
आजबाट नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । सनातन धर्मको आस्थाको केन्द्र देवघाटबाट मात्रै दुई किलोमिटरको दुरी नारायणघाटको नारायणी किनारमा यसको उद्घाटन हुँदैछ । हिन्दूहरुले आफ्नो पवित्रता मान्ने गरेको र बिशेष बिशेष पर्वमा डुब्की लगाएर तनमनको शुद्धिकरण गर्ने गरेको नदि नारायणीको किनारामा लगाउन लाएको एमालेको राजनीतिक डुबुल्कीको मेलाबाट कति एमालेहरु पवित्र हुनेछन् वा कतिका सपनाहरु त्यै नारायणीमा विर्सजित छन् त्यो भने आजबाट तीन दिन पछि मात्रै स्पष्ट हुनेछ ।
एमालेको यो महाधिवेशन एमालेको ३० बर्षे इतिहासमा सबैभन्दा महत्वपूर्ण छ । २०५१ सालमा पहिलोपटक सरकारमा पुगेको एमालेको घरमासत्तास्वार्थ र भागबण्डाको बिलो नमिलेका कारण २०५४ सालको नेपालगन्ज महाधिवेशनबाट बिग्रहको शुरुआत भएको हो । त्यो बेला भएको नेपालगञ्जको रणमैदान जात्राले एमालेभित्र स्पष्टसँग गुटको राजनीतिको जरो गाडिएको हो । वामदेव, सीपी मैनाली, घनश्यामहरुको एमालेबाट बहिर्गमनले पनि एमालेभित्र कुनै किसिमको शुद्धिकरण गर्न सकेन । मालेको नौलोजनवाद, तुलसीलाल अमात्यको जनवाद देखि प्रचण्डहरुको माओवादसम्म एमालेमा विसर्जन गराएर पनि एमालेलाई शुद्धिकरणमा लैजान सकेन । मनमोहन अधिकारी सरकारको अवसान पछि भएको एमालेभित्रको झगडाका झगडियाहरु मध्येका केहि व्यक्ति घरफर्केता पनि आफ्नो पुरानो रुतवा देखाउन सक्ने अवस्थामा रहेनन् । अर्का निकै आशालाग्दा मानिएका युवा नेता पनि कहिले यो दैलो त कहिले उ दैलो गर्दैमा आफ्नो उर्जा सकिसकेका छन् । तत्कालीन मालेका महासचिव सीपी मैनाली सदाबहार र्निबिकल्प महासचिव भैरहने गुट बनाएर मस्त छन् ।
मनमोहन सरकारका उपप्रधानमन्त्री तथा मदन भण्डारी पछिका महासचिवको चिठ्ठा पारेका माधव नेपालले महाकाली सन्धीको ज्वारभाटा र २०७२ सालको नाकाबन्दीबाट उठेको पात्रका कारण टिक्नै नसक्ने अवस्थामा पुगेर अर्को राजनीतिक पसल चलाउन पुगेका छन् । अहिले एमाले प्राविधिक रुपमा तीन चिरा छ भने संस्थागत रुपमा दुई चिरा छ । जसमध्ये सबैभन्दा शक्तिशाली खेमाको नेतृत्व केपी ओलीले गरेका छन् । अहिले एमालेलाई यो महाधिवेशनबाट त्यो चिरापरेको औचित्य पुष्टि गर्ने चुनौतीसँगै अब हुने निर्वाचनमा एकले अर्को गुटलाई २०५६ सालको मालेको जस्तो हैसियतमा पुरएर आफ्नो गुट सहि र मूल एमाले हो, मूलधार हो भन्ने सिद्ध गर्ने चुनौती रहेको छ ।
एमालेले आफुलाई सधैं नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार भन्ने गरेको पाइन्छ । यो कुरालाई नेकपा अमात्य, नेकपा संयुक्त, जनमोर्चा लगायतले मान्न तयार थिएनन् । यसै कारणले पनि तेश्रो महाधिवेशनको महासचिव तुलसीलाल अमात्यलाई एमालेमा ल्याएर नेपालको कम्यूनिष्ट आन्दोलनको मूलधार बनाउने योजनामा एमाले रहेको थियो । जुनकाम माधव नेपालको नेतृत्वमा २०५१ सालमा सम्भव पनि बन्यो । र आज त्यहि नेपाली कम्यूष्टि आन्दोलनको पहिलो महाधिवेशनको मितिबाट गनेर एमालेले दशौं महाधिवेशन गर्न लागेको भन्दैछ । पुष्पलाल की श्रीमति साहना प्रधान, मनमोहन अधिकारी, तुलसीलाल अमात्य लगायतको एमालेसँगको साथले एमालेले आफुलाई नेपाली कम्यू्िनष्ट आन्दोलनको अविच्छिन्न उत्तराधिकारी भन्ने पनि मिल्छ पनि ।
नेपालमा कम्यूनिष्टहरुको उदय र विकासका सम्बन्धमा धेरै कथाहरु ल्ेखिएका छन् । कथा जेसुकै लेखिएता पनि नेपालको राज्यव्यवस्थाले जन्माएका केहि नमिठा पक्षहरु, नेपालका राजनीतिक पार्टीहरुको वनारस र कलकत्तासँगको सामिप्यता, नेपालबाट रुसतिर छात्रबृतिमा पढ्न जाने लहर र रुसले गरेको कम्यूनिज्मको निर्यातको खेती, इन्दिरा गान्धीराजमा भारतको रुसीकित्तामा भएकोसामिप्यता, नेपालको विकासमा चिन र रुसको सहयोग, भारतमा बढेको नक्सलबादीहरुको उत्साह, भारतको संसद र राज्यहरुमा भारतीय कम्यूनिष्टहरुको उपस्थिति, भारतीय मजदूर संगठनहरुमा वामपन्थीहरुको पकड आदीले गर्दा नेपालमा पनि कम्यूनिष्टहरुको राजनीतिले गाँजिने मौका पाएको हो । यसैमा २०४६ सालपछि नेपालमा आफ्नै पार्टीको बहुमतको सरकारलाई भत्काउने खेला, एकसय रुपैंयाबाट शुरुगरेकोे बृद्धभत्ता र राजालाई श्रीपेच फुकालेर चुनावमा आउन भन्ने बहुदलीय जनवादले एकाएक उकालो लाएको एमालेको जनाधारबाट अर्को गुटलाई रातारात बम पड्काएरै भएपनि सत्तामा पुग्न कम्यूनिष्ट नै हुनुपर्ने रहेछ भन्ने प्रेरणा मिलेको हो ।
यथार्थमा भन्ने हो भने नेपालको परम्परागत रुपमा चलिआएको मूल कुलधर्म सँस्कृति यहाँको भाषा र सभ्यता, संसारमा नै नभएको आफ्नै किसिमको मौलिक समाजिक सम्बन्ध, उपसना पद्धति आदीले सृजना गरेको र पल्लवित गरेको ज्ञान परम्परामा कम्यूनिष्ट मेनुफेस्टोले व्याख्या गरेको जस्तो वा रुसको जस्तो फासीवादी चरित्रको कम्यूनिष्ट नेपालमा सम्भवै थिएन र भविष्यमा पनि हुने कुरै छैन ।
यहाँको हवापानी, यहाँको जीवन पद्धति, यहाँको राजनीतिक इतिहास, यहाँको मनोभावना, साँस्कृतिक परम्परा र यहाँको समाजिक संरचनामा कहिँ कतैको पनि राजनीतिक चिन्तन, सिद्धान्त, आर्दश वा वादको प्रयोग नेपाल सापेक्ष हुनै सक्दैन भन्ने विगतका सबैजसो घटनाक्रमहरुले सिद्ध गरिसकेको तथ्यकुरा हो । यसैले पनि आफुलाई नेपाली कम्यूनिष्टको मूलप्रवाह ठान्ने एमालेजनहरु कहिल्यैपनि पश्चिमा कम्यूनिष्ट जस्तो बन्नै सकेनन् र कालान्तरमा झन बन्ने सम्भावना नै छैन ।
नेपालमा चलेको लेलिनवादी अराजकतावाद, स्टालीनवादी फासीवाद र माओवादी साँस्कृतिक बिखण्डनवाद केहिपनि सफल भएनन् । नेपाल कहिल्यै पनि अर्काले कोरिदिएको बाटोमा हिँडेको इतिहास छैन । नेपालीले अरुले फालेको कलो खाएको (आजभोलि केहि कुलङ्गारहरुले बदनाम गरेको बाहेक)इतिहास पनि छैन । नेपाली आफ्नो पौरखमा बाँच्ने जाति भएकोले पनि नेपालीको स्वाभिमान संसारका अन्य जुनसुकै देशका नागरिकको भन्दा उच्च रहेको छ । यो सत्यलाई स्वीकार गर्न नसक्ने वाद त विर्सजित त हुनैपर्छ ।
२०६३ मा हत्याहिंसाको बिश्राम पछि नेपालीको स्वाभिमानमा एकैचोटी धक्का पुर्याउने गरि रचिएको जातिय, नश्लिय कित्ताकाटको बिखण्डनलाई नेपालको त्यहि स्वाभिमान र यहाँको परम्परागत आर्दशका कारण जतिसुकै कम्यूनिष्टको पगरी भिरे पनि र जतिसुकै संख्यामा भएको ढिडोरी पिटेपनि मूर्तरुप दिन सकेनन् । यदि एमाले वास्तवमा नै माक्र्सवादी वा लेनिनवादी भएको हुन्थ्यो भने नेपालमा २०६४ सालपछि भएको क्षेत्रियताको राँकोले देश नै बिखण्डनमा जाने थियो । एमाले नाम मात्रैको एमाले भएको कारण यो कुरा संभव भएको कुरा सत्य हो ।
भन्नलाई केहि बाहिर क्रान्तिकारी र आन्तरिक तानाशाह भएका क्रान्तिकारी भनिनेहरु, कम्यूनिष्ट भनेको विकासको पर्याय हो, गरिब मजदूर किसानको मसिहा हो भनेर नथाक्नेहरु, हराएको रसियाली कम्यूनिज्म र बेपत्ता भएको माओवादको प्रशंसामा जिन्दगी खपाइरहेकाहरुले एमालेलाई दिने नाम भनेको ‘दलाल पूजिवाद’ को सज्ञा नै हो । यो एमालेजनको चरित्रले नदेखाएको पनि होइन । आज देशका दुईतिहाइ बढि एनजीओ÷ आइएनजीओहरु, त्यतिकै औसतमा नीजि विद्यालय, कलेज र मेडिकल कलेजहरु एमालेहरु कै छन् । ठेकेदार र ब्यापारीहरुको ठूलो संख्या पनि एमालेसँगै छ । नेपालको कर्मचारीतन्त्र, संघसंगठन र सहकारीहरुमा पनि एमालेकै पकड रहेको छ । यद्दपि पछिल्लो समय माओवादीले पनि त्यसको सिको गरेको छ त्यो भिन्ने कुरा हो तर एमाले भनेको नेपालको अर्थतन्त्र र आर्थिक क्रियाकलापमा झण्डै दुईतिहाइ हिस्सा कब्जा गरेकोे पार्टी हो । यसकारण पनि मानिसहरु जे देख्छन् जे भेट्छन् त्यो लेख्छन् र बोल्छन् यसमा आश्चर्य मान्नु ।
नेपालका कम्यूनिष्टहरुमा जतिसुकै मुल्य र मान्यताका कुरा गरेपनि ती सबैका देखाउने दाँत र जनतामा भ्रमको खेती गर्ने औजार मात्रै हुन् । यहाँको माटो, यहाँको परिस्थिति, यहाँको तन्त्रमन्त्रको शक्ति, यहाँको सँस्कृतिले उनीहरुलाई न त हिटलर हुन दिन्छ, न स्टालीन न माओ नै हुन दिन्छ । यसैले सबैको जम्माजम्मी खतीउपती यति मात्रै हुन्छ कि नेपाली मौलिकता र यहाँको सँस्कृति भत्काउने । यो कुरा एमालेको नेतृत्वले बुझिसकेको छ या अब नसकिने काम भन्दा नारायणीको बहावसँगै आफुलाई पनि नेपाली परम्परामा बगाउँदै लैजानुपर्छ भन्ने ठानेको छ । नेपाली कम्यूनिष्टका सबैखाले वादहरु मलेको नौलो जनवाद देखि तुलसीलालको जनताको जनवाद र बाबुरामप्रचण्डहरुको माओवाद यदण्डवाद सबै एमालेमा नै विर्सजन भैसकेका छन् । नेकपा एमाले भन्ने नाम भने कम्यूनिज्मको भूत नेपालीको दिलो दिमागबाट नउत्रेसम्म राखिरहने पर्ने बाध्यता हुनसक्छ तर सबैखाले वादहरुको घोलबाट बनेको बहुदलीय जनवाद र नेकपा एमाले भन्ने नाम समेत अब नारायणी नदिमा विर्सजन गर्नु नै एमालेको सहि मार्ग हुनेछ ।
मध्येपन्थ, दक्षिणपन्थ जेसुकै नामले एमालेलाई पुकारेता पनि एमालेको वर्तमान नाम प्राविधिक मात्रै हो यसमा कुनै किन्तुपरन्तु छँदैछैन । एमालेमा कम्यूनिष्टको चरित्र खोजेर आफ्नो विद्धताको दिवालियापन देखाउन आवश्यक पनि छैन । २०५० देखि आज २८ बर्षमा नारायणीमा धेरै पानी बगिसकेको छ । त्यो बेलाको एमाले प्रतिको यो पङितकारको आँकलन यी २८ बर्ष बितिसक्दा पनि एमालेको नीति, नैतिकता र चरित्रमा एकइञ्च तलमाथि भएको छैन । त्यस यताका झण्डै १५ बर्ष सत्ताको सास्नी चाटेको, दुइतीन पटक खण्डखण्ड खण्डिताको पीडा भोगेको एमालेमा अब कुनै उत्पात नै हुन्छ भन्नेमा मलाई आजपनि कत्ति विश्वास छैन ।
उसैपनि नेपाली कम्यूनिष्टहरुसँग भागबण्डा, तुष्टिकरण, नेपालीत्वलाई गाली गर्ने खालका साझा शब्दहरु बाहेक यिनीहरुसँग देश र जनताका पक्षका कुनैपनि साझा एजेण्डा नै छैनन् । अल्पमत देखि बहुमत र प्रचण्ड बहुमतसम्मका यिनीहरुका सरकारहरु पनि नेपाली जनताले देखे भोगे र बेहोरिसकेका छन् । अब नेपथ्यमा राखिएको कुनै जादू नेपाली कम्यूनिष्टहरुसँग छँदैछैन ।
अब त जम्माजम्मी कसैलाई आफ्नो अतितको कालो कर्तूतको परिणामबाट उन्मूक्तिको बाटो चाहिएको छ, कतिलाई लूटको धनको सुरक्षाको ग्यारेन्टी चाहिएको छ । केहिलाई नेपाली अस्मिता बेचेर भएपनि आफ्नो भकारी भर्ने ध्याउन्न छ भने केहिलाई आफ्नो जिन्दगीका पुराना फाइल खोलेर फेरिपनि जेल जानुभन्दा जालझेल जे गरेर हुन्छ बुढेउली चाहिँ शानसौकतमै गुजार्ने इच्छा छ । यो बाहेक नेपाली कम्यूनिष्टका वर्तमान नेतृत्वलाई कुनै चिन्तै छैन । यसका लागि देशको मूल कुलधर्म सँस्कृति भाषा सभ्यता र मौलिकताको मूल्य लगाएर भएपनि विदेशीको ताबेदारी गर्न सबै तयार छन् ।
नेकपा एमालेलाई पवित्र नदि नारायणीको किनारबाट सद्बुद्धि पलाओस् । नेपालीत्व प्रति माया आओेस् । एमालेलाई नबुझेकाहरुले दक्षिणपन्थी, अवसरबादी, सिद्धान्तहीन जेजतिसुकै नाम उपनाम सर्वनामले बिभूषित गरेता पनि एमाले कम्यूनिष्ट थिएन र होइन भन्ने कुरा सबैले थाह पाउँदा नै राम्रो हुनेछ । नारायणी किनारबाट बचेखुचेको कम्यूनिष्ट भन्ने भ्रम पनि सबै त्यागेर सबैखाले विदेशीवादहरुको घोललाई नारायणी नदिमा विर्सजन गरेर शुद्ध नेपालीपन, नेपाली मौलिकताको पार्टी बन्ने आँट गरोस् । राम्रो संगठन रहेको पार्टी नेकपा (एमाले) कम्यूनिष्ट नरहँदा नै नेपालको जय हुनेछ । एमालेलाई दशौं महाधिवेशनको शुभकामना ।