परम्परागत खाद्य वस्तुलाई प्रवद्र्धन गर्न नेपालगन्जमा खाद्य मेला आयोजना गरिने भएको छ । आगामी मंसिर २८ देखि पुस १ गतेसम्म खाद्य मेला २०७५ सञ्चालन गरिने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले बर्षेनी आयोजना गर्दै आएको खाद्य मेलाको यो तेस्रो संस्करण हो । गतबर्ष दाङको लमहीमा आयोजना गरिएको खाद्य मेला त्यसअघिल्लो बर्ष नेपालगन्जमा गरिएको थियो ।
‘परम्परागत पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रर्वद्धन गरौं असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने मुल नाराका साथ खाद्य मेला आयोजना गर्न लागिएको आयोजना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जकी प्रमुख जोत्सना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार, मेलामा विभिन्न खाद्य वस्तु सहितको ६० वटा स्टल राखिनेछन् ।
‘क्षेत्रीय स्तरमा हिमालदेखि तराई, मधेसम्मका खाद्य वस्तुहरु प्रदर्शनीमा राखिनेछन्’, श्रेष्ठले पत्रकारहरुसँग भनिन्, ‘परम्परागत खाद्य वस्तुको प्रवद्र्धनका लागि उत्पादनदेखि उपभोगमा प्रोत्साहन गर्ने मेलाको उद्देश्य हो ।’ मेलामा बजार मूल्य भन्दा सहुलियतमा खरिद, बिक्रीको सुनिश्चितता पनि गरिने श्रेष्ठले जानकारी दिइन् ।
निःशुल्क प्रवेश व्यवस्था मिलाइएको मेलाका स्टलमा विभिन्न जातजाती हरुको मौलिक परम्परागत पोषणयुक्त खाद्य पर्दाथको स्टल, स्थानीय उद्योगहरुबाट उत्पादित खाद्य पदार्थहरुको प्रदर्शनी तथा विक्री स्टल हुनेछन् । मेलामा विभिन्न विधामा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत समेत गरिने कार्यालयले जनाएको छ । विभिन्न जात जातीहरुको मौलिक पहिरन सहितका झाँकीहरुको प्रदर्शनी र प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिता सहितको साँस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ । नृत्य प्रतियोगितामा उत्कृष्ट सहभागीलाई पुरस्कृत गरिने जनाइएको छ । ‘समग्रमा यो आयोजनाले उद्योगीहरुलाई उत्पादनका लागि पनि प्रेरित गर्नेछ’, खाद्य निरीक्षक विनोद श्रीवास्तवले भने ।