नेपालगन्ज – सहकारी वित्तीय विकास संस्था नेपालगन्जमा भएको करोडौं अपचलन सम्बन्धी मुद्दामा शुक्रबारदेखि बहस सुरु भएको छ । पक्राउ परेकाहरुको बयान सकिए लगत्तै थुनछेक बहस सुरु भएको हो । सरकारी वकिलको कार्यालयले तीन महिनाको अनुसन्धान पछि गत असोज ३० गते जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो ।
अदालतमा ४१ जना पूर्व कार्यसमिति, कर्मचारी लगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मुद्दामा कुल ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना भएको निष्कर्ष सहितको मागदाबी सरकारी पक्षले गरेको छ । जसमा बचत रकमको दाबी गर्दै उजुरी गरेका १ हजार ९ जना २६ करोड ९६ लाख ५ हजार ५ सय ८२ रुपैयाँ पनि संलग्न छ । बचतकर्ताहरुका सावाँ र ब्याज सहितको रकम भराई दिन अनुरोध गरिएको छ ।
४१ जना प्रतिवादी रहेको मुद्दामा अधिकांस भने फरार नै छ । अपचलन प्रकरणमा प्रहरीले ६ जनालाई मात्रै पक्राउ गरेको हो । प्रहरीले अपचलन र हिनामिनामा संलग्न रहेका दाबी गरेका मध्ये ६ जनाको मृत्यु भैसकेकाले उनीहरु विरुद्ध मुद्दा दायर गरेको छैन । प्रहरीले अरुण कुमार पाठक, गंगाधर सुवेदी, गोपाल भण्डारी, बलराम यादव, स्थिरमणी बज्राचार्य लगायतलाई प्रतिवादी बनाएको छ ।
जिल्ला न्यायाधीश धनेश्वर पौडेलको इजलासमा शुक्रबार पहिलो दिन जाहेरीवालाको तर्फबाट सरकारी वकिल यामबहादुर बानिया, अधिवक्ता समेत रहेको बचतकर्ताले गठन गरेको पीडित संघर्ष समितिका संयोजक विजयकुमार गुप्ता, सुकईलाल बर्मा, पुनम श्रेष्ठ, राजेन्द्र विश्वकर्माले बहस गरेका छन् । जाहेरीतर्फका कानुन व्यवसायीले थुनामा राखेर कारवाही अगाडि बढाउन माग गरेका छन् ।
लामो समयदेखि बचत रकम फिर्ता बारे अन्योलता भएपछि बचतकर्ताहरुले पटकपटक सडक आन्दोलन गर्दै आएको छ । दिपवालीको बिदाका कारण अब कार्तिक १४ गते बहस हुने कानुन व्यवसायीले जानकारी दिएका छन् ।