प्रेम प्रकाश मल्ल स्मृति सम्मानबाट मनोहर लामिछाने सम्मानित

मध्यपश्चिम स्रष्टा सम्मान २०८० वरिष्ठ कवि एवं निबन्धकार हरिहर अधिकारी ‘श्यामल’ लाई प्रदान गरिएको छ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आफ्नो वार्षिक साधारण सभामा उक्त सम्मान श्यामललाई प्रदान गरेको हो ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्को शनिवार राजधानी काठमाडौंमा आयोजित सातौँ साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्यामललाई उक्त सम्मान प्रदान गरिन् ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले श्यामलसहित विभिन्न विधाका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गरेको छ । सोही सम्मानबाट साहित्यकार बलदेव शर्मा ‘मजगैया’ र प्राडा मीनबहादुर बिष्टसमेत सम्मानित भएका छन् ।

लोकेन्द्र शाह स्मृति सम्मान २०८० बाट कवि तथा कथाकार अम्मर शाह, कालीदास जोशी स्मृति सम्मानबाट कवि तथा समालोचक डा दीपक गौतम, प्रेम प्रकाश मल्ल स्मृति सम्मानबाट कवि तथा लोक सहित्य अन्वेषक मनोहर लामिछाने, इन्द्रमणि मानव स्मृति सम्मानबाट कवि तथा लोकसंस्कृति अन्वेषक मोतिराज बम सम्मानित भएका छन् ।

कार्यक्रममा कृष्णसेन इच्छुक स्मृति सम्मान प्रा डा गोपीन्द्र पौडेल, नेत्रलाल अभागी स्मृति सम्मान वरिष्ठ साहित्यकार गिरीराज शर्मा, योगी नरहरिनाथ स्मृति वाङ्मय पुरस्कार र हरिप्रसाद मानकुमारी उपाध्याय स्मृति पुरस्कार विशिष्ट वाङ्मय साधक प्राडा चुडामणि बन्धुलाई प्रदान गरिएको थियो । त्यस्तै संस्थापक सम्मानबाट मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँका संस्थापक अध्यक्ष प्रा. डा. केशव सुवेदी सम्मानित भएको मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया