तिहारको अवसरमा सञ्चालन गरेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट बासले आर्थिक सहयोग गरेको जनाएको छ । बासले दिएको जानकारी अनुसार, जानकी जुगुन भरियाका नागेश सोनी, कोहलपुरका कमल प्रसाद उपाध्याय र नेपालगन्ज २२ पुरैनीका रोशनी खाँलाई जनही १०/१० हजार सहयोग गरिएको हो ।

शुक्रवार देउसी, भैलो कार्यक्रमको खर्च सार्वजनिकरण कार्यक्रममा उनीहरुलाई प्रदेश सभा सदस्य कृष्णा के.सी.ले चेक हस्तान्तरण गरिन् । सहयोग प्राप्त गर्ने नागेश मृगौला रोगका पीडित हुन्, उनी आमाले दिन थालेको मृगौला प्रत्यारोपणको तयारीमा रहेका छन् । कोहलपुरका कमल प्रसाद उपाध्याय करेण्ट लागेर मेरुदण्ड भाँच्चिई उपचारार्थ लखनउमा रहेका छन् । उनीहरुलाई उपचारका लागि सहयोग गरिएको हो भने नेपालगञ्जका रोशनी खाँ आमा, बुवा गुमाएकी बालिका हुन् । उनको पढाईका लागि सहयोग गरिएको हो ।
बासका अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लुना बुढाथोकीले गरेकि थिइन् भने कार्यक्रमको उद्धेश्य माथि बासका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए । कार्यक्रम संयोजक रबिन्द्र बोहराले देउसी, भैलोको खर्च बिबरण सार्वजनिक गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि केसीले देउसी, भैलोमा सहयोग गर्ने डाक्टर राहुल थापा, मो. सफिक बेहना, डाक्टर कुमार शान शाह, सन्तोष गुप्ता, आशीर्वाद पेन्ट्सका नवनित डाँगी, गिता खत्री, शिब कुमार बर्मा, भिमकान्त लामिछाने, पुरण थारु, ईन्दिरा शाही, , कमल शाही, दिला शाह, गजेन्द्र शाही, निल बहादुर शाक्य, लोकेन्द्र बहादुर शाह, अम्विका काफ्ले, शोभा थापा मगर, शर्मिला थापा लगायतलाई सम्मान पत्र प्रदान गरिन् ।
कार्यक्रममा भैली टिममा संलग्न कलाकार, स्वयंसेवकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कलाकार के.बि शाही, पूर्ण थापा, सन्तोष सोती मगर, प्रमोद डिजि र महेन्द्र सेढाईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बि.क., समाजसेवी निल बहादुर शाक्य लगायतले बोलेका थिए ।
बासले आफुले सञ्चालन गरेको देउसी, भैलो कार्यक्रमको खर्च सार्वजनिक गर्दै कार्तिक १८ देखि २१ गते सम्म खेलिएको भैलोमा ४० घरबाट २ लाख ६६ हजार रकम संकलन भएको जानकारी दिइएको थियो । संकलित रकमबाट ३० हजार आर्थिक सहयोग र भ्रष्टाचार बिरुद्धको भित्ते लेखनका लागि ५२ हजार १ सय ४५ रकम छुट्याइएको बासका प्रवक्ता हेमराज भट्टले जानकारी दिए ।