कुम्भकार माटोका भाँडा बनाउन व्यस्त

जिल्लाको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोई माटो मुस्छन् त कोई माटोका भाँडा बनाउने काममा व्यस्त हुन्छन् । चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूकाे उद्देश्य हो । इनरुवा, लौकही, हरिपुरलगायत स्थानका कुम्भकारले दिपावली तथा छठलाई लक्षित गरी माटोका भाँडा बनाउन थालेका स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो । उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी माटोका घैला, दियो, पालासहितका विभिन्न भाँडाकुँडा बनाउने काममा व्यस्त बनेका छन् ।

भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने भएकाले दुई हप्ता अगाडिदेखि नै माटोको जोहो गर्नुपर्ने उहाँको भनाइ थियो । एक महिना अघिसम्म विभिन्न समस्याले माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो भएको स्थानीय देवनारायण पण्डितले बताउनुभयो । नजिकमा माटो नपाइने भएकाले टाढाबाट किनेर ल्याइएको बताउँदै अहिले भाँडा, पाला तथा अन्य सामग्री बनाउन हतार भइरहेको उहाँको भनाइ थियो ।

दिपावली तथा छठ पर्वमा चौमुखे दियो, पाला, कलशालगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितले बताउनुभयो । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांशको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले अहिले यो काममा बढी व्यस्त भएको उहाँले बताउनुभयो ।

पर्वलाई लक्षित गरी केही दिन अघिदेखि भाँडा बनाउन थालिएको बताउँदै समय कम भएकाले बजारको माग पूरा गर्न निकै चुनौती रहेको कुम्भकार समुदायका नेता ज्ञानदेव पण्डितले बताउनुभयो । कुमाले समुदायको पेसालाई सरकारले संरक्षण गर्नका लागि ध्यान दिनु आवश्यक रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया