उद्योगी भेट्दै सांसद गहतराज

नीतिगत बाधा फुकाउन सहजीकरण गर्ने प्रतिबद्धता
बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले नियमित रुपले उद्योगको अवस्था अध्ययन र उद्योगपतिहरुसँग अन्तरक्रियालाई निरन्तरता दिइरहेको बताएका छन् ।

 
‘उद्योग कसरी चलिरहेका छन् भन्ने कुराको जानकारी हुन्छ’, सांसद गहतराजले दैनिक नेपालगन्जसँग भने, ‘जिल्ला आउँदा नियमित रुपमा उद्योग अनुगमनदेखि नीतिगत विषयका छलफल गर्दै आएको छु ।’ ‘गाउँमा किसानहरुसँगको भेटघाटदेखि व्यवसायिक उद्यमीहरुलाई प्रोत्साहन पनि गर्दै आएको छु’, मंगलबार कोहलपुर–नेपालगन्ज सडकखण्डका विभिन्न उद्योगमा पुगेर काठमाडौं फर्किएका सांसद गहतराजले भने, ‘खासगरी नीति निर्माणका आवश्यकता र विद्यमान कानुन संशोधनका तमाम कुराहरु आउने गरेका छन् ।’ आफुले आवश्यकता बोध भएका कानुन र नीति निर्माणका बारेमा लबिङ पनि गर्ने सांसद गहतराजको भनाइ छ ।

 
मंगलबार केएल दुगडको उद्योग परिसरदेखि उत्पादन प्रक्रियासम्मको जायजा लिएका सांसद गहतराजले खाद्य उद्योगका ल्याबसम्म हेर्न भ्याएका थिए । ‘हाम्रा सबै उत्पादनहरुलाई नजिकबाट नियाल्ने र प्रत्रियाहरुबारे जानकारी लिनुभयो’, सांसद गहतराजको चासोबारे दुगड ग्रुपका महाप्रबन्धक प्रदिप छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘नियमित चासो राख्ने र समस्या समस्या समाधानमा सहजीकरणका लागि जनप्रतिनिधिको भूमिका रहनु सकारात्मक कुरा हो ।’

 
उद्योगपति छाजेडका अनुसार, नेपालका धेरै नीतिगत समस्याले उद्योग सञ्चालनमा चुनौतिहरु थपिएका छन् । ‘निर्यातमूखि नीति छैन’, छाजेडले भने, ‘खरिद ऐन अव्यवहारिक हुँदा क्षमताभन्दा सस्तो हेर्ने प्रक्रियाले सबैतिर डामाडोल पारेको छ ।’ उद्योगपति छाजेडले सांसद गहतराजसँग उद्योगधन्दा सञ्चालनका लागि एकीकृत कानुनको आवश्यकतामा जोड दिएको जानकारी दिए ।

 
‘एउटा उद्योगका लागि १० वटा कानुन आकर्षित हुनु भएन’, उद्योगपति छाजेडले कानुनी झन्झटका कारण निरन्तर सन्त्रस्त रहनुपरेको प्रसंग उठाउँदै भने, ‘एउटा उद्योग चलाउँदा कुन–कुन कानुन आकर्षित हुने भन्ने कुरा प्रष्ट हुनुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया