नेपालगन्जमा रहेको राष्ट्रिय बिउ बिजन कम्पनीले १५ करोडको लागतमा अत्याधुनिक बिउबिजन भण्डारण गृह निर्माण गरेको छ । हालसम्म ५ सय मेट्रिक टन मात्र भण्डारण क्षमताको गोदाम घरबाट काम चलाइरहेको कम्पनीले २ हजार ५ सय मेट्रिक टन बिउ भण्डारण गर्न सक्ने क्षमताको अत्याधुनिक प्रशोधन तथा गोदाम घर निर्माण गरेको हो ।
बिउ प्रशोधन गृह र गोदाम सँगै कम्पनीले प्रति घण्टा ५ मेट्रिक टन बिउ प्रसोधन गर्न सक्ने अटोमेटिक प्रशोधन मेसिन समेत जडान गरेको जनाएको छ । कम्पनीले साना तथा मझौला किसान आयस्तर बृद्धि आयोजनाको सहयोगमा बिउ उत्पादन, भण्डारण र बजारीकरण उपआयोजना मार्फत सो गोदाम र मेसीन जडान गरेको जनाएको छ ।
कम्पनीको गोदाम घरमा शुक्रबार आयोजित उपआयोजनाको अन्तिम सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै बिउ बिजन कम्पनीका प्रबन्धक रामराज हरिजनले बिउ भण्डारण सम्बन्धी यस क्षेत्रका किसानको समस्या अन्त भएको बताए । बिउबिजन कम्पनीले अहिलेसम्म १० वटा कृषि सहकारी र किसान समुहहरुसँग सहकार्य गरेर बिउ उपादन र प्रसोधन गर्दै आएकोमा अब गोदामको क्षमता बढे सँगै बिउ उत्पादन सहकारीहरुको संख्या पनि बृद्धि गर्ने बताए ।
साना तथा मझौला किसान आयस्तर बृद्धि आयोजनाको सहयोगमा २०७३ मा सुरु गरिएको आयोजनामा बिउ प्रशोधन गृह, ३ वटा बिउ भण्डारण गोदाम र बिउ प्रशोधन कारखाना जडान गरि कार्य समपन्न भएको सार्वजनिक सुनवाइको अध्यक्षता गरेको कम्पनीका प्रबन्धक हरिजनले बताए ।
अत्याधुनिक प्रविधिले बनाइएको प्रशोधन गृह, गोदाम र बिउ प्रशोधन कारखानाबाट जिल्लाका सरदर ३ सय बढी बिउ उत्पादक सेवाग्राही लाभान्वित हुने कार्यक्रममा बताइएको छ । सुनवाई कार्यक्रममा बोल्दै राष्ट्रिय बिउ बिजन कम्पनीका प्रबन्धक हरिजनले साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको सहयोगमा १५ करोड ६४ लाख ७६ हजार ७ सय ९९ रुपिया बराबरको लागतमा उपआयोजना सम्पन्न भएकोमा राष्ट्रिय बिउ बिजन कम्पनीले १२ करोड ६४ लाख ८१ हजार ९ सय २४ रुपैयाँ व्यहोरेको छ भने २ करोड ९९ लाख ९४ हजार ८ सय ७४ रुपिया साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले सहयोग गरेको बताए ।
राष्ट्रिय बिउ बिजन कम्पनीका प्रबन्धक रामराज हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाका जिल्ला अनुगमन अधिकृत घिमिरले कार्यक्रमको सहजीकरण गरेकी थिइन् । कृषि ज्ञान केन्द्र बाँकेका अनिल कुमार मिश्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृषि सामग्री लिमिटेडका प्रतिनिधि रमेश कुमार पौडेल, बिउ बिजन प्रयोगशाला कार्यालय बाँकेका नन्द किशोर चौधरी वडा सदस्य दिगबिजय ढुंगाना लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।