ब्रिटिस स्कुलमा सर्प संरक्षण र बाघ संरक्षण तथा वातावरणमा सर्पको योगदान सम्बन्धि विद्यार्थीहरुलाई जानकारीमूलक प्रशिक्षणको आयोजना गरिएको छ । विद्यालयका कक्षा ८ , ९ र १० ईको क्लबका विद्यार्थीलाई एक दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।
प्रशिक्षणमा सर्प नमारौं सर्पको संरक्षण गरौं, सर्पले हाम्रो वातावरण स्वच्छ राख्न साथै वातावरणको पारिस्थितिक प्रणाली सन्तुलन राख्नमा ठुलो भूमिका खेल्ने गर्दछ भनेर सर्पका अनुसन्धानकर्ता कमल देवकोटाले विद्यार्थीहरुलाई जानकारी दिएका थिए । उनले सर्पले बालीनाली खाईदिने मुसाहरू खाएर किसानहरूलाई सहयोग पु¥याउने, सर्पले टोक्दा त्यसको प्रतिविष पनि सर्पको विषले नै बन्ने गरेकाले सर्पको संरक्षण आवश्यक रहेको प्रशिक्षणमा बताइएको थियो ।
‘सर्प पारिस्थितिक पद्धति (इकोसिस्टम) को एउटा अभिन्न अंग हो । यसले यस पृथ्वीमा अन्य जीवजन्तु जत्तिकै महत्व बोकेको हुन्छ । त्यसैले यसको उद्दार वन्यजन्तुसम्बन्धी नीति–नियमका साथै प्रकृतिको पनि नियममा बसेर गर्नुपर्छ,’ प्रशिक्षणमा विद्यार्थीहरुलाई जानकारी दिइयो, ‘सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई नियमित जीवनयापनमा सहज हुन्छ । अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु हँुदैन । सर्प वा अजिंगरलाई उद्दार गर्न त्यससम्बन्धी प्राविधिक ज्ञान रहेको विज्ञ चाहिन्छ ।’
त्यस्तै, प्रशिक्षणमा सम्बन्धित निकायले नै सर्पको उद्दार गर्नुपर्ने, तत्कालै उद्दार गर्नुपरेमा उद्दार गरिसकेपछि सम्बन्धित निकायलाई बुझाउनुपर्ने बताइएको थियो ।
‘सर्प देख्नेबित्तिकै नमारौ र सर्पहरूमा पेट्रोल, मट्टीतेल जस्तो पदार्थहरू नहालौ किनभने यी पदार्थहरूको प्रयोगले सर्पहरूको मृत्युु समेत हुने गर्दछ । घरभित्र सर्प पसेमा उद्दार टोलीलाई जानकारी दिने वा जिल्ला बन डिभिजनलाई जानकारी दिनु पर्छ’, कार्यक्रममा सर्प संरक्षणका उपाय विद्यार्थीलाई जानकारी दिंदै प्रशिक्षकले भने । विद्यार्थीहरुलाई देवकोटाले जानकारी दिएका थिए र विद्यार्थीहरुलाई संरक्षणकर्मी दिप शाही र आशिष् चौधरीले बाघ संरक्षण तथा बाताबरण संरक्षण राष्ट्रिय निकुञ्जको महत्त्व रुख जनावरको महत्वको बारेमा जानकारी दिएका थिए ।
ईको क्लबका अध्यक्ष रमेश ओलीले यस्ता कार्यक्रमले हामीलाई नयाँ नयाँ ज्ञान हुने बताए । उनले भने, ‘सबै सर्प बिषालु हुदैन रहेछ भन्ने थाहा पाइयो ।’ लुम्बिनी प्रदेश तालिम केन्द्रको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई सर्प सम्बन्धि जानकारी दिन आएको बेला सर्प अनुसन्धानकर्मी कमल देवकोटाले विद्यालयमै आई विद्यार्थीहरुलाई निकै उत्कृष्ट तरिकाले सर्प सम्बन्धि जानकारी दिएको विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफलेले जानकारी दिए ।