रामु ओली
विवेक श्रेष्ठ । नेपालगन्जको व्यवसायिक क्षेत्रमा नौलो नाम होइन । उनको व्यवसायिक परिचय यथावत नै छ । तर, उनलाई एउटा अभियानले नेपालगन्ज र नेपालगन्जिया माझा अझ परिचित गरायो । युवा व्यवसायी विवेक श्रेष्ठ नामलाई समाजिक कार्यकर्ता र अभियानकर्ता विवेक श्रेष्ठको नामले चिनाउन गाई बचाउँ अभियान मुख्य तत्व बनिदियो ।
नेपालगन्ज उपमहानगरपालिका धम्बोझिका बासिन्दा विवेक श्रेष्ठको जन्म भने बिरगंज महानगरपालिका वडा नम्बर ५ मा भएको थियो । बिरगंजमै प्राथमिक देखि स्नातक सम्मको अध्यन सकेर नेपालगन्जलाई कर्म थलो बनाएका श्रेष्ठ लामो समय देखि नेपालगन्जको व्यापार–व्यवसायमा निरन्तर लागिपरेका छन् ।
करिब १५ वर्ष अगाडि बिरगंजदेखि नेपालगन्ज आएका श्रेष्ठ सुरुवातमै अटोमोबाइल्सको व्यवसायमा जागिरेको रुपमा छिरे । २०६३ मा गौरीशंकर इन्जिनियरिङमा मार्केटिङ म्यानेजरको रुपमा जागिरे भएर दुई बर्ष त्यहाँ काम गरेका उनले त्यहीँ बाट अटोमोबाइल्सको अनुभव प्राप्त गरेको बताउँछन् । ‘नेपालगन्ज आएपछि सुरुवातमा अटोमोबाइल्समै काम गरियो, मार्केटिङ मेनेजरको रुपमा काम गरेपनी सबैकुराको जिम्मेवारी थियो त्यसैले पनि राम्रो अनुभव लिने अवसर प्राप्त गरे’ श्रेष्ठले बताए ।
त्यस्तै उनले विभिन्न ब्रान्ड र कम्पनीमा केही समय काम गरे र बेस्ट बजार डिपार्टमेन्टल स्टोरको समेत सुरुवात गरेका श्रेष्ठको लागि अटोमोबाइल्स व्यवसायमै रुचि र अनुभवको कारण पुनः उनी अटोमोबाइल्सको व्यवसायमै फर्किए । जापानीज कम्पनी निसान र डाट्सनको बाँके र बर्दियाका आधिकारिक बिक्रेताको रुपमा २०७० मा देव मंगल इन्जिनियरिङ प्रालिको स्थापना गरि नेपालगन्जमा विभिन्न मूल्य र मोडेलका गाडी उपलब्ध गराउन कटिबद्ध रहि काम गर्दै आएको उनको भनाइ छ ।
देव मंगलका डाइरेक्टर समेत रहेका श्रेष्ठको कम्पनीमा उनी सहित ७ जना कर्मचारी कार्यरत छन् । अटोमोबाइल्सको क्षेत्रमा अहिलेको अवस्था निरासाजनक रहेको बताउने श्रेष्ठले बैंक तथा बित्तिय क्षेत्रले गर्ने लगानिमा गरेको कटौती लाई प्रमुख कारक तत्व मान्छन् । सुरुवातमा अटोमोबाइल्समा कारोबार राम्रै भएपनी हाल यो क्षेत्रमा सर्भाइभ गर्न गाह्रो रहेको उनको अनुभव छ ।
बैंकको चर्को ब्याजदर, बैंकले गाडिमा गर्ने लगानी प्रतिशत, गाडिको मुल्यमा भएको निरन्तर वृद्धिले पनि अहिलेको अवस्थामा गाडिको बिक्रीमा कमि रहेको उनी बताउछन् । बैंक तथा बित्तिय नितिमा आएको परिवर्तन संगै देखापरेको अटोमोबाइल्सको बिक्रीमा देखा परेको असर उनको कम्पनीले पनि भोग्नुपरेको अनुभव उनको छ ।
‘विशेषगरी बैंकले पहिले ८० प्रतिशत सम्म लगानी गर्ने गथ्र्याे भने हाल आएर ५० प्रतिशतमा खुम्चिएको छ, अब ठुला गाडीहरु किन्न एकमुष्ट बीस, पच्चीस लाखको जोहो गर्नु सामान्य कुरा पक्कै होइन, त्यसैले गाडी खरिदकर्ताले एकै चोटि ठूलो रकमको जोहो गर्न नसक्ने भएकाले पनि अटोमोबाइल्सको सेक्टरमा खासै व्यापार राम्रो छैन,’ श्रेष्ठ बताउने गर्छन् ।
उसो त उनको अनुसार बैंकले गर्ने लगानी मात्रै यो क्षेत्रको समस्या होइन । बैंक तथा बित्तीय क्षेत्रमा समयानुकूल नितिमा आएको परिवर्तन संगै बजारमा हरेक ब्रान्ड र कम्पनीका गाडी भित्रनु र बजारमा अत्याधिक अस्वस्थ प्रतिस्पर्धा हुनु पनि एउटा मुख्य चुनौती रहेको उनी बताउँछन् । ‘यो व्यवसायमा मार्जिन कम छ, त्यसैमा अफिस मेन्टेन देखि लिएर स्टाफलाई स्यालरी दिनै पर्छ त्यसैमा मार्केटमा अस्वस्थ प्रतिस्पर्धा बढेकाले यो क्षेत्रमा चुनौती धेरै देखा पर्दैछ,’ उनी बताउँछन् ।
महिनामा सरदर ५÷६ वटा गाडी बिक्री गर्दै आएका विवेक देव मंगलको सेल्स, सर्भिस र स्पेयर पार्ट्सको काम हुँदै गरेको बताउछन् । सथै केही नयाँ ब्यापारिक योजना समेत बन्दै गरेको बताउने श्रेष्ठ भने समय र देशको अवस्था अनुसार ती योजनाहरुले प्राथमिकता पाउने जिकिर गर्छन् । देशको परिस्थिति र समयानुकूल चल्न सके नेपालगन्ज राम्रो सम्भावना बोकेको शहर रहेको बताउने श्रेष्ठ अटोमोबाइल्सको क्षेत्रमा केही नयाँ गर्न चाहन्छन् ।
बिरगंजमा जन्मे हुर्के पनि उनको लागि नेपालगन्ज प्यारो छ । नेपालगन्ज उनको लागि कर्म थलो हो मात्रै होइन, भविष्य पनि हो । त्यसैले उनी नेपालगन्जसँग नजिक छन् । आत्मिय छन् । त्यसैले त उनी नेपालगन्ज र नेपालगन्ज संग जोडिएका हरेक सामाजिक क्रियाकलापमा जोडिन मन पराउछन । लायन्स क्लब, नेवा पुज्ज, क्षयरोग निवारण जस्ता सामाजिक संघसंस्थामा आवद्ध श्रेष्ठ नेपालगन्ज ग्यालरीको गाई बचाउँ अभियानका समेत योजनाकार हुन् । करिब तीन हप्ता अगाडी देखि सुरु भएको गाई बचाउँ अभियानमा उनको र समुहको सक्रियताले उचाई लिएको छ । कान्जी हाउसको दृघकालिन समाधानको लागि सोच्न बाध्य पारेको छ । सम्बन्धीत निकाय लाई त्यता तर्फ ध्यान दिन बाध्य पारेको छ । उनी हौसिदै भन्छन्, ‘कान्जी हाउसको अभियान रोकिदैन, यसको दीर्घकालिन समाधानको खोजिमा हामी छौं । हामीले हर तरहको, हर सम्भव कोसिस र समाधान खोज्दै छौँ ।’
‘हामी बाँच्न जरुरी छ भने जनावर पनि बाँच्नु जरुरी छ । त्यसै कारणले पनि हामीले यो मानवता बाँचिरहोस भनेर यो अभियान र कामको सुरुवात गरेका हौं,’ श्रेष्ठले बताउँछन् । सामाजिक कार्यमा लाग्दा ब्यापारमा थोरै असर परे पनि सामाजिक कार्यले आत्मसन्तुष्टि दिने गरेको छ, जसले नै जीवनमा उर्जा दिन्छ । अभियानमा करिब १० जना हामी पुर्णरुपमा सामेल छौ ।’, उनले भने ।
एकचोटि कान्जी हाउस पुग्न आग्रह गर्छन् । किनभने त्यहाँ रहेको गाईको दर्दनाक अवस्थाले हरेक जो कोहिको पनि मन रुवाउने गर्छ । हामीलाई आर्थिक सहयोग होइन गाईको लागि प्रेम र स्याहारसुसार र खानाको आवश्यकता छ । कुनै ब्यक्ति एक चोटि पुग्छ भने हामीलाई बिश्वास छ, त्यो ब्यक्ति हरेक दिन पुगेर त्यहाँको गाईको निम्ति केही न केही पक्कै गर्नेछन् । ‘यो हाम्रो मात्रै जिम्मा होइन, सबै नागरिकले यो कार्य गर्नु पर्यो । सधै र सबैको खबरदारी र सहयोग जरुरी छ । किनकी हामिले सम्बन्धित निकायलाई झकझकाउनु पर्छ,’ उनको व्यक्तिगत धारणा छ ।