‘सहकारी अर्थतन्त्रको खम्बा’-मन्त्री राई

नेपालगन्ज – देशको महत्वपूर्ण आर्थिक खम्बा सहकारी भएको सहरी विकास मन्त्री मो. इस्तियाक राईले बताएका छन् । शनिबार नेपालगन्जमा भएको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभामा बोल्दै मन्त्री राईले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्र सहकारी पनि भएको बताए ।
सहकारीले गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याएको मन्त्री राईले बताए । ‘स–सानो पूँजी एकत्रित गरी सहकारीले गरेको लगानीबाट रोजगारीको सिर्जना समेत भैरहेको छ’, मन्त्री राईले भने । सामाजिक रुपान्तरणमा सरकारको जत्तिकै भूमिका सहकारीको पनि रहेको मन्त्री राईले बताएका थिए ।


गाउँ, गाउँमा गठित समूहमा गरिएको लगानीलाई गणना गर्ने हो भने अर्थतन्त्रमा सहकारीले ठूलो योगदान पुर्याएको मन्त्री राईको धारणा थियो । ‘सामाजिक, आर्थिक रुपान्तरणसँगै रोजगारी पनि सहकारीले सिर्जना गरेको छ’, उनले भने ।
सहकारीमा देखिएका विकृति तर्फ संकेत गर्दै मन्त्री राईले त्यसलाई हटाउनका लागि सरोकारवालाहरुले नियमन र अनुगमन गर्नुपर्ने बताए । सहकारीप्रति राज्य र जनताले गरेको विश्वास गुमाउन नदिन सहकारीमा देखिएका विकृति अन्त्य गर्ने तर्फ ध्यान पुर्याउने पर्ने मन्त्री राईले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया