नेपालगन्ज – टुर एण्ड ट्राभल्स व्यवसायीहरुले एयरलाइन्सहरुको नीतिका कारणले आफुहरुको व्यवसाय नै धराशयी हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँकेले एयरलाइन्स कम्पनीहरुले लिएको नीतिका कारण टुर एण्ड ट्राभल्स व्यवसाय नै विस्थापित हुने जोखिममा पुगेको बताएका हुन् । उनीहरुले एयरलाइन्सहरुले कमिशनमा कायम गरेको नयाँ व्यवस्थालाई खारेज गरी पूर्ववत् कायम गर्न माग गरेका हुन् ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टर तदर्थ समितिले मंगलबार बाँके स्थित बिभिन्न एयरलाइन्सका प्रमुख मार्फत ७ बुंदे ध्यानाकर्षण समेत गराएको छ । नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलको नेतृत्वमा रहेको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न मागहरु राखेको हो ।
एयरलाइन्सहरुले सन् २०१९ अगष्ट महिना देखि लागु हुने गरि गरेको कमिशनको नयाँ व्यवस्थालाई खारेज गरि पूर्ववत कमिशन कायम गर्न नाट्टाले माग गरेको छ । एयरलाइन्सहरुबाट अनाधिकृत रुपमा विभिन्न संघ–संस्था र संगठनहरुलाई दिदै आइरहेको इटिकेटिङ्ग सिष्टम पनि अविलम्व फिर्ता गर्न नाट्टाले माग गरेको छ । नाट्टाले विभिन्न क्लासमा दिइदै आएको कमिशनमा एक रुपता ल्याई कमिशनमा बृद्धि गर्नुपर्ने, एयरलाइन्सहरु बीचको अस्वस्थ प्रतिस्पर्धालाई न्यून गरि विक्रीका आधारमा इन्सेन्टिभ वा बोनसको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।