नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले महानगर निर्माणको पहल थालिसकेको जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका भावी कार्यनीति सार्वजनिक गर्दै कार्यपालिका बोर्डका प्रवक्ता प्रमोद रिजालले १४ बुंदे कार्यनीतिको प्राथमिकतामा भने, ‘नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउनका लागि आवश्यक पहल सुरु भैसकेको छ ।’
नगर प्रमुख डा. धवल समशेर राणाका अनुसार, महानगरको डिपिआरका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । ‘अब बस्ने बोर्ड बैठकले डिपिआर निर्माण कम्पनीको प्रस्ताव आव्हान गर्ने निर्णय गर्नेछ’, नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘तीन बर्षभित्र महानगरका आवश्यक आधारभूत पूर्वाधार तयार गरिसक्ने गरी काम अगाडि बढाइने छ ।’
पत्रकार सम्मेलनमा विभिन्न जिज्ञासाहरुलाई नगर प्रमुख डा. राणा, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र प्रवक्ता रिजालले प्रष्टोक्ति दिएका थिए । उपमहानगरपालिकाले नेपालगन्जमा विश्वविद्यालय स्थापना तथा नेपालगन्ज विमानस्थल स्तरोन्नतरीका लागि चालिएको अभियानलाई निरन्तरता दिइने जानकारी दिंदै त्यससँगै नेपालगन्जको आवधिक योजना निर्माण गरिने प्रवक्ता रिजालले बताए ।
‘घरवहाल दस्तुरलाई व्यवस्थित गर्न न्यूनतम घरवहालकर मापदण्ड तयार गरी लागू गरिनेछ’, नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो भावी कार्यनीतिमा भनेको छ, ‘करप्रणाली व्यवस्थित गर्न वडाकार्यालयहरुमा सफ्टवेयर जडान प्रकृयालाई अगाडि बढाइनेछ ।’
उपमहानगरपालिकाले नेपालगन्ज उद्योग वाणिज्य संघसँगको सहकार्यमा व्यवसाय कर उठाउने नीति अवलम्वन गरिने जनाएको छ । ‘सरसफाई ढलनिकास, नगर सौन्दर्यिकरण, वातावरण संरक्षण, प्लाष्टिकमुक्त सहरको परिकल्पनालाई दु्रतरुपमा अगाडी बढाइनेछ’, प्रवक्ता रिजालले पत्रकार सम्मेलनमा भने, ‘छाडापशु तथा अव्यवस्थित सवारीसाधनको उचित व्यवस्थापन गरिनेछ ।’
आर्थिक बर्ष ०७५÷०७६ मा ८४ प्रतिशत बजेट खर्च गरेको जानकारी दिंदै उपमहानगरपालिकाले प्रक्षेपित योजना अनुसार नै आफु अगाडि बढेको प्रष्ट पारेको छ । आ.व.२०७५÷७६ मा जम्मा बिनियोजित बजेट रु.२ अर्व ८२ करोड १ लाख १४ हजार २८ मध्ये करिव रु.२ अर्व ३७ करोड ५७ लाख ६५ हजार १९ खर्च भएको प्रवक्ता रिजालले बताए ।