निकै मिलनसार साहसी महिला जो बाल्यकालले नै विभिन्न कलात्मक कृयाकलाप र खेलकुदमा संधै अगाडि रहदैं आइरहेकी छिन् । उनले स्कुल देखि क्षेत्र हुँदै जिल्ला देखि राष्ट्रिय स्तरसम्म नै राष्ट्रिय खेल खेलेर पनि आफ्नो बेग्लै पहिचान र अनुभव बटुलेकी छिन् उनले राष्ट्रिय स्तरमा सफ्ट टेनिस खेल चार पटक खेली सकेकी छिन् त्यसै गरी फुटबल भलिबल, ब्याटमिन्टन, जस्ता खेलहरु खेलेर थुप्रै अनुभव बटुली सकेकी छिन् । समयको माग र आफ्नो दृढ विश्वासका कारण नै उनी राष्ट्रिय स्तरकै एक सफल पत्रकारको रुपमा आफुलाई स्थापित गर्न पनि सफल भइन् । निकै संघर्षका साथ जीवनमा आएका बाधा अवरोधहरुको सामना गर्दै उनी राजनीतिमा पनि आफ्नो पहिचान बनाउन सफल भइन् । त्यति मात्र होइन उनी २०६९ साल जेष्ठ ८ गते दोस्रो संविधान लेख्ने ताका रिपोर्टिङ गरी घर फर्किदै गर्दा सांघातिक हमला भै सक्त घाइते भएर बाँच्न सफल भएकी एउटा बहादुर, कर्मठ, जुझारु पत्रकार हुन् । हो उनी हुन् जनजाति समुदायकी प्रतिनिधित्व गर्ने एक सफल संघर्षशील महिला दीपा आले मगर । आज हामी उहाँसँग गरिएका कुराकानी संक्षिप्त प्रस्तुत गर्दैछौं ।
के गर्दै हुनुहुन्छ ?
अभिवादन, हजुर म सन्चै छु । कोरोनाको विश्वव्यापी महामारीको बेला काठमाडौंमा बसेर समुदायप्रतिको आफ्नो दायित्वहरु पुरा गर्दैछु ।
यहाँको सानो परिचय दिनुपर्दा के भन्नुहुन्छ आफ्नो बारेमा ?
म जनजाति समुदायकी महिला हुँ मैले स्नातकोत्तरमा डबल डिग्री हासिल गरिसकेकी छु । यसका साथै पत्रकारिता तर्फ पनि रुची रहेको हुनाले जिल्लादेखि संघर्ष गरी अहिले केन्द्रमा बसेर काम गरिरहेक । छु सानैदेखि नै खेलमा रुची थियो । राष्ट्रियस्तर सम्मकै खेलाडीको रुपमा पहिचान बनाउन पनि सफल भए । हाल नाइस टेलिभिजन र गोल मिडियामा आबद्ध छु । नाइस टेलिभिजनमा जनताको अधिकार कार्यक्रम र जनमञ्च चलाइरहेकी छु । अनि विद्यार्थी जीवन देखि नै राजनीतिमा विद्मार्थी संघमा आबद्ध भएपछि नेपाली कांग्रेस पार्टीले टिकट दिंदा खजुराबाट उपाध्यक्ष पदमा चुनाव पनि लडे ।
तपाईको सामाजिक जीवनको सुरुआत कसरी र कहिले गर्नु भयो ?
म सानैदेखि नै सामाजिक कार्यहरुमा रुची राख्ने र स्कुल पढ्दा नै सामाजिक कार्यक्रममा भाग लिन्थे । म खेलाडी पनि हुँ त्यस कारण खेलहरुमा पनि सहभागी हुन्थे । गाउँमा पनि क्लबहरुमा बस्ने बचत समुहमा बस्ने गर्थे ।
पत्रकारिताको तर्फ लाग्नु कुनै खास कारण थियो ? कसरी पत्रकार हुन सफल हुनुभयो ?
सानोमा म पत्रकार बन्छु भन्ने सोच नै थिएन किनभने सानोमा म फोर्स लाईनमा जाने वा वकिल बन्ने इच्छा थियो । मेरो पारिवारिक पृष्ठभूमिको कुरा गर्ने हो भने अधिकांश फोर्समा रहेको हुनाले मेरो इच्छा पनि इन्स्पेक्टर बन्ने धोको थियो । तर पढाइकै क्रममा अघि बढ्दा मैले नोकरी खोज्न निस्के ताकि पढाइमा सहयोग होस् । जागिर खोज्ने क्रममा मेरो उर्मिला आले दिदिले प्रेसमा काम लगाइ दिनुभो । यसैक्रममा मेरो भेट पत्रकार उदयसिंह श्रेष्ठ सरसंग भयो उहाँले नै मलाई उत्साहित र उत्प्रेरित गर्नुभयो । उहाँले मलाई भन्नुभयो कि तिमी लेख्न सुरु गर दीपा । अब पत्रकार बन्नु पर्छ तिमी सक्छौ । त्यसपछि मैले सुरुमा पत्रिकामा नारी कविताबाट सुरु गरी पछि लेख र समाचार खबर समेत लेख्न सुरु गरे । यसरी मैले पत्रकारिता तर्फ आफ्नो यात्रा सुरु गरे । किनभने मेरो सानै देखिको चाहना पनि समाज र देशको सेवा गर्नु थियो र पत्रकारिता क्षेत्रबाट पनि सेवा गर्न मिल्दो रहेछ भनेर पछि निरन्तर आजसम्म यो पेशालाई आत्मसाथ गरेकी छु ।
उसो भए तपाई खेलाडी पत्रकारको साथै कवियत्री भन्दा फरक पर्दैन होला ?
खेल तर्फ त मैले लामो समय लगानी गरे अनि पत्रकारिता तर्फ पनि धेरै समय खर्चे तर साहित्यबाट मेरो पत्रकारिताको यात्राको सुरुआत जसलाई कार्य व्यस्तताले गर्दा निरन्तरता दिन त सकिन तर लेख्न तर रुची अझै छ ।
खेल जगतको कुरा गर्दा कुन खेल तर्फ तपाईको बढी रुची छ ?
म सानै देखि खेल्ने खेलहरु फुटबल, भलीबल, कबडी, ब्याटमिन्टन, हाईजम्प, लंगजम्प, छेलो जस्ता खेलमा सधै प्रतिस्पर्धा गर्थे । पछिल्लो पटक सफ्ट टेनिस खेलेकी हुँ किन कि यसमा स्कोप छ । तर बढी भलिबल र फुटबल र ब्याटमिन्टन खेले । मैले स्कुलदेखि क्याम्पस जिल्ला हुँदै राष्ट्रिय स्तरमा नै खेलेकी छु र जितेकी पनि छु । तर पछि म पत्रकारिता सक्रिय रुपमा लागे पछि खेलमा समय दिन सकेन ।
अब पत्रकारिताको कुरा गर्दा यस क्षेत्रमा यहाँको अनुभव कस्तो रह्यो ?
पत्रकारिता क्षेत्रको अनुभवको कुरा यदि गर्ने हो भने सहज रहेन् धेरै चुनौतीहरुको सामना गर्नु पर्यो । यो क्षेत्रमा आउँदा महिलाहरु अपवादका रुपमा मात्र भेटिन्थे पुरुषहरु नै पत्रकारिता क्षेत्रमा बढी सक्रिय थिए । म अनि मेरो साथी उमा थापा मगर हामी दुई जना मात्र पहिलो महिला थिए नेपालगन्ज भित्र जसले रात्रिकालीन डेस्कमा बसेर पत्रकारिता गरेका थियौं । हामी पत्रिकामा लेख्न राति अबेर सम्म डेस्कटा‘पमा बस्नुपथ्र्यो घर फर्किदा समुदायको दृष्टि फरक हुन्थ्यो । एक महिला त्यसमा पनि युवा भएका कारण समुदायको काडे नजर हुन्थ्यो । तर पनि आफूले सही काम गरेकी छु भनेर कसैको केही मतलब पनि गरिन र फेरि म सानैदेखि निडर र हक्की स्वभावकी भएकीले गर्दा पनि कोहीले पनि मलाई तर्साउन दबाउन र हेप्न सकेनन् ।
महिला भएकै कारण यदि पत्रकारिता कठिन लाग्दा खेल जगत वा राजनीतिमा अघि बढ्दा पनि हुन्थ्यो नि किन पत्रकारिता नै रोज्नुभयो ?
साँच्चिकै भन्ने हो भने म जुन समुदायबाट छु त्यसमा पनि महिला अझ परिवार पनि सामान्य भएपछि खेल जगत होस् राजनीति होस् वा पत्रकारिता सबै ठाउँमा गाह्रै हुन्छ । तर समस्या र चुनौतीबाट डराएर आफ्नो लक्ष्य छाड्ने मान्छे म थिइन् । मैले एक पटक अठोट गरिसकेपछि त्यसमा अडिग रहने बानीले नै मलाई हरेक क्षेत्रमा सफल बनायो । राजनीति क्षेत्रमा म विद्यार्थी संघ हुँदै पत्रकारिता क्षेत्रबाट नेपाल प्रेस युनियन केन्द्रीय समितिको पदाधिकारीमा पुग्न सफल भएकी छु । अनि पछि नेपाली कांग्रेस पार्टीले मलाई उपमेयरको टिकट पनि दियो । मैले प्रयास पनि गरे तर जीत हार त भाग्यको कुरो हो म उपमेयर बन्न सकिन् । खेल जगतमा पनि नातावाद कृपावाद कायम नै छ त्यहाँ पनि अगाडि बढ्दा यी कुराले बाधा गर्छन् नै । रह्यो कुरा पत्रकारिताको त यसमा मलाई अघि बढ्ने अवसर देखियो र अगाडि बढ्न उत्साहित गर्ने व्यक्तित्वहरु पनि भेटाए । मलाई पत्रकारितामा अघि बढ्न उदयसिंह श्रेष्ठ, अछरी पोखरेल, रेशम विरही, जे पाण्डे, कृष्ण अधिकारी जय नारायण शाह, शुक्र ऋषि चौलागाई, हेमन्त श्रेष्ठ, मुना श्रेष्ठ लगायतले उत्प्रेरित गर्नुका साथै साथ र सहयोग पनि गर्नुभयो । जसले गर्दा म आफ्नो लक्ष्यको पहिचान गरी पत्रकारितालाई नै रोजेर अगाडि बढ्दै गए । अहिले नाइस टी.भी.मा आबद्ध भइ देश र जनताको हित हुने टी.भी. कार्यक्रमहरु चलाइरहेकी छु ।
तपाई अहिले जिल्लाबाट केन्द्रमा पुगेर ठुलो स्तरमा पत्रकारिता गरिरहँदाको अनुभव कस्तो छ ?
हेर्नुस् यो जीवन संघर्ष हो र हामीले हरेक पाइलामा संघर्ष गर्नुपर्छ । मलाई केन्द्र स्तरमा पुग्न पनि संघर्ष गर्नु परेकै हो र पुगिसकेपछि झन् संघर्ष जारी नै छ । यो प्रतिस्पर्धाको दौर हो जहाँ सबै बीच अगाडि बढ्ने होडबाजी चलिरहेछ । जस्तो कि मैले अघि नै भनिसकेछु कि म जनजाति समुदायबाट आउँछु जहाँ अहिले पनि उच्च स्तरीय शिक्षा सबैको पहुँच छैन । मलाई पनि उच्च शिक्षा हासिल गर्न निकै मिहेनत गर्नु परेको छ । आज म दुई विषयमा मास्टर गरेकीछु एउटा समाजशास्त्र अर्को राजनीतिशास्त्र त्यस को साथै कानुन बिषयलाई पनि अघि बढाउँदै छु । किनकि ज्ञान र शिक्षा बिना यो संसार अन्धकार छ । अन्धकारलाई हटाउन ज्ञान शिक्षा लिन जरुरी छ । मलाई यी दुई डिग्री लिन कुनै शोख थिएन न त आर्थिक अवस्थाले इजाजत दिन्थ्यो तर पनि मैले हिम्मत गर्दै आफ्नो अध्ययनलाई अघि बढाउँदै लगे । अर्को कुरा उच्च शिक्षा अध्ययन गरे पछि समाजले हेर्ने नजर पनि फरक हुन्छ । मानिसलाई समाजमा भ्रम छ जातले हेपिएको तर मेरो बुझाईमा मानिस जब ज्ञान, सूचना र शिक्षाबाट वञ्चित हुन्छ अनि यो समाजले हेप्ने गर्छ त्यसै म भने गर्छु अध्ययनलाई जोड दिन नछाडौं । आजको अध्ययन र मेहेनतले भोलि तपाईंको भाग्य निर्धारण गर्दछ । मानिस हो जिन्दगीमा उतारचाव आउने गर्दछ तर मानिस भित्र भएको आत्मबल कदापि मर्नु हुँदैन ।
अन्तमा केही भन्नु हुन्छ ?
अन्तमा म यति मात्र भन्छु कि मानिसलाई चुनौतीको सामना डटेर गर्नुपर्छ । चुनौतीहरु आउँछन् तर त्यसबाट डराएर आफ्नो लक्ष्य छाड्नु हुदैन । अनि छोरा सरह छोरीलाई पनि उच्च शिक्षा र अगाडि बढ्ने अवसर दिनुपर्छ । एक सभ्य समाज निर्माण गर्न हामी सबैले आफ्नो स्तरबाट पहल र प्रयास गर्नुपर्छ । हिजोको दिनमा मैले मेहेनत नगरेको भए आज यो ठाउँमा आइ पुग्ने थिएन । आज म यो ठाउँमा आइपुग्दा मसँग पढेका साथीहरु जहांका त्यहीं छन् । हिजोको कडा संघर्ष र आत्मबल अनि निरन्तरताले गर्दा जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय सम्मान र पुरस्कारहरु हात पार्न सफल भएकी छु । त्यसैले जीवनमा अघि बढ्न छ भने कहिले पनि हिम्मत नहार्नु होस् । जसले हरेक चुनौती र समस्यासंग जुध्न सक्ने आंट गर्छ ऊ नै आफ्नो पहिचान स्थापित गर्न सफल हुन्छ । म आवाज विहीनहरुको आवाजको लागि हिजो पनि लड्थे आज पनि लडछु र भोलि पनि लड्ने छु । मेरो कलम र मगज पनि त्यही अनुसार परिचालित छ । हिजोको दिनमा म नेपाल मगर विद्यार्थी संघ को केन्द्रीय अध्यक्ष भएर म काठमाडौं आउनु परे पनि मेरो योगदान र सेवा देश र आम नेपाली जनताका लागि हुनेछ ।