‘माई कोरा च्यालेन्ज २०२२, राइड फर कज’ अन्तर्गत स्वर्गीय पारा साइक्लिस्ट याम लाल रसाइलीको लागि संकलित रकम मध्य पहिलो चरणमा तीन लाख परिवारलाई बीच हस्तान्तरण गरिएको छ ।

यामलाल रसाइली परिवार सहयोग अभियान नेपालगन्जको नाममा संकलन भएको रकम शुक्रवार रसाइलीकै घरमा पुगेर हस्तान्तरण गरिएको अभियानको नेतृत्व गरेका गगनसिंह थापाले जानकारी दिए ।
‘१५ दिन पछि दोस्रो चरणको रकम हस्तान्तण गरिनेछ,’ थापाले भने । अभियानका सदस्यहरूको ८ जनाको टोली नेपालगन्ज देखि कैलालीको लम्कीसम्म साइकलमै पुगेर रकम हस्तान्तरण गरिएको थियो ।
४ वर्षको उमेरमा चामल कुट्ने मिलको पट्टामा पनि दाहिने खुट्टा गुमाएका यामलाल रसाइली अपाङ्ग भए पछि पाएको अपहेलना र घृणाका कारण साइक्लिस्ट बनेका थिए । बसको यात्राका क्रममा भाडाको विषय विवाद हुँदा बसबाट खसालिएको यामलाल साइकललाई आफ्नो यातायातको साधन बनाउन साइकल चढ्न सुरु गरेको बताएका थिए ।
२०५६ सालमा मेची महाकाली साइकल यात्रा गरेका रसाइली २०७५ सालमा लम्की देखि मुगुको रारा सम्मको साहसिक यात्रा गर्न सफल भए । सन् २०१७ भारतको अरुणाचलमा भएको पारा साइक्लिङ प्रतियोगितामा पदक हासिल गरेका उनी नेपालमा हुने प्राय सबै साइक्लिङ कार्यक्रममा सहभागिता जनाउन पुग्थे ।
२०७८ साल वैशाखमा कोरोना महामारीको संक्रमणमा ज्यान गुमाएका रसाइलीको समस्यामा परेको परिवारलाई रकम संकलन गरिएको थापाले बताए ।








