकारी मलाई छ,’ बागेश्वरी मन्दिरका कार्यालय प्रमुख राजु केसीले भने, ‘बाकसमा भएको सम्पत्ती बारे अभिलेख अहिले सम्म पनि हाम्रो हातमा लागेको छैन ।’

 
केहि वर्ष मालपोत कार्यालय बाँकेमा कर्मचारी रहेका भागवन्त प्रसाद गुप्ताको पनि जिम्मेवारीमा बाकस थियो, त्यस अघि पछि कति कर्मचारीले जिम्मेवारी पाए त्यसको अभिलेख मालपोत कार्यालयमा छैन ।
‘पञ्चायत कालमा अंचलाधीशको कार्यालय सुरक्षाको हिसाबले प्रचुर मानिन्थ्यो र त्यसै कारण बागेश्वरीको करोडौंको सम्पत्ति माल अड्डामा राखिएको थियो,’ प्रमुख केसीले भने, ‘तर बाकसमा केही छ वा छैन भन्ने बारे मलाई जानकारी छैन ।’

 
‘हरेक बाकसमा तीन वटा ताला लाग्ने र त्यसको साँचा मुचुल्का खडा गरेर तत्कालिन समयमा मालपोत कर्मचारीलाई जिम्मा लगाइएको बारे, केही सम्झना छ’, अवकास प्राप्त एक कर्मचारीले दैनिक नेपालगन्ज संग भने, ‘तर त्यसलाई खोलेको बारे जानकारी हुन सकेन ।’
हालै गुठी संस्थानका केन्द्रिय अध्यक्ष लक्ष्मण ज्ञवालीको सहभागितामा नेपालगन्ज उपमहानरपालिकामा आयोजित एक बैठकमा बाकस खोल्ने विषयमा निर्णय भएपनि कुन मिति र समयमा खोल्ने बारे यकिन तथ्य बाहिर नआएको
हो ।


तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले २०७३ असार २२ गते मन्दिर ब्यवस्थापन सम्बन्धी आदेश गर्दै सम्पतिको नियमित रुपमा अभिलेख राख्न भनेपनि मन्दिरका संस्थापनको असयोगका कारण प्रभावकारी रुपमा उक्त विषय कार्यान्वयन हुन नसकेको बताइएको छ ।

 
२०५७ जेष्ठ २४ गते गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौले बागेश्वरी मन्दिरको १३ सदस्यीय समिति गठन गरेको १७ वर्षपछि सोमवार नेपालगन्जका मेयर धवल शम्शेर राणाको अध्यक्षता रहने गरि अर्को ब्यवस्थापन समिति गठन गरेको छ । राणाको समितिले बागेश्वरी मन्दिर ब्यवस्थापन सम्बन्धी कार्य हेर्ने जिम्मेवारी पाएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया