नेपालगन्ज उद्योग वाणिज्य संघले जडिबुटी निकासीमा लिंदै आएको सर्टिफिकेट अफ ओरिजनको थप ५ प्रतिशत शुल्क कटौती गर्ने निर्णय गरेको हो
जडिबुटी निकासीका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले लिंदै आएको अतिरिक्त ५ प्रतिशत शुल्क कटौती गर्ने भएको छ । संघले जडिबुटी व्यवसायीलाई निकासीका लागि आवश्यक ‘सर्टिफिकेट अफ ओरिजन’ वापत लिंदै आएको ५ प्रतिशत अतिरिक्त शुल्क नलिने निर्णय गरेको हो ।
‘झण्डै २० बर्षदेखि लिइँदै आएको शुल्क अबदेखि नलिने निर्णय भएको छ’, मंगलबार बसेको संघको कार्यसमिति बैठकले उक्त निर्णय गरेको जानकारी दिंदै अध्यक्ष नन्दलाल वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘व्यवसायीहरुले झण्डै १५ बर्षदेखि अतिरिक्त शुल्क हटाउन माग गर्दै आएका थिए ।’ संघको यो निर्णयले संघको नियमित स्रोतमा कम्तिमा ४० हजार प्रतिमहिना ह्रास आउने बताइएको छ । यद्यपि, अध्यक्ष वैश्यले मूल्य समायोजन भैसकेकाले खासै ठूलो नोक्सानी नहुने दाबी गरे ।
जडिबुटी निकासीका लागि सर्टिफिकेट अफ ओरिजनको अधिकार सरकारले यस क्षेत्रका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलाई दिएको छ । ‘नियमित शुल्कमा कटौती गरिएको होइन’, अध्यक्ष वैश्यले अतिरिक्त ५ प्रतिशत संघको भवनका लागि लिइँदै आएको रकम नलिने निर्णय गरिएको जानकारी दिंदै भने, ‘संघको आफ्नै भवन बनेको पनि निकै बर्ष भैसकेकाले त्यो रकम लिइरहनु न्यायोचित थिएन ।’ संघले जडिबुटी निकासीमा प्रतिसयमा १७ पैसा लिंदै आएको अबदेखि १२ पैसा मात्रै लिनेछ । उक्त रकम मध्ये ६ पैसा उद्योग वाणिज्य महासंघमा जाने अध्यक्ष वैश्यले जानकारी दिए ।
यसअघि ६ पैसा महासंघमा पठाउने संघले ११ पैसा आफैले राख्दै आएको थियो । ‘थोरै भएपछि निकासीमा प्रोत्साहनको उद्देश्यले यो निर्णय गरिएको हो,’ अध्यक्ष वैश्यले निकासीका लागि सरकारले पनि प्रोत्साहनको नीति अघि सारोस् भन्ने आफ्नो उद्देश्य रहेको बताए ।
संघको मंगलबार बसेको बैठकले गत माघको दोस्रो साता भएको प्रादेशिक महोत्सवको आर्थिक हिसासकिताब अनुमोदन गरेको छ । सम्बद्ध स्रोतका अनुसार, संघले ५९ लाख बचत गर्न सफल भएको र उक्त रकमबाट बहुउद्देश्यीय सभा हल तथा प्रदर्शनी निर्माण स्थलमा पर्खाल लगाउने निर्णय गरेको छ । ‘यसको सम्पूर्ण विवरण छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ’, अध्यक्ष वैश्यले आर्थिक विवरण अनुमोदन भैसकेको जानकारी दिंदै भने, ‘विस्तृत विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछौं ।’
त्यस्तै, कारकाँदो चोकमा निर्माण गर्ने भनिएको घण्टाघर सहितको उद्योग स्तम्भका लागि आइपरेका बाधा व्यवधानबारे अध्ययन गरी सामान गर्ने निर्णय पनि गरिएको संघले जनाएको छ । ‘छिटो भन्दा छिटो घण्टाघर सहितको उद्योग स्तम्भ बनाउने कुरामा संघ तत्पर छ’, अध्यक्ष वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘त्यसबाहेक त्रिभुवनचोकलाई सुन्दरीकरण गर्ने कुरामा पनि हाम्रो चासो छ ।’ नेपालगन्ज उपमहानगरपालिकासँग त्रिभुवन चोक पुनर्निर्माणका लागि छलफल गरिने अध्यक्ष वैश्यले बताए ।
पछिल्ला दिनमा स्थानीय तहले बढाएको करको दर र दायराबारे पनि संघले सम्बन्धित निकायसँग छलफल र अन्तरक्रिया गर्ने बैठकबाट निर्णय भएको अध्यक्ष वैश्यले जानकारी दिए । ‘जन्मदेखि मृत्युसम्मका घटनादर्तामा मनपरी कर बढाइएको छ’, अध्यक्ष वैश्यले बैठकमा भएको छलफलबारे भने, ‘यसले उद्योगी, व्यवसायी मात्रै होइन आम जनसाधारणलाई पनि समस्या सिर्जना गरेकाले त्यसबारे नेपालगन्ज उपमहानगरपालिकासँग छिट्टै डेलिकेशन जाँदैछौं ।’ व्यवसायी करबारे निरन्तर छलफलपछि निकास निकालेको संघले घटना दर्ता लगायतका करबारे पनि सुधार हुनेमा विश्वस्त रहेको अध्यक्ष वैश्यले बताए ।