भारतीय गृहमन्त्रीको सुरक्षा चासो

भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले नेपालगन्जसँग जोडिएको सीमावर्ती रुपैडिहा नाका नजिक सोमबार एकीकृत भन्सार जाँच चौकीको निर्माण शुभारम्भ (शिलान्यास) कार्यक्रममा सुरक्षाको विषयलाई प्रमुख प्राथमिकतामा राखेका छन् ।

 
तेस्रो पटक नेपालगन्ज नाका आइपुगेका भारत सरकारका प्रभावशाली मन्त्री सिंहले अझैपनि पाकिस्तानी नेपालको भूमि दुरुपयोग गर्दै भारत विरुद्ध अवैध हर्कत गर्दै आएको संकेत मात्र होइन प्रष्टसँग भने, ‘सबै छिमेकी राष्ट्रसँग हाम्रो असाध्यै राम्रो सम्बन्ध छ तर, पाकिस्तान आफ्नो हर्कतबाट सुध्रन चाहेन ।’ उनले १५ हजार किलोमिटर भारतीय सीमा नाकासँग जोडिएका नेपाल, अफगानिस्तान, पाकिस्तान, बंगलादेश, म्यानमार र भुटान मध्ये पाकिस्तानले मात्रै मित्रवत व्यवहार गर्न नसकेको प्रसंग उठाउँदै भने, ‘बाँकी देशसँग हाम्रो अत्यन्तै मधुर र मित्रवत सम्बन्ध छ ।’

 
भारतले पाकिस्तानलाई पहिलो पटक मोदी सरकारका पालामा एक गोलीको जवाफ सयौं गोलीले फर्काउन आफ्ना सेनालाई छुट दिएको प्रसंग राख्दै भने, ‘जम्मु कश्मिरमा भारतीय सेनामाथि गोली चलाउने पाकिस्तानी हर्कतलाई हाम्रा सेनाले समयमै तह लगाउँदै आएका छन् ।’ गृहमन्त्री सिंहले भारतीय सुरक्षा विरुद्ध नेपालमा पाकिस्तानले गर्ने षडयन्त्र विरुद्ध आइसीपीका कारण न्यूनीकरण हुँदै जाने तर्क पनि गरेका छन् ।


गृहमन्त्री बनेपछि पहिलो पटक नेपालसँगको उत्तर–पश्चिमको नाकालाई नजिकबाट नियालेका केन्द्रीय गृहमन्त्री सिंहले सुरक्षा व्यवस्थालाई नेपाली सुरक्षाकर्मीसँगको समन्वयमा प्रभावकारी बनाउन निर्देशन दिएका थिए । यूपी र बहराइचका स्थानीय अधिकारीहरुसँग संक्षिप्त भेटघाट गरेको मन्त्री सिंहले मुख्य रुपमा सुरक्षालाई नै आफ्नो चासोको विषय बनाएको पत्रकार एसके मधेशीयाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया