आजभोलि इण्डियाका बिभिन्न शहरमा अक्शिजन बोकेका गाडीहरु लुटिएका खबरहरु आएका छन् । अस्पतालहरुमा अक्सिजन हवाको अभाव भएर मानिसहरुको सास रोकिएका खबरहरु सामान्य भएका छन् । इण्डियाको एउटा अस्पतालमा त अक्सिजनको चुवाहट भएका कारण अक्सिजन सकिएर २४ जनाको मृत्यु भयो । एउटा नीजि अस्पतालले त अक्सिजनको आपूर्तिको सुनिश्चितताको अपिल लिएर त्यहाँको उच्च अदालत नै पुग्यो र त्यो अपिललाई सम्बोधन गर्दै उच्च अदालतले सरकारका नाममा अक्सिजन सप्लाइलाइनलाई छिटो छरितो बनाउन र एयर लिफ्टिङ्ग गर्न परेपनि गर्नू भनेर अन्तिरिम आदेश नै दिनुपर्यो । आजपनि इण्डियाको कुनै महत्वपूर्ण समाचार छ भने त्यो हो अक्सिजनको आपूर्ति र त्यसबाट भेन्टिलेटरमा बसेका लाखौं मानिसहरुको जीवन रक्षाकोखबर भएको छन् ।
भनिन्छ नि प्रकृतिले मानिसलाई हावापानी निशुल्क दिएको छ । यसमा प्रकृतिले कसैमाथि भेदभाव गरेको छैन । के धनी के गरिब सबैलाई बराबरी उपलब्ध गराएको भनेको यहि हावापानी मात्रै हो । तर यो भनाइ आज कता कता मिथ्या बनाइँदै छ आधुनिकता र चरम उपभोक्ताबादी उत्पादनका ठेकेदारहरुबाट । आज कहिँ पनि न हावा निशुल्क छ न पानी । चाहे खोलानाला वन जंगल र प्रकृतिले भरिपूर्ण भएको देशमा होस या अन्य कुनै मरुभूमि भएको देशमा । कहिँ पनि यी प्रकृतिका उपहार निशुल्क छैनन् । ‘केहि पाएनौ भने हवापानी खाएर बाँच ’ भन्ने थेगो पनि अब संसारमा मिथ्या भै सकेको छ । आजका मितिमा संसारमा न पानी निशुल्क छ न हवा निशुल्क छ ।
संसारमा आफुलाई अति विकसित भनाउँदा देशहरुले अब संसारका मानिसहरुलाई कति हवा कति पानी कति मूल्य लिएर दिने भन्ने निधो गरि सकेका छन् । प्रकृतिका अमूल्य र निशुल्क भनिएका यी उपहार महङ्गा बस्तु भएका छन् । प्रकृतिले दिएको निशुल्क उपहार पानीको ब्यापार सबैभन्दा पहिला यीनै विकसित भनिने देशहरुले सन १७६७ मा अमेरिकाबाटै शुरु गरेका थिए । आजका मितिसम्म आइपुग्दा पानीको ब्यापार खोलानाला हिमनदि मूल जरुवा भएका नेपाल जस्ता देशहरुमा समेत ठूलो स्तरमा भएको छ । जताततै पानी नै पानी भएको र दश मीटर जमीन खनेर स्वच्छ पानी पाउने देश नेपालमा समेत पानीको मोल घुटको न्यूनतम पाँच रुपैँया छ । मानवको उत्पत्ति र प्रकृतिको अनुपम उपहार भएका नागरिकहरुलाई प्रकृति दोहनका ठेकेदारहरुले हात धुन र पानी पिउन सिकाएको भनेरै करोडौं कुम्ल्याएका छन् ।
संसारमा पिउने पानी ब्यापारको आयतन हेर्ने हो भने झण्डै छ खर्ब डलरकोरहेको छ भने आगामी २ बर्षभित्र यसको ब्यापार झण्डै १० खर्ब डलर पुग्ने अनुमान रहेकोमा आज भएको नेपाल जस्ता देशहरुमा बिकासको नाममा पानीका मुहानहरु मुलहरु भत्काउने र सुकाउने तिब्रतालाई हेर्ने हो भने त्यो अनुमान गरेको भन्दा दुईगुना बढि ब्यापार हुने र सफापानी पिलाउने नाममा नेपाल जस्ता देशहरुमा मूख्य ब्यापार नै पानी हुने अनुमान सहजै गर्न सकिन्छ ।
अब निशुल्क हवाको कुरा गर्ने हो भने त्यसको ब्यापार पनि सन २०२० सम्म मै एक खर्ब डलरको भै सकेको छ भने कोभिड–१९ को संक्रमण पछि यसको ब्यापारमा ह्वात्तै बृद्धि भएको देखिन्छ । यस्तै अवस्था कायम रहेमा यो हवाको ब्यापार पनि संसारको अर्को ठूलो ब्यापार बन्नेछ ।
आज कोभिड–१९ को दोस्रो लहरका बीच इण्डियामा अक्सिजनको हाहाकार मच्चिएको छ । अहिले त्यहाँको राजनीतिक देखि आर्थिक समाजिक मुख्य मुद्दा नै अक्सिजन भएको छ । कतै अक्सिजनका गाडीहरु लुटिएका छन् भने कतै अस्पतालहरुमा अक्सिजन लगाउन पाउँ भनेर पहुँचदारबाट सिफारिस लगाइँदै छ । अक्सिजन हवा नपाएकै कारण मानिसहरुको मृत्यु भएको भन्दै सत्ताबृतमा घमासान चलेको छ । मानिसहरु अक्सिजन पाउनका लागि मिडियामा आएर रोएका छन् । पैसा तिरेर पनि अक्सिजन हवा पाउन नसक्ने अवस्था आएको देख्दा ब्यापार, चरम उपभोक्ताबादी, समाजबादी र पूँजिबादी दुनियाँको निर्मम अनुहार उदाङ्गो भएको छ । हिजो खाना पकाउने ग्यासका सिलिण्डर बोकेर ग्यासका डिपोहरुमा लाइन लागेकाहरु मात्रै देखिने ठाउँमा आज अक्सिजनका लामालामा सिलिण्डर बोकेर लामबद्ध भएका छन् ।
यद्दपि नेपालमा त्यस किसिमको अवस्था त आएको छैन तर त्यहाँको अवस्थाले नेपालमा पनि त्यस्तो अवस्था आउन सक्छ भन्ने संकेत भने पक्कै गरेको छ । इण्डियामा अहिले जताततै अक्सिजन उत्पादन बढाउने प्रयास भै रहेको छ । त्यो पनि कृत्रिम मात्रै ।
प्रकृतिले दिएको त्यो अमूल्य उपहारको उपहास किन भयो ? किन यसको संरक्षण गर्नु पर्छ यहि नै मानिसको जीवन हो भन्नेतिर मानिसहरु यहाँका सत्ताधारीहरु लागेनन् ? यो बिषय बुझ्न अबपनि कुनै ब्यापारीको थेसिस चाहिन्छ भने यहाँ या त कुबुद्धिको मात्रै भण्डार छ या चरम उपभोक्ताबादी ठेकेदारहरुको खेला छ, जाने हुन्छ । ब्यापारीको जालोले सिष्टम भ्रष्ट छ बुझे हुन्छ ।
नेपालमा सधैं एकोहोरो रटिने शब्द हो बिकास बिकास अनि समृद्धि । तर त्यो भनेको के हो त्यसको परिधिभित्र के पर्छ भन्ने ती शब्द रटाने पट्टुहरुलाई थाह छैन । यदि थाह हुँदो हो त हाम्रो प्रकृतिको यतिसारो चरम दोहन, पानीका स्रोत सुकाउने काम पक्कै हुने थिएन । के गरुन बिचराहरु उनीहरुले सारा जीवन खर्चेर जम्माजम्मी पढेको र सिकेको भनेको नै भौतिकबादी चरम उपभोक्ताबादी दर्शन र सिद्धान्त मात्रै हो । जुन सिद्धान्त र दर्शनले सिकाउने भनेको प्रकृति मास, प्रकृतिको चरम दोहन गर, कार्बन उत्सर्जन र फोहरको डङ्गुर थुपारेर भएपनि उत्पादन गर । भावी सन्ततिलाई यो प्रकृतिको संरक्षण गरेर सहृदयतापूर्ण तरिकाले पुस्ता हस्तान्तरण गर भन्दै भन्दैन । मात्रै आफ्नो लागि हेर । आफु बन, आफु मोज गर । वर्तमानमा तिमी छौ त्यसैले तिम्रो यो सृटिको सबैकुरामा हकभोग छ । भोलि हेर्ने ठेक्का तिम्रो होइन । जति सक्छौं प्रकृतिको छाला काढेर मोज गर मात्रै भनेर पढाउने सिकाउने नीति सिद्धान्त र दर्शनको मुहानमा नै फोहर छ ।
यो जस्तो घटिया नीति सिद्धान्त र दर्शनले संसारको आयु त छोटिन्छ नै मानिसको बाँच्न पाउने अधिकार र प्रकृतिले दिएको निशुल्क उपहार समेत पैसा तिर्दा पनि नपाउने अवस्था आउँछ । जुन आज इण्डिया देखिएको छ । संसारमा यस्ता कोरोना जस्ता सास रोकिने व्यथाहरुका कथाहरु बेलाबेलामा आइ नै रहने छन् ।
मै मात्रै खाउँ मै मात्रै लाउँ मै मात्रै मोज गरुँ भन्ने मनोदशाको मूल भनेको नै आजको शिक्षा, आजको चरम उपभोक्ताबादी दर्शन सिद्धान्त नै हो । यसमा न सहृदयता छ न कुनै स्थिति गत्यात्मकता नै । मौलिकताको उछितो काढेर सर्वे भवन्तु सुखिन र वसुधैव कुटुम्बकम को हाम्रो आर्दशलाई पाखण्ड भन्नेहरुले निम्ताउने परिस्थितिको एउटा झलक हो अहिले भएको प्रकृति माथिको चरम दोहन ।
आज कथित बिकासका नाममा उहि चरम नाफाखोरी र चरम उपभोक्ताबादीहरु द्धारा नदिनाला, खोला पहाडका भित्तासम्म छियाछिया पारेर, मौलिक प्रबिधिका मुल बचाउने ताल पोखरी पाटी पौवाको बिनास गरिँदै छ । वनजंगलमा आगो लगाएर, प्राकृतिक रुपमा रहेका वनस्पतिहरुको निर्ममतापूर्वक फडानी गरेर हाम्रा वातावरण बिरुद्धका बृक्षहरुको खेती जसरी गरिँदै छ त्यसले हाम्रा जालशयहरु सुकेका छन् । प्रकृति अझै निर्मम भै रहेको छ । आफ्नो पुस्ता मात्रै मोज गर्ने र भोलिको पुस्ताको कुनै दरकार नराख्नेहरुको यसरी प्रकृति माथिको यातनाले मानव र जीवजन्तु, मानव र पशुचराचर, मानव र प्रकृति, मानव र यो ब्रम्हाण्ड वायुमण्डल, मानव र सारा सृष्टिको बीचको सहृदयताको डोरी चुँडाएको छ । यो डोरीलाई जोडिएन भने संसारमा प्रकृतिले दिएका निशुल्क उपहारहरु आज त पैसो हाल्दा समेत पाउन कठिन छ भने भोलिका पुस्ताले निशुल्क त कुरै छोडौं कथित उत्पादन, ब्यापार ब्यवसाय र जीवनभरिको कमाएको धनदौलत हालेर इतिहासमा भएका प्राकृतिक सौदर्यताका तस्वीरहरु त किन्न सक्लान तर मानव जीवन किन्न सक्ने छैनन् । किन कि मानव जीवनलाई प्रकृतिले दिएको अमूल्य उपहार हावापानी चाहिन्छ । यो अब कथित बिकास , भौतिकवाद उपभोक्तावादको यो संसारमा यहाँ अब केहि पनि निशुल्क छैन ।सहृदयता दर्शन र सिद्धान्तको आधारमा चलेको राज्य र मानवीय व्यवहार बीना न जीवन छ न यो सृष्टि र संसार नै ।