वि.स. २०७१ साउन २८ र २९ गते बाँके जिल्लाका विभिन्न वस्तीहरु बाढीको चपेटामा पर्दा १२३४० परिवार प्रभावित भए । उक्त प्रकोपमा परेर १५ जनाले ज्यान गुमाए भने ११२ परिवार स्थायी रुपमा विस्थापित हुन पुगे । सोहि दिन बर्दियाका विभिन्न क्षेत्रमा आएको बाढीमा परेर ३१ जनाले ज्यान गुमाए भने १७३७६ घरधुरी प्रभावित भए । त्यसैगरी २०७४ श्रावण २९ गते बाँके र बर्दियामा आएको बाढीमा ८ जनाले ज्यान गुमाए भने करिब ३८ हजार परिवार प्रभावित हुन पुगे । साउनको पहिलो साता बित्दासम्म बाँके र बर्दियामा यसपाली क्षतिका खबरहरु नआएपनि प्रकोपको सन्त्रास तिब्र छ । २०७३ साल साउन १० र ११ गते प्युठानको विभिन्न क्षेत्रमा पहिरोमा परि ३८ जनाले ज्यान गुमाए भने गतवर्ष साउन ६ गते गुल्मीको सत्यवती गाउपालिकाको २ वटा गाउमा पहिरो जादा १० जनाको मृत्यु भएको थियो. । यसपाली असार ८ गते तानसेनको सम्मोबारी मा पहिरोमा परि ४ जनाले ज्यान गुमाए. असार २५ गतेदेखिको भिषण वर्षाको कारणले देशका विभिन्न स्थानहरुमा बाढी र पहिरोले जनधनको ठुलो क्षति भएको खबरहरु आइरहदा प्रदेश ५ मा बाढी पहिरोका ठुला खबरहरु न आएपनि वर्षाको मात्रा बढ्दै जाँदा यो प्रदेशका सबैजसो जिल्लाहरुमा प्राकृतिक विपदका यस्ता घटनाका खबरहरु निरन्तर आइरहेका छन् । तराईका जिल्लाहरुमा डुबान तथा नदि कटान र पहाडी जिल्लाहरुमा पहिरोको कारणले हरेक वर्ष ठुलो धनजनको क्षति भैरहेकोले प्रकोपका घटनाहरुले सबैलाई झस्काएको छ ।


पाँच नम्बर प्रदेशका १२ जिल्लाहरुले नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको छ । प्रदेशको क्षेत्रफल १७,८१० वर्ग कि.मी रहेको छ र पाँच नम्बर प्रदेशको ४६ प्रतिशत भूभाग ६ वटा पहाडी जिल्लाहरुमा रहेको छ । तराईका ६ जिल्लाहरुमा समेत ४ हजार ८७९वर्ग किमी चूरे क्षेत्र रहेको छ । यसरि हेर्दा चुरे सहितको पहाडी भूभागले प्रदेशको ७३ प्रतिशत भूभाग ओगटेको पाइन्छ । चुरे क्षेत्र लगायत प्रदेशको पहाडी जिल्लाहरुको भू–बनावट निकै कमजोर भएकोले पहाडी क्षेत्रमा प्रकोपको जोखिम सधै रहने गरेको छ । खासगरी प्युठान, पाल्पाको दक्षिणी क्षेत्र, रोल्पा र गुल्मीमा पहिरोको असर धेरै हुने गरेको छ । झिमरुक, राप्ती नदि, बबई, मानखोला र कर्णाली नदीले हरेक वर्ष ठुलो भूभागमा डुवान र कटान गरिरहेको छ । त्यस्तै पहाडी क्षेत्र हुदै तराईमा प्रवेश गर्ने झरहि, तिनाउ, वाणगंगा जस्ता साना नदि र त्यसमा मिसिन आउने सानाठूला खहरेहरुकोे कारणले तराईको मलिलो भूभाग वर्खायाममा डुवानमा पर्ने गरेको छ ।


पाँच नम्बर प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको विगत वर्षका घटनाहरुले देखाउछन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको तथ्यांक अनुसार पाँच नम्बर प्रदेशमा २०६८ देखि २०७७ साउन ७ सम्मको अवधिमा बाढी पहिरोका घटनामा परि ३४२ जनाले ज्यान गुमाएका छन् । घाइते र बेपत्ता भएकाको संख्या क्रमश ७४ र १०२ जना भएको देखिन्छ । यो संख्या सोहि अवधिमा देशमा प्राकृतिक विपदको कारणले कुने मानविय क्षतिको २० प्रतिशत भन्दा बढी हो । वि.स.२०७० वैशाख १ देखि २०७७ सम्मका विपदका तथ्यांकहरुलाई हेर्दा पहाडका प्युठान, गुल्मी र पाल्पा तथा तराईका वर्दिया, बाँके र दाङ्गमा बढी मानवीय क्षति भएको भेटिन्छ । गृह मन्त्रालयका अनुसार २०७२ यता ५ वर्ष ३ महीनाको अवधिमा बाढी र पहिरोबाट प्युठानमा ५२ जना, पाल्पामा २७ जना र गुल्मीमा ३४ जनाले ज्यान गुमाएका छन् भने तराईतपÞर्m कपिलवस्तुमा १२ जना, दाङ्गमा १५ जनाले ज्यान गुमाएका छन । प्राकृतिक प्रकोपमा खेतबारी र भौतिक संरचनामा पुगेको क्षतिको त लेखाजोखा नै छेन । सबै घटनाहरु गृह मन्त्रालयको विपद सुचना केन्द्रसम्म आइनपुग्ने भएकोले मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क भन्दा धेरै बढी क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो दशकमा पाँच नम्बर प्रदेशको पहाडी गाउवस्तिमा सडक पु¥याउने महाअभियान नै चलेको छ । वातावरणिय प्रभावको मुल्यांकन नगरी आफ्नो अनुकुल डोजर ड्राइभरले जसो भन्छ त्यसैगरी सडक खन्दा पानीका प्राकृतिक वहाव मार्ग र पानीका मुलहरु पुरिएका छन् । कच्ची सडकमा नाली निर्माण नगर्ने भएकोले वर्षातको पानी सडकबाट नै बग्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी देखिएको छ । त्यसैगरी पहाडी र चुरे क्षेत्रमा बढ्दो वन विनाश, खानीजन्य पदार्थहरुको अनियन्त्रित उत्खनन जस्ता कार्यले गर्दा पनि पहाडी सतह कमजोर बनेको र पहिरोको जोखिम बढी देखिएको छ ।


नदि कटान र डुवान तराईको सधैको रोग हो । पहाडबाट तीव्र वेगमा आएका खोला र नदीहरु तराईमा आएर फैलिदा नदि किनाराको भूभाग कटानमा पर्ने गरेको छ । पछिल्ला वर्षहरुमा नदि क्षेत्र अतिक्रमण गरि वस्ती निर्माण गर्ने कार्यले तीव्रता पाएको छ । नदीको वहाव क्षेत्र साघुरिदै गएकोले वर्षातको समयमा नदीले पानीको भेल थेग्न नसक्दा नदि कटान र डुवान हुने गरेको पाइन्छ । भैरहवा, बुटवल, तिलोत्तमा, घोराही, नेपालगंज, कोहलपुर जस्ता तीव्र शहरीकरण भएका ठाउँमा पुराना कुलो, खोला र खोलाहरु पुर्दै भौतिक संरचना निर्माण गर्ने, नाला र कल्भर्ट नराखी सडक बनाउने जस्ता गतिविधिले गर्दा सानो पानी पर्नासाथ शहरी क्षेत्र डुवानमा पर्ने गरेको देखिन्छ । बाँके,कपिलवस्तु, रुपन्देहि लगायतका दक्षिणी तराई क्षेत्रमा भारतले निर्माण गरेका बाँध तथा सडकको कारणले हरेक वर्ष डुवानका समस्याहरु दोहोरीइरहेका छन् ।


वर्षा शुरु हुने वित्तिकै सिद्दवाबाको पहिरो तथा राप्ती र कर्णालीको बाढी तथा भारतिय बाँधको कारणले हुने डुवान र कटानले पाँच नम्बर प्रदेशमा निकै चर्चा पाउछन् । तराईका डुवान र पहाडका पहिरोमा परेर घरबारी पुरिएका र मानिसले ज्यान गुमाएका खबरहरु पनि बग्रेल्ती सुनिन्छन । प्राकृतिक विपदबाट प्रदेशले वर्षेनी ठुलो नोक्सानी बेहोर्नु परिरहेको भएपनि अहिलेसम्म विपद न्यूनिकरणका प्रभावकारी प्रयासहरु आउन सकेका छैनन् । विपद आइसकेपछि राहत बाड्ने काममा मात्र सरकारी संयन्त्रहरु बढी संलग्न हुने गरेका छन् । विपदसंग लड्न सकिदैन तर जोगिन भने सकिन्छ भन्ने कुरालाई मध्यनजर राख्दै विपदको पुर्व तयारि , रोकथाम र सुरक्षा तथा पुनर्स्स्थापना जूस्ता कार्यलाई एकीकृत गरि विपद व्यवथापन कार्यलाई अघि बढाउनु पर्नेमा सरकारी संयन्त्रहरु विचमा समन्वयको कमीले गर्दा विपद अघि र पछिका कार्यहरु झारा टार्ने जस्ता मात्र देखिएका छन् ।


विपद पछि उद्दार र राहतमा जुट्नु सरकारको कर्तब्य हो र धेरै हदसम्म यो कर्तब्य प्रचारात्मक हुने गरेको छ । यस्ता कार्यले तत्कालिन सहयोग गर्ने भएपनि यो विपद न्युनिकरणको दिर्घकालिन उपाय होइन । सबै सरकार र सामाजिक संघ सस्थाहरुले विपदपछि उद्दार र राहतमा जुट्नुपर्ने बाध्यता आउन नदिनको लागि विपदमुखी क्रियाकलापको अन्त्य र विपद विरुद्धको पुर्व तयारि ध्यान केन्द्रित गर्नु पर्दछ । वन तथा बुट्यान संरक्षण, वातावरण मैत्री विकास, जलाधार तथा नदि तटीय क्षेत्रको सरक्षण जस्ता कार्यहरु गरेमा विपदका अवस्थाहरु धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसैगरी विपद पुर्व सुचना प्रणानी स्थापना गरेर पनि विपदबाट हुन सक्ने खतराबाट मानिसहरुलाई सावधान बनाउन र मानवीय क्षति हुने अवस्था आउन नदिन सघाउ पुग्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया