मुद्रण संघको साधारण सभा ,एक्यबद्धता आवश्यक

कोहलपुर – नेपाल मुद्रण उद्योग संघ, बाँकेको साधारण सभा यहाँ शनिबार आयोजना गरिएको छ । संघकी अध्यक्ष कुसुम बस्नेतको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथिको आसनबाट नेपाल मुद्रण उद्योग महासंघकी केन्द्रीय सदस्य मीना सुवेदी ढकालले मुद्रण व्यवसायीहरुका पीर मर्का र आइपर्ने व्यवसायिक समस्याहरुको समाधानका लागि सबै व्यवसायीहरु एकतावद्ध भएर लाग्नु पर्ने बताइन् । उनले मुद्रण व्यवसायलाई नकारात्मक असर पर्ने खालका सरकारी नीति नियमहरुमा संशोधन र सुधार गर्नका लागि नेपाल मुद्रण उद्योग महासंघ केन्द्रीय कार्यसमिति लागीपरेको जानकारी पनि साधारण सभामा राखिन् ।


साधारण सभामा संघका वरिष्ठ सदस्य पूर्ण लाल चुकेले बाँके जिल्लाका मुद्रण व्यवसायीहरुलाई संगठित गर्न २०४२ सालदेखि प्रयास भइरहेको स्मरण गराउनु हुँदै व्यवसायिक हक हितको संरक्षणका लागि व्यक्तिगत स्वार्थलाई थाँती राखेर संगठनलाई बलियो बनाउन मुद्रण व्यवसायीहरु एक ढिक्का हुनु अपरिहार्र्य भएको बताए । करीब तीन दर्जन मुद्रण व्यवसायीहरु सहभागी उक्त सभामा उपाध्यक्ष चिन्तामणि उपाध्याय, सहसचिव विनोद पौडेल, साधारण सदस्य दीपक रेग्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


साधारण सभामा संघका सचिव कृष्ण कँडेलद्वारा प्रस्तुत गरिएको संघको वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहम्मद वाहब खानद्वारा प्रस्तुत गरिएको आर्थिक तथा लेखा परीक्षकको प्रतिवेदन सभाले व्यापक छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया