मलाई लाग्छ कि पूर्वाधार र जनशक्ति थप्न प्राथमिकता पायो भने भेरीको भविष्य मैले वीर अस्पताल भन्दा कम देखेको छैन ।
भेरी अस्पताल विकासका लागि सबै भन्दा पहिले पर्याप्त पूर्वाधार विकास गर्नुपर्दछ । त्यसका लागि एउटा भवन पनि निर्माण गरिरहेको छ, त्यो भेरीको फ्युचरका लागि राम्रो कुरा हो ।
कोरोनाको दोस्रो लहरमा हामीले अक्सिजनको अभाव देख्यौं । त्यो अभाव नहोस् भनेर भेरीले लिक्वीड अक्सिजन ट्यांक लगाएको छ । कोरोनाका कारणले पूर्वाधार वृद्धि भएको छ । आइसियुको नाममा बेड मात्र थिए । अहिले मोनिटरदेखि अन्य सामाग्री थप भएको छ ।
अर्को जनशक्ति हो । पहिलेको तुलनामा जनशक्ति थपिएको छ । तर, अहिले पनि पुरै विशेषज्ञ सेवा दिनका लागि थप जनशक्ति आवश्यक रहेको छ । भेरीमा प्लाष्टिक सर्जरी, न्यूरो सर्जरी डिपार्टमेन्ट चाहिन्छ । भेरीमा म्यानपावर त आउँछन् तर अझै पनि पूर्वाधारको कमी छ । तर, मलाई लाग्छ कि पूर्वाधार र जनशक्ति थप्न प्राथमिकता पायो भने भेरीको भविष्य मैले वीर अस्पताल भन्दा कम देखेको छैन ।
अहिले भेरीको जनशक्ति डेडिकेटेड छन् । कोभिडको जोखिममा डटेर काम गरेका छन्, मैले नजिकबाट नियालेको छु । पहिलेको तुलनामा नर्सिङ पाटो भेरीको धेरै राम्रो भएको छ ।
अहिले पनि बिरामी लखनउ रेफर गरिन्छ । यसलाई कसरी रोक्न सकिन्छ भनेर बेलाबेलामा प्रश्न आइनै रहन्छन् । भेरीमा कस्तो छ भने केही पाटोमा रेफर गर्नु पर्यो भने प्राइभेट सेक्टरलाई त्यति प्राथमिकता दिंदैनन् । काठमाडौं वा सुविधा भएको ठाउँमा जाउ भन्छन् । त्यसले नजिक लखनउ छ र लखनउ नै जाने गर्दछन् । कतिपय काठमाडौं पठाएका केश म कहाँ आएर मैले उपचार गरेको छु ।
बिरामी रेफरमा बीचमा अन्यले पनि भूमिका खेलिदिन्छन् । एम्बुलेन्स चालकदेखि कर्मचारी समेतले भूमिका खेल्छन् । अलिकति समन्वयकारी भूमिका खेल्ने हो भने यो पनि हट्छ ।
अहिले नेपालगन्जमा करिब सबै खालका जटिल किसिमका बिरामीको उपचार सम्भव भैसकेको छ । हामी कहाँ नभएको भनेको एउटा नेटोलोजी, मृर्गौला सम्बन्धी डाक्टर र अर्को इन्डोक्राइनको कमी छ । यो कमी भेरी अस्पतालले पूरा गर्न सक्दछ । प्राइभेट अस्पतालले त्यो राख्ने नराख्ने भन्ने हुन्छ तर सरकारीले राख्न सक्छ । ( नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण राजनीतिक र सामाजिक रुपमा उत्तिकै सक्रिय छन् ।)