नेपालगन्ज -पतिको दीर्घायु तथा अखण्ड सौभाग्य प्राप्तिको विश्वास सहित बिहीबार करवा चौथ मनाइएको छ । करवा चौथ सनातन हिन्दू धर्मावलम्बीहरूको एउटा प्रमुख पर्व हो । विशेष गरी नेपालको तराई क्षेत्रका करवा चौथ मनाइने गरिन्छ ।
कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइने यो पर्व विशेष गरी स्त्रीहरूले व्रत बसेर भगवान गणेशको पुजाआजा गरी मनाउने गर्दछन् । कार्तिक महिनाको कृष्णपक्षमा पर्ने चन्द्रोदयका समयमा जुन दिन चौथी तिथि (चन्द्रोदयव्यापिनी चतुर्थी) पर्दछ, त्यसै दिनको विहानबाट यो व्रत सुरू हुन्छ र बेलुका चन्द्रमाको दर्शन र पूजा गरेपछि व्रत सम्पन्न हुन्छ ।
‘करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ दिएपछि भोजन गर्ने संस्कार छ’, नेपालगन्ज कारकाँदोका पवन जायसवालले भने, ‘करवाचौथमा महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् ।’ करवाचौथका दिन दियो, कलश र गणेशको स्थापना गरी ऋद्धिबुद्धि समेत भगवान् गणेश, चन्द्रमा, शिव, पार्वती र कार्तिकेयको पूजा गर्नुपर्दछ ।











