नेपालगन्ज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थलको स्तरोन्नती र यहाँबाट दिल्ली उडानका लागि भइरहेको पहललाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन् ।
प्रतिनिधि सभा सदस्य पूर्ण कुमारी सुवेदीले पछिल्लो भ्रमणका क्रममा पर्यटन मन्त्री भट्टराईको वार्षिक कार्ययोजनाका १४० प्राथमिकतामा नेपालगन्ज– दिल्ली उडान र विमानस्थल स्तरोन्नतीको निरन्तरतालाई नपारेको भन्दै जिल्लावासीका गुनासो मन्त्री भट्टराईसमक्ष पु¥याएकी हुन् । ‘धेरै कुरा भएका छन्, मेरा कुराहरुलाई ध्यानपुर्वक टिपोट गरेर अन्तिम कार्ययोजनाका किताबमा समेटिने प्रतिबद्धता जनाउनु भएको छ,’ मन्त्री भट्टराईसँगको भेटपछि संसदीय समितिका सभापतिसमेत रहेकी सत्तारुढ नेकपा बाँकेकी सह–इन्चार्ज सुवेदीले दैनिक नेपालगन्जसँग भनिन्, ‘मलाई विश्वास छ, मन्त्री भट्टराईले आफ्नो प्रतिबद्धता पुरा गर्नुहुनेछ ।’
आफ्नो निर्वाचन क्षेत्र बाँके पुग्दा राँझा स्थित नेपालगन्ज विमानस्थलको स्तरोन्नती र विकासको बुँदा मन्त्री भट्टराईले नसमेटेको गुनासो आएपछि सांसद सुवेदीले उक्त पहल लिएको बताइन् । ‘बाँकेका ब्यवसायी र राजनीतिक दलका नेताहरुसंगको छलफलका क्रममा नेपालगन्ज– दिल्ली उडानको विषय निकै प्राथमिकतामा उठ्यो, यो विषय मन्त्री भट्टराईसँग तत्काल भेट गरें,’ सांसद सुवेदीले भनिन्, ‘त्यससंगै नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी, दैलेखको ज्वालामाई, सुर्खेतको देउती बज्यै लगायत पश्चिम क्षेत्रका धार्मिक क्षेत्रलाई काठमाडौंको पशुपतिनाथसंग जोडेर धार्मिक पर्यटन कोरिडोर विकासका लागि पनि ध्यानाकर्षण गराएको छु ।’
‘नेपालगन्ज विमानस्थल मानसरोवर जाने पर्यटकका लागि मुख्य ट्रान्जिट भएका कारण नेपालगन्ज विमानस्थल देखि दिल्ली उडानका लागि विशेष ध्यान दिन जोड दिइएको छ,’ सांसद सुवेदीले मन्त्री भट्टराईसँगको औपचारिक भेटवार्ताले सकारात्मक परिणम दिने कुरामा आशावादी रहेको प्रतिक्रिया दिंदै भनिन्, ‘यी कुराहरुमा म निरन्तर फलोअप पनि गर्नेछु ।’ त्यसक्रममा प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरसँग जोडिएर भैरहेका पछिल्ला चर्चाबारे मन्त्री भट्टराईले चासो राखेका थिए । यसैसाता गृहजिल्ला बाँके आएकी सांसद सुवेदीले विकासका लागि नागरिक सरोकार समितिको आयोजनामा भएको सर्व पक्षीय अन्तक्र्रियामा उठेका विभिन्न गुनासाका क्रममा विकासका लागि आवश्यक पहल लिने प्रतिबद्धता जनाएकी थिइन् ।