नेपालगन्जमा अर्काे तारे होटल थपिएको छ । झण्डै २० करोड लागतमा सुविधा सम्पन्न तारे होटल थपिएको हो । ‘यो सुरुवात हो, हस्पिटालिटी क्षेत्रमा पहिलो पाइला चालेका उद्योगपति दिवाकर खनालले ‘खनाल कप्लेक्स होटेल एण्ड रोयल रेस्टुरेन्ट’ शुभारम्भ बारे जानकारी दिन आइतवार आयोजित पत्रकार भेटमा भने, ‘यस क्षेत्रमा केही उदाहरणीय काम गर्ने धोको छ ।’
सशस्त्र द्वन्द्वको चरम मारमा परेका प्रतिष्ठित उद्योगपति खनाल लामो समयको अमेरिका बसाई सफल शान्ति प्रक्रियापछि टुङ्याउँदै स्वदेश फर्किएर १९ महिनाअघि खनाल कप्लेक्सको जग हालेका हुन् । ‘१७ महिनामा सक्छु भनेको प्रोजेक्ट विभिन्न कारणले १९ महिना लाग्यो,’ शनिवार ४० कोठाको सुविधा सम्पन्न होटेलको सफ्ट ओपेनिङपछि आइतवार पत्रकार भेटेका खनालले भने, ‘मैले रोजिन एण्ड टेर्पेनटाइनका क्षेत्रमा पनि नयाँ काम गरेको यो, यो मेरो लागि नयाँ अनुभव भएपनि उदाहरणीय सेवा प्रवाह गर्नेमा विश्वस्त हुनुस् ।’
नेपालगन्ज–२, सुर्खेतरोड देखि घरबारीटोल जोडिएको स्थित खनाल कम्प्लेक्समा संचालनमा ल्याइएको ‘खनाल कप्लेक्स होटेल’ सँगैको रोयल रेस्टुरेन्टलाई सेवा प्रवाहमा निकै सहजता ल्याउने प्रयास बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा संचालक खनालले होटेलको भौतिक संरचना र आर्किटेक्ट वातावरणमैत्री भएको बताए । पहिलो तलामा ‘कमर्शियल कम्प्लेक्स’ सञ्चालन योजनाका साथ निर्माण सुरु गरेका खनालले होटेलको संरचना निर्माणको सुरुवातदेखि अन्त्यसम्म नै वातावरणमैत्री उपाय अपनाएको जानकारी दिए । ‘हरेक कोठामा नेचुरल हावा आउ–जाउ हुने र पर्याप्त प्रकाश पस्नेगरी कोठाहरु डिजाइन गरिएको छ,’ देश विदेश घुमेर प्राप्त अनुभवलाई प्रयोग गरिएको जानकारी दिंदै उनले भने । खनालले ‘कमर्शियल कम्प्लेक्स’ सञ्चालन योजनालाई थाती राखेको बताउँदै भने, ‘वार सञ्चालनका कारण कम्प्लेक्स योजनालाई रोकियो ।’
खनाल कप्लेक्स होटेलमा २ हजार रुपैयाँदेखि १५ हजारसम्मका कोठाहरु उपलब्ध छन् । ‘सेवासुविधा थप गरेर १५ हजार रुपैयाँसम्मको कोठाहरुको उपलब्धता हुने व्यवस्था मिलाइएको’ होटेलका म्यानेजर डीबी क्षेत्रीको भनाइ छ । स्वीट रुम सहित ४० वटा कोठा रहेको होटेलमा बासका लागि सय जनासम्मको क्षमता छ । ३ सय जनासम्म क्षमताको पार्टी हल र ६० जनालाई एकै पटक सेवा प्रवाह गर्न सकिने रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । ३० जनालाई रोजगारी दिइरहेको खनाल कम्प्लेक्सले स्थानीयलाई रोजगारी दिने र स्थानीय उत्पादनहरुलाई प्रबद्र्धन गर्ने सोंच राखेको जनाएको छ ।
फुड एण्ड वेभरेज म्यानेजर गजेन्द्र मल्लले देश विदेशमा ‘नेपाली मेन्यु स्थापित गर्ने लक्ष्य अनुसार आफु अगाडी बढेको’ बताए । ‘क्याफे देखि लोकल फुड कल्चरको विकासमा काम हुनेछ,’ मल्लले भने । होटेलका म्यानेजर क्षेत्रीले खानामा पोषणको मात्रा मापन गरिने देखि सेवाग्राहीमा खानाका क्रममा पोषण सचेतनामा समेत ध्यान दिइने बताए ।