बाँकेको खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । प्रदेश नं. ५ की भूमि व्यस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शनिवार भब्य समारोहमा गाउँपालिका साक्षर भएको घोषणा गरेकी हुन् । बाँकेमा रहेका ६ वटा गाउँपालिकामा खजुरा पहिलो गाउँपालिका हो, जुन साक्षर घोषणा भएको हो । बाँके १ उपमहानगर र १ नगरपालिका छ । जसमा कोहलपुर नगरपालिका यसअघि नै साक्षर घोषणा भएको छ ।
खजुरा गाउँपालिकामा रहेका ८ वटै वडामा १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ९६ दशमलव ९९ प्रतिशत मानिस साक्षर रहेकाले खजुरा गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर खजुरा गाउँपालिका घोषणा गर्दै मन्त्री पौडेलले बाँके र कपिलवस्तु साक्षर भएपछि प्रदेश नं. ५ लाई साक्षर घोषणा गरिने जानकारी दिएकी छन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले साक्षर घोषित खजुरालाई २५ लाख पुरस्कारको घोषणा गरे । यसअघि कोहलपुर नगरपालिकाले आफुलाई जिल्लामैं पहिलो साक्षर पालिका घोषणा गरेको थियो । जिससबाट कोहलपुरले ५० लाख पुरस्कार प्राप्त गरेको छ । खजुरा साक्षर घोषित बाँकेको दोस्रो पालिका हो ।
खजुरा गाउँपालिका साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले १५ वर्षदेखि ६० वर्षसम्मका ३८ हजार ९०१ जनसंख्या रहेकोमा ३७ हजार ८१६ जना मानिस साक्षर रहेको जानकारी दिए । ‘अब पूर्ण साक्षर बनाउन अगाडि बढ्ने योजनामा पालिका अग्रसर छ,’ कक्षपतिले भने, ‘शिक्षाको मूलगेट खोल्ने काम साक्षरताले गर्छ ।’
३० वटा सामुदायिक, १७ मदरसा, १८ संस्थागत विद्यालय गरी ६५ विद्यालय, १ सामुदायिक क्याम्पस, १ निजी क्याम्पस २ वटा प्राविधिक धारका नमूना विद्यालय संचालन भइरहेको खजुरामा निकट भविष्यमा विएससीएजीको पढाई हुने पालिकाको योजना छ । ‘विभिन्न तहमा अध्ययन गर्ने करीब १७ हजार ८४९ विद्यार्थी रहेको खजुरा क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्ने सोंचका साथ अगाडी बढेका छौं,’ गाउँपालिका प्रमुख कक्षपतिले भने ।
खजुरा गाउँपालिकाको समृद्धिको आधार ः हामी सबै शिक्षित भई पारौं साकार भन्ने मूल नाराका साथ घोषणा भएको कार्यक्रममा शिक्षा समिति सदस्य भक्तबहादुर केसीले सोंच र चिन्तनमा परिवर्तन गर्न जरुरी रहेको बताए । केसीले साक्षर अभियानले सामुदायिक सार्वजनिक क्षेत्रमा काम गर्न सहज हुने उल्लेख गरे । उपप्रमुख एकमाया विकले स्वागत गरेको कार्यक्रममा सबै वडाका वडाध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
खजुरामा वृक्षरोपण अभियान
खजुरा गाउँपालिकाले २ हजार विरुवा लगाउने भएको छ । सरकारले स्वर्गीय मदन भण्डारीको जन्म दिनको अवसर पारेर असार १४ लाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने निर्णय कार्यान्वयन गर्दै खजुराले २ हजार विरुवा लगाउने भएको हो ।
शनिवार राष्ट्रिय वृक्षरोपण दिवसको दिन पारेर प्रशासनिक भवन निर्माणाधीन खजुरा–३ बि गाउँमा वृक्षरोपण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विकलगायतको वृक्षरोपण शुभारम्भ गरे ।
राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकामा रोजगारमा सहभागीले सहयोग गरेको खजुरा गाउँपालिका विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्यायले जानकारी थिए । ‘पालिका भरि २ हजार विरुवा रोपिनेछ,’ पालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्ज सँग भने, ‘खासगरि, अभियानको प्रारम्भमा ८ वटै वडामा वृक्षरोपण गरिनेछ ।’











