‘नो पार्किङ्ग’ कोहलपुर चौराहमा कडाई

कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशको मुख्य प्रवेशद्धारका रुपमा रहेको कोहलपुर चौराहमा ‘नो पार्किङ्ग’ क्षेत्रलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।


सोमबार पत्रकार सम्मेलन गर्दै बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई जिम्मा लगाउँदै ‘नो पार्किङ्ग’ क्षेत्रलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको हो ।


विगतमा समेत विभिन्न यातायात व्यवसायीहरुले कोहलपुर चौराह क्षेत्र वरपर सवारीसाधन नरोक्ने निर्णय भएपनि कार्यान्वयनमा फितलो देखिएपछि नियमनका लागि प्रहरीलाई जिम्मा दिइएको बागेश्वरी यातायात व्यवयायी प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले जानकारी दिए ।


चौराहको वरपर सवारी साधन रोकेर यात्रु चढाउने र झार्ने गरिहेका छन् । सुविधासम्पन्न लामो दुरीको बसपार्क कोहलपुर चौराहदेखि एक सय मिटर पूर्वदक्षिणमा पर्दछ । सडक किनारहरु अटोहरुले भरिएका हुन्छन् । लामोदुरीका बसपार्कबाट भित्रिने र बाहिरिने सवारी साधनहरु मुख्य सडकको किनारमै लामबद्ध भएर रोकिने गर्दछन् ।


चैराहका विभिन्न भागमा ‘नो पार्किङ्ग’ क्षेत्र भन्दै बोर्डहरु राखिएका छन् तर सोही क्षेत्रमा गाडीहरु पार्किङ्ग गरेर यात्रुहरु कुरिरहेको अवस्थामा सवारी साधनहरु भेटिन्छन् ।


बागेश्वरी यातायात व्यवयायी प्रा.लि.का अध्यक्ष आचार्यले बाहिर जिल्लाबाट आएका बसहरुले चौराहको वरपर रोकेर यात्रु चढाउन नपाइने भन्दै अनिवार्य रुपमा लामोदुरीको बसपार्क ल्याउनुपर्ने यातायात व्यवसायीलाई आग्रह गरे । टिकट काउन्टरबाट नै काटेको टिकटको मान्यता दिने उनको भनाइ छ ।


बागेश्वरीका व्यवस्थापक हेम विक्रम जिसीले व्यवस्थापकीय क्षेत्रमा यातायात व्यवयायीले कमजोरी रहेको भन्दै बसपार्कमा गुट्का खाएर थुक्ने, एउटै सिटमा दुई÷तीन वटा टिकट हुने, शौचालयको व्यवस्थापन लगायत सुधार गर्नेपर्ने विषयहरुलाई तत्काल सच्चाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।


त्यस्तै बागेश्वरीका महासचिव टंक प्रसाद बस्यालले लामोदुरी बसपार्कमा आउनुहुने यात्रु, यातायात व्यवसायीहरुलाई ३४ बुँदे आचारसंहिता बनाएको बताए । ३४ बुँदे आचारसंहितालाई बसपार्कको मुल गेटको साइडमा टाँसेको तर सो आचारसंहिता कार्यान्वयन गर्ने महासचिव बस्यालले बताए ।


यस्तै लामोदुरीको बसपार्क सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहले बसपार्कमा अपुग भौतिक संरचनाहरु बनाउन नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया