प्रज्ञालयमा कृष्णजन्माष्टमी उत्सव

मेरो टुकी प्रज्ञालयमा शुक्रवार कृष्ण जन्माष्टमी उत्सव मनाइएको छ । उत्सवमा सहभागी हुन आएका बालबालिकाको झिलिमिलिले प्रज्ञालयको वातावरण नै छुट्टै थियो ।

युकेजीमा अध्ययनरत् अधीरा राधाको पोषाक लगाएर स्कुल पुगेपछि मात्र हिजोदेखिको उनको अधीर प्रतीक्षा पूरा भयो । अधीरा जस्तै राधा र कृष्णको भेषभूषामा सजिएर आफ्ना अभिभावकसँग स्कुल पुगेका अरु सबै बालबालिकाको मुहारमा उमंगको चमक थियो ।

जन्माष्टमी उत्सवलाई विद्यालयका शिक्षिकाहरुले सामूहिक स्वस्तिवाचन, शान्तिमन्त्र पाठ गरेर सुरु गराएका थिए । त्यसपछि क्रमैसँग बालबालिकालाई पूजा गराए ।

बालकृष्णको कृष्णलीलाको छोटो नाटक र मखनचोरीको लागि घैंटो समात्ने खेलले उत्सवलाई झनै रोमाञ्चक बनाएको थियो ।

अभिभावकका रुपमा उत्सवमा सहभागी भेरी अस्पतालकी मनोचिकित्सक डा. लीला देवकोटाले ज्ञानसँगै आफ्नो छोरीले संस्कार सिक्न पाउँदा आफू खुसी भएको बताइन् । अर्का अभिभावक, अधिवक्ता पूर्ण ढकालले संस्कृतिमा ह्रास आइरहेको यो समयमा प्रज्ञालयले सांस्कृतिक पर्वहरुलाई महत्व दिएर बालबालिकाको सहभागितामै मनाउने गरेको कुराले आशा जगाएको प्रतिक्रिया दिएको प्रज्ञालयका संस्थापक भोजराज शर्माले जानकारी दिए ।

अभिभावक डा. अभिषेक अर्जेलले पढाइको बोझले बालबालिका स्कुल नै जाननमान्ने आजको परिप्रेक्ष्यमा यस्ता प्रज्ञालयले गर्ने यस्ता उत्सवहरुले सकारात्मकभूमिका खेलेको कार्यक्रममा बताएका थिए ।

प्रज्ञालयका प्रिन्सीपल कल्पना शर्माले बालबालिकालाई गीताको कर्मयोग, संस्कार, वैदिकआदर्श र उमंगको व्यवहारिक शिक्षादिनकृष्ण जन्माष्टमीलाई विशेष पर्वको रुपमा मनाएको बताइन् । उनले सकेसम्म संस्कार र मूल्य सिकाउने पर्व र उत्सवहरु सोही दिन विद्यालयमै आयोजना गर्ने गरिएको बताइन् । प्रज्ञालयले प्रयोगात्मक र पूर्वीय दर्शनमा केन्द्रित विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

शुक्रवार कृष्ण जन्माष्टमीको थिममा झकिझकाउ सजिएको मञ्चमा बालबालिकाले विभिन्न भजन तथा गीतहरुमा नृत्य गरेका थिए । उत्सव समापनमा शान्तिपाठ गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया