सकियो महासंघको अधिवेशन, शालिक अध्यक्षमा सर्वसम्मत

पुस्तक नीतिका लागि दबाब बढाइँदै
मुलुकमा पुस्तक नीति नहुँदा चौतर्फी बेथिति बढेको भन्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले दबाब बढाउने भएको छ । सरोकारवालाहरुसँग निरन्तर छलफल, बहस भैरहेको जानकारी दिंदै महासंघका अध्यक्ष हरि अर्यालले पुस्तक नीतिका लागि दबाब बढाउन लागिएको जानकारी दिए ।


शनिबार नेपालगन्जमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके शाखाको १२औं बार्षिकसाधारणसभा तथा छैठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष अर्यालले युग सुहाउँदो शिक्षा नीति र मुलुक सुहाउँदो पुस्तक नीतिमा जोड दिए । ‘शैक्षिक सत्रसँगै विद्यार्थीका हातमा पुस्तक पुग्ने वातावरणको सुनिश्चितता त्यतिबेला मात्र सम्भव छ जतिबेला पुस्तक नीति कार्यान्वयनमा आउँछ’, अध्यक्ष अर्यालले त्यसका लागि महासंघले निरन्तर पहल गरिरहेको जनाउ दिंदै भने, ‘प्रकाशकहरुसँग पनि अस्वस्थ प्रतिस्पर्धा रोक्न, मूल्य घटाउन आवश्यक समन्वय गरिरहेका छौं ।’
महासंघ बाँकेका अध्यक्ष बुद्धि प्रसाद अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रभात सुवेदी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख प्रकाश पौडेल, एन प्याब्सन नेपालगन्जका अध्यक्ष कृष्ण जिसी, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, जनक शिक्षा सामाग्री केन्द्रका क्षेत्रीय प्रमुख रविन्द्र शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा व्यवसायिक क्षेत्रमा योगदान पुर्याएका वरिष्ठ व्यवसायी रामप्रसाद गौतम, कोहलपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेन्द्र शर्मा लगायतलाई सम्मान पनि गरिएको थियो । अध्यक्ष अधिकारी, प्रमुख अतिथि अर्याल, संस्थापक अध्यक्ष बसन्त लामिछाने, पूर्व अध्यक्ष नारायण ज्ञवाली, हेमराज पौडेल लगायतले सम्मानित व्यक्तित्वहरुलाई कदर पत्र, दोसल्ला, फुलमाला अबिरले सम्मानित गरेका हुन् ।


ब्यवसायिक सरक्षंण तथा सांगठनिक सशतिmकरण हाम्रो अभियान भन्ने मूल नाराका साथ गरिएको बार्षिक साधारणसभासँगै छैठौं जिल्ला अधिवेशनले शनिबार नै शालिक सुवेदीको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिमा मन्दिरा पाण्डे प्रथम उपाध्यक्ष, सागर ज्ञवाली द्वितीय उपाध्यक्ष, प्रदिप सापकोटा सचिव, मिना डाँगी कोषाध्यक्ष र मन बहादुर केसी सहसचिव छन् ।
सर्वसम्मत गरिएको कार्यसमितिमा श्रीमन पौडेल, प्रकाश श्रेष्ठ, मोहन बहादुर चन्द, सुरज सिंह ठकुरी, कृष्ण थापा, मोतिप्रसाद सुवेदी, मनोहर रेग्मी, निर्मला हमाल र ज्ञानेन्द्र श्रेष्ठ सदस्य निर्वाचित भएका छन् । निर्वाचित हुने सदस्यहरुमा टिकाराम खत्री, तिलक बहादुर केसी, सविन लुइँटेल, अर्जुन सुवेदी र देविरमण कंडेल रहेको महासंघ बाँकेका संस्थापक अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयन प्रक्रियामा पूर्व अध्यक्ष सहितका अग्रजहरुले समझदारी जुटाएका हुन् । अन्य पदमा सजिलै गरी सहमति जुटेपनि सचिव र कोषाध्यक्षमा एक भन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियाका लागि अधिवक्ता धु्रव वस्याल, वरिष्ठ व्यवसायी मुकुट ढकाल लगायतको कसरत चल्दै गर्दा अग्रजहरुले ती पदमा समेत सर्वसम्मत गर्न सफल भएका थिए ।

अग्रजकै दिशा निर्देश


तमाम चुनौति बीच पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका शालिक सुवेदीले अग्रजहरुकै मार्ग निर्देशनमा आफु अगाडि बढ्ने बताएका छन् । निर्वाचित भए लगत्तै दैनिक नेपालगन्जसँग संक्षिप्त प्रतिक्रिया दिंदै निजी विद्यालयका पुस्तकहरुको ‘बुकलिष्ट’ प्राप्तिका लागि स्थानीय तहसँगै सहकार्य गरेर अगाडि बढ्ने कुरालाई प्राथमिकतामा राख्ने बताए ।
‘व्यवसायिक हकहितका लागि गर्न सकिने तमाम विषय मेरो प्राथमिकतामा छन्’, सामाजिक उत्तरदायित्व समेत बोकेको संस्था भएकाले महासंघलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष सुवेदीले भने, ‘प्रविधिमैत्री महासंघको कार्यालयदेखि व्यवसायीलाई कर प्रशिक्षणसम्मका कार्ययोजना बनाउने छु ।’ महासंघको स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका सुवेदीले नेतृत्वसम्म पुग्दासम्म एक दशक बढीको समय व्यवसायिक हकहितमै समर्पित गरेको उच्च मूल्यांकन गर्दै सर्वसम्मत नेतृत्व पाएको धारणा राख्दै अध्यक्ष सुवेदीले भने, ‘यो विश्वास र भरोसालाई कायमै राखेर महासंघलाई नयाँ उचाई दिनेछु ।’
हरेक दिन व्यवसायिक चुनौति थपिंदै गएको प्रति आफु सचेत रहेको भन्दै सुवेदीले त्यसका आधारमा अवसर प्राप्तिका लागि व्यवसायीहरु तत्पर हुनुपर्ने बताए । ‘ठूला लगानी र सामूहिक लगानीका संस्थाहरु तयार भैरहेका छन्’, अध्यक्ष सुवेदीले भने, ‘स–साना व्यवसायीका लगानीदेखि ठूलाठूला लगानीलाई सुरक्षित ढंगले व्यवसायिक प्रगति अबको दिशा हो ।’

प्रतिक्रिया

प्रतिक्रिया