नेपालगन्जस्थित आदर्श माविले आफ्नो २० औं बार्षिकोत्सब र अभिभावक दिवस शनिवार विभिन्न कार्यक्रम गरि मनाएको छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमबीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले वार्षिकोत्सव उद्घाटन गरे ।
त्यसक्रममा नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका निजी विद्यालयहरुलाई उत्कृष्ट बनाउन निरन्तर अनुगमन गरिरहेको बताए ।
विद्यालयका एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई सधैं उत्कृष्ट स्थानमा राख्न दत्तचित्त भएर लागेको बताए । विद्यालयका संस्थापक समेत रहेका लामिछानेले किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापसंगै जीवनोपयोगी शिक्षा र सीपमा पनि विद्यार्थीहरुलाई अग्रसर गराइरहेको बताए ।
अध्यक्ष थापाले विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार विद्यालय अघि बढिरहेको उल्लेख गर्दै गुणस्तरीय र व्यहारिक शिक्षा प्रदान गर्ने कुरामा कुनै कम्प्रमाइज नहुने स्पष्ट पारेका थिए ।
आदर्शका प्राचार्य विरभान केसीले विद्यालयलाई अभिभावकहरुका सुझाब र गुनासाहरुको हमेशा खाँचो पर्ने भन्दै स्वस्थ आलोचनाले विद्यालयलाई अझ अघि बढ्न प्रेरणा मिल्ने वताए ।
विद्यालयका सह–प्राचार्य टंक गौतमले सञ्चालन गरेको कार्यक्रममा २०७२ सालको भूकम्पमा परी ज्यान गुमाएकी मेधाबी छात्रा अनुराधा अधिकारीको स्मृतिमा स्थापित अनुराधा स्मृति पुरस्कार ‘उत्कृष्ट एसइई छात्रा’ अमिसा सिंहलाई प्रदान गरिएको थियो ।
स्वर्गीय अधिकारीका बुवा ध्रुब अधिकारीले अमिसाका बुवा अजितकुमार सिंहलाई पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा अभिभावक अजितकुमार सिंह, छात्र प्रतिक भण्डारी र छात्रा तनिशा थापाले पनि मन्तब्य व्यक्त गरेका थिए ।
वार्षिकोत्सव कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामूहिक नृत्य, सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न फुड स्टलहरु राखेर फुड फेष्टिबलको आयोजना पनि गरेका थिए ।
अभिभावक दिवससमेतको अवसर पारेर विद्यार्थीहरुले रक्तदान गरेका छन् । विद्यालयमै रक्तदानको आयोजना गरिंदा पहिलो पटक रक्तदान गर्नेहरुको आकर्षण राम्रो थियो । रक्त सञ्चार केन्द्रका प्राविधिक टोली त्यसका लागि विद्यालयमै पुगेको हो । त्यसका लागि विद्यार्थीहरुलाई मोटिभेसन गरिएको विद्यालयका सह–प्राचार्य गौतमले जानकारी दिए ।