संस्मरण

वर्तमान नेपालगन्ज (बाँके)को पुरानो र दोस्रो पुस्ताका ब्यक्तिहरुबाट बद्री प्रसाद गुप्ताको नाउ कुनै नौलो होइन । बि.सं. २०२४ सालदेखि २०३६ सालसम्मको पञ्चायती शासनकालमा वहाँ सक्रिय राजनीतिक र पत्रकारको रुपमा रहनुभयो । यो समय वहाँले नेपालगन्जको सट्टा काठमाडौंमा बढी बिताउनु भयो । २०४० सालपछि हालसम्मको जीवन वहाँले नेपालगन्जमा नै व्यतित गर्नुभयो ।

नयाँ मुलुकको प्रमुख शहर नेपालगन्जको फुल्टेक्रा लाइन साविकको वडा नं. ६ र हालको वडा नं. ५ मा पुस्तैनी बसोबास गर्दै आएका भूजूवा (भूजारी) परिवारको बूवा मथूरा प्रसाद गुप्ता र आमा गंगाजलीको कोखबाट प्रथम पूत्ररत्नको रुपमा जन्मिनु भयो । बि.सं. १९९६ बैशाख १ गते जन्मिनु भएका बद्रीप्रसाद गुप्ताज्युका अन्य चार भाइ र तीनजना बैनीहरु हुनुहुन्छ ।
मध्यम वर्गीय परिवार भएकोले खासै आर्थिक स्थिति राम्रो थिएन । फेरि परिवार ठुलो भएकोले गरीबिको सामना गर्नुपर्यो । उहाँको लालनपालन सामान्य तरिकाले नै भयो । नेपालगन्जमा विद्यालय प्रायः नभएकोले उहाँको प्रारम्भिक शिक्षा मंलग मास्टर साहबको प्राथमिक स्कुलमा भयो जसलाई पछि एम.पी. हाईस्कुलको नामले चिनियो । हाई स्कुलसम्मको अध्ययन, स्वअध्ययन, व्यहारिक शिक्षा नै उहांको शिक्षाको प्रमुख आधार रह्यो ।

बद्री प्रसाद गूप्ताज्यु नेपालगन्जको प्रमुख कपडा व्यवसायी तथा उद्योगपति एवं लोकप्रिय ब्यक्तित्व केदारनाथ टण्डनको कपडा पसलमा नोकरी गर्न थाल्नुभयो । त्यहीं श्रद्धेय श्री कृष्ण गोपाल टण्डनज्यू र श्री पन्ना लाल गुप्ताज्युको सम्पर्कमा आउनुभयो ।

देशको प्रथम आम चूनाव बि.सं. २०१५

देशमा जहांनिया राणाशासनको अन्त्य पश्चात २०१५ सालमा प्रथम आम चूनाव सम्पन्न भयो । उक्त आम चूनावले देशका जनतालाई प्रभावित पारेसरह गूप्ताज्युलाई पनि प्रभावित पार्यो र उहाँले त्यसबेला देखि नै राजनीतिमा रुचि लिन थाल्नू भयो । टण्डन परिवारको कैयो प्रतिष्ठानहरु भएका नाताले बद्री प्रसाद गुप्तालाई २०१९ सालमा विराटनगरमा भएको नेपाल मजदुर संगठनको सम्मेलनमा सहभागी हुने अवसर मिल्यो र उहाँ केन्द्रीय समितिमा निर्वाचित हुनुभयो । २०२४ सालमा हेटौडामा सम्पन्न हेटौडा औद्योगिक क्षेत्रमा सम्पन्न नेपाल औद्योगिक मजदुर सभाको केन्द्रीय सभापतिको रुपमा निर्वाचित हुनुभयो । यसरी उहांको केन्द्रीय राजनीतिमा यात्रा सुरु भयो । २०२८ सालमा जनकपुरमा भएको नेपाल मजदुर संगठनको केन्द्रीय सभापति जस्तो सम्मानित पदमा उहाँ निर्वाचित हुनुभयो । यी उपरोक्त सबै पदहरुमा रही सक्रियतापूर्वक सफलतासहित ईमान्दारीसाथ काम गर्नुभयो । उहांले आफ्नो सबै कार्यकाल सफलतापूर्वक पुरा गर्नुभयो ।

वैदेशिक यात्रा

बि.सं. २०३२ (१९७५) मा बद्रीप्रसाद गुप्ताज्यु स्वीट्जरलैण्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय मजदुर संगठन (आइएलओ) को त्रिपक्षीय प्रतिनिधि मण्डलमा मजदुरको तर्फबाट प्रतिनिधिको रुपमा भाग लिनुभयो । विश्व मजदुर संगठनको अन्तर्राष्ट्रिय सम्मेलनमा साउथ अमेरिकाको मेक्सिको सि६ीमा नेपाल मजदुर संगठनको प्रतिनिधिको रुपमा भाग लिनुभयो । यसैगरी अमेरिकाको अमेरिकन फेडरेशन अफ लेबर काउन्सिल इण्डष्ट्रियल अर्गानाइजेशनको निमन्त्रणामा वासिंगटन डि.सी.तथा न्युयोर्क सिटीको भ्रमण गरी त्यहांको विभिन्न गतिविधि अध्ययन गरी त्यस अन्तर्राष्ट्रिय संस्थासंग सम्बन्ध कायम गरी देशमा कैयौं कार्यक्रमहरु संचालन गरेका थिए । यसैगरी अन्य भ्रमणको क्रममा यस बद्री ज्युले पश्चिम जर्मनी, डेनमार्क, विश्व स्वतन्त्र मजदुर संगठनको हेडक्वार्टर ब्रूसेल्स, इंगलैण्ड, फ्रान्स, इटली, क्वालालामपूर, वर्मा, थाइलैण्ड, सिंगापूर, सोभियत संघ रुसको भ्रमण गरेका थिए ।

मित्रराष्ट्र भारत भ्रमण

भारतको प्रधानमन्त्री स्व. श्रीमती इन्दिरा गान्धीज्युबाट उद्घाटित विश्व हिन्दी सम्मेलनमा बद्री ज्युले भाग लिएका थिए । त्यसबेला नेपालका नेता गजेन्द्र नारायण सिंह, नेपाली हिन्दी पत्रिकाका सम्पादक बिजय कूमार दास र नेपालका कविहरुको सहभागिता रहेको थियो । यस पश्चात पनि भारतीय प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीज्युसंग दुई पटक भेटघाट गर्ने अवसर पाउनुभएको थियो ।

विश्व मजदुर संगठनको एशियन रीजनल सम्मेलन नयाँ दिल्लीमा भएको बेला भारतीय राष्ट्रपति महामहीम वी.वी. गिरीज्युसंग निजको निवास राष्ट्रपति भवनमा बद्रीज्युले शिष्टाचार भेटघाट गर्नुभएको थियो । यसैगरी अर्को पटक सम्मेलनमा भाग लिन जांदा भारतीय राष्ट्रपति श्री ज्ञानीजैल सिंहज्युसंग पनि शिष्टाचार भेटघाट गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री श्री राजीव गान्धीज्युको निमन्त्रणामा नेपालबाट पांच सदस्यीय पत्रकार मण्डल बि.सं. २०४३ (सन् १९८६) मा भारतीय गणतन्त्र दिवसको अवसरमा २६ जनवरीमा नयाँ दिल्ली जाँदा प्रधानमन्त्रीज्यूसँग भेटघाट गर्ने अवसर पाएका थिए । यसका अतिरिक्त भ्रमण दलसंग पश्चिम बंगालको कलकत्ता, मद्रास, बैंगलौर, महाराष्ट्र र त्यहांका मुख्यमन्त्रीहरु जस्तै गोवाका मुख्यमन्त्री श्री राणे, केरलका मुख्यमन्त्री श्री करुणाकरण, बैगलोरका मूख्यमन्त्री श्री रामकृष्ण हैगणेज्युसंग शिष्टाचार भेटघाट गर्नुभएको थियो । महाराष्ट्रको मुम्बईमा सबै पांचै पत्रकारहरुको व्यापार मण्डलको अध्यक्षबाट भव्य स्वागत गरिएको थियो । अन्तर्राष्ट्रिय सहयोग परिषद् बाम्बेले पनि सबैको स्वागत गरेको थियो ।

स्वदेशमा सेवाकार्य

सामाजिक सेवामा कार्य गरेवापत बद्री प्रसाद गुप्ताज्युलाई बि.सं. २०२७ सालमा श्री ५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट श्री प्रबल गोरखा दक्षिण बाहुबाट सम्मानित हुनु भएको थियो ।

२०२७ सालमा बद्री गूप्ताज्युले आफ्नो प्रकाशनत्व र सम्पादकत्वमा चेतना साप्ताहिक पत्रिकाको प्रकाशन शुभारम्भ गर्नुभयो । यसै पत्रिकाको माध्यमबाट मधेशीहरु संग भईरहेको राजनीतिक भेदभावको मुद्दा उठाई बि.सं. २०३८/२०३९ सालतिर आन्दोलनको सुरुवात गर्नुभयो । बद्रीज्युको स्वीकारोक्तीका हिसाबले उहांले नै सर्वप्रथम मधेशीहरुसंग भइरहेको राजनीतिक विभेदको मुद्दा उठाउनु भएको थियो । यसै कारणले गर्दा चेतना पत्रिका माथि राजकाजको मुद्दा लगाइयो र चेतना साप्ताहिक पत्रिका बन्द भयो ।

चेतना साप्ताहिक पत्रिका प्रतिबन्धित भएपछि आफ्नो समाचार सम्प्रेषणलाई जन पुकार पत्रिका त्यसपछि नेपालबाणी पत्रिकाको माध्यमबाट कार्य गर्दा ती पत्रिकाहरु पनि बन्द भए । यसै बीच चेतना साप्ताहिकले मुद्दा जितेपछि पुनः प्रकाशन चालु गरे । मधेशी आवाजलाई बूलन्द गर्न धेरै लेख, समाचार, आदि यसपत्रिकाको माध्यमबाट प्रकाशित भए ।

पत्रिकाको माध्यमबाट मधेशबादी नेता गजेन्द्र नारायण सिंहको बद्रीज्यु धेरै निकट पुग्नुभयो । गजेन्द्र नारायण सिंहको अनुरोधमा २०३६ सालमा त्रिभूवन चौकमा बद्री प्रसाद गुप्ताले एउटा आमसभाको आयोजना गरे । जसलाई सम्बोधन गर्न गजेन्द्र नारायण सिंहज्यु पहिलो पटक नेपालगन्ज आउनु भएको थियो । नेपालको राष्ट्रिय समाचार समितिको संचालक समितिको सदस्यको रुपमा एक अवधि र प्रेश काउन्सिलको सदस्यको रुपमा बद्री ज्युले कामकाज गरे ।

राजनीतिक गतिविधि

देशमा बहुदलीय व्यवस्था स्थापना भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको थापासमुहको केन्द्रीय सचिव पदमा रहंदै बांके जिल्लाको अध्यक्ष पदमा समेत बद्रीज्यु बस्नुभयो । त्यसबेला निर्वाचन हुँदा बाँके जिल्लाको तीन निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. २ बाट बद्री प्रसाद गुप्ता संसदको चुनाव लड्नु भयो । चूनावमा पराजयको दोषी बनाइएको मतभेदले उहाँ पार्टी परित्याग गर्नुभयो । यसरी सुर्यबहादूर थापाको पार्टी छोडी सदभावना पार्टीको सदस्यता ग्रहण गर्नुभयो । नेपाल सद्भावना पार्टीले बद्रीज्युलाई नेपाल मजदुर मंचको केन्द्रीय सभापतिको पदभारको जिम्मेवारी पाउनुभयो । बद्रीज्यु नेपाल सदभावना पार्टीपछि त.म.लो.पा. र त्यसपछि वहांले अन्तिमकाल सम्म राष्ट्रिय जनता पार्टीको सदस्य भएर काम गर्नु भएको थियो ।

बद्री प्रसाद गुप्ता २०४० सालपछि नेपालगन्ज बसाईको दौरान स्थानीय संघ मै संलग्न रही सामाजिक सेवा गर्दै आउनु भएको थियो । नेपाल नेत्र ज्योति संघ बाँके शाखा र त्यस अन्तर्गतको फत्तेबाल आंखा अस्पताल नेपालगन्जको संस्थापक सदस्य र वर्तमान (अन्तिमकाल २०७७) मा कार्यसमिति सदस्यको रुपमा समेत रहनु भएको थियो । उहां आफ्नो सजातीय संगठनबाट संचालित श्री रामजानकी मन्दिर तथा कान्य कूब्ज वैश्य धर्मशाला नेपालगन्ज फुल्टेक्राको पनि प्रमुख रुपमा सेवा गर्दै आउनुभएको थियो ।

बद्रीज्यु अवधि सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समिति नेपालगन्जसहित नेपालगन्ज बाँकेका कैयौं संघसंस्थाहरुबाट सम्मानित ब्यक्तित्व हुनुहुन्थ्यो । बद्रीज्यु विगत २\३ महिनादेखि सुगर र उच्चरक्त चाप रोगले अस्वस्थ्य रहंदै आउनुभएको थियो ।

बि.सं. २०७७ साल श्रावण ९ गते सायं ७.१५ बजे नेपालगन्ज मेडिकल कलेज, नेपालगन्जमा उपचारको क्रममा हृदयगति बन्द भई यो लोकबाट परलोक हुनुभयो । आफ्नो पछि धर्मपत्नी श्रीमती श्यामलली गुप्ता (७५) वर्ष, एकमात्र छोरा अशोक कुमार गुप्ता (५७), एकमात्र छोरी (५२ वर्ष) सहितको पुरा परिवार छोडी बिदा लिनुभयो ।

बद्री प्रसाद गुप्ता सादाजीवन उच्चविचारका धनी व्यक्तित्व रहेका थिए । छिटै रिसाउने, नडराउने, कडक आवाज, बिचारको स्पष्टता उहांको प्रमुख विशेषता थियो । व्यवहार कूशल, अतिनै मिलनसार, छिटै घूलमिल हुने उहांको प्रमुख गुण रहेको थियो ।

बद्री प्रसाद गूप्ता अध्ययनशील र सादाजीवन जिउने कलाका नाताले बिहान योगा र सांझ अलिअलि घुमफिर गर्नुका साथै पुरा समय घरमै बिताउनु हुन्थ्यो । उहांको संघर्षपूर्ण योगदानलाई भावी पिढीले एउटा सीखको रुपमा लिन सक्नेछ । वहांको ती कार्यबाट प्रेरणा लिंदै दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारलाई समवेदनाका शब्दसहित समिक्षालाई यही विराम गर्दछु । हार्दिक श्रद्धान्जली ।

प्रतिक्रिया

प्रतिक्रिया