मुलुकमा कोभिड–१९ को कहरको समस्याले ग्रसित भई समग्र विश्व समुदाय संगै मानव जाति स्थिर अवस्थमा रहेको बेलामा सिङ्गो समाजलाई तरंगित र स्तव्ध बनाउने पश्चिम नेपालमा दुई घटनाहरु घटित हुन पुगे । एउटा जाजरकोटका नवराज वि.क.को प्रेमले निम्त्याएको अत्यन्तै दर्दनात्मक र वियोगान्त घटना । जुन घटनामा आधा दर्जन अर्थात ६ जनाले ज्यान गुमाउनु पर्यो र माया प्रेमको हार हुँदा हिंसाले प्रशय पायो । अर्को भारतमा मजदुरी गरी कोरोनाको कारण रोजगारी गुमाएर अभावमा नै किन नहोस् बाँच्ने रहरका साथ जन्मभूमिका पुगेर पनि जन्मथलोमा टेक्ने सपना बोकेका दर्जन यात्रुको सडक दुर्घटनामा परी बाँकेमा ज्यान गयो । करिब साता दिनमा घटित भएका यी घटनाहरुले सिंगो देशको अवस्था देखाउछ । हामी कुन धरातलमा छौं ।


देशको सामाजिक परिवेश, आर्थिक हैसियत, नैतिक मुल्य र मान्यता, साँस्कृतिक जीवनशैली, राजनीतिक चेतना, प्रशासनिक व्यवस्थापन सवैको विषयलाई छरपस्ट पारिदिएको छ । सिद्धान्त र व्यवहार बीचको खाडल कति छ भन्ने कुरा यी घटनाले देखाउँछ । यी दुई घटनाले नेपालीहरुको काम भन्दा गफमा पोख्त धेरै छन् भन्ने यर्थाथ चित्रण गरेको छ । कुनै पनि घटना वा दुर्घटनाले मानवीय जीवनमा केही सिकाईका अबसरहरु दिने गरेको हुन्छ । यस्ता घटना परिघटनाहरु नेपाली समाजमा नयाँ र नौला होइनन् । विगतका घटनाहरुवाट सिकेर यस्ता अमानवीय र क्रुर घटनाहरु नदोहरिनु पथ्र्यो तर दुर्भाग्य त्यो हुन सकेन । विगत जस्तै वर्तमानमा पनि निरन्तरता हुन आयो र भविष्य पनि सुरक्षित छैन भन्ने संकेत देखाएको छ ।


जाजरकोटका नवराज वि.क. रुकुम घर भएकी कानूनतः विवाह योग्य उमेर नपुगेकी किशोरी संगको माया प्रेममा रहदै जीवनलिला समाप्त हुने गरी अत्यान्तै अमानवीय र क्रुर हिंसाको शिकार हुन पुगे । संगै गएका साथीहरु मध्ये अरु ५ जना साथीहरु समेत उनको माया प्रेमका लागि वलिदान दिन पुगे । घटनामा दोषि जो कोही भए पनि अपराध क्षम्य हुन सक्दैन । पीडितले न्याय पाउनु पर्छ र अपराधमा संलग्नलाई सजाय गर्ने कुरामा कुनै कसर बाँकी राखिनु हुँदैन । सायद सबैको माग र चाहना पनि यस्तै होला । नागरिकको ज्यू धनको सुरक्षा गर्नु राज्यको पहिलो कर्तव्य पनि हो । अपराध अनुसन्धानका लागि राज्यले नियमित संयन्त्र निर्माण गरेर अमन चयनको व्यवस्था गर्ने गरेको हुन्छ । तर उक्त घटनाले केही अहंम प्रश्न भने उव्जाएको छ । सामाजीक संरचना कस्तो अवस्थामा छ भन्ने विषयमा गम्भीर सोचनीय बनाएको छ । घटनालाई जातिय विभेदका कारण भएको भन्ने प्रारम्भिक अुनमान गरेर विभिन्न ठाउँहरुमा लकडाउनको समयमा पनि मानिसहरु स्वफुर्त रुपममा सडकमा देखिए । राज्यले आफ्नो नियमित संयन्त्रका माध्यमले अनुसन्धान र अभियोजन कार्य पनि बढाएको छ । उक्त हत्या काण्डलाई जातिय विभेदको रुपमा चित्रण गरी सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार माध्यम, मानव अधिकारकर्मी र नागरिक समाजकर्मीहरुले आफ्नो सरोकार दर्ज गरेको देखिन्छ । त्यो घटना माया प्रेमको कारणले हुन गयो वा जातिय विभेदको कारण हो वा अन्य कुनै परिवन्दको उपज हुन गयो ? त्यो राज्य संयन्त्रको अनुसन्धानको विषय हो । अपराध अनुसन्धानमा दक्षिण एशियामा नै अब्बल मानिंदै आएको निकाय नेपाल प्रहरीले त्यसको अनुसन्धान तहकीकात गर्ने नै छ त्यसमा शंका गरिनु पर्ने कुनै कारण छ जस्तो लाग्दैन । किनकी अपराध जुनसुकै किसिम र तरहको होस त्यो सभ्य समाज र राज्य संयन्त्रको आँखामा केवल अपराध नै हुन्छ र अपराधको अनुसन्धान गरिन्छ र न्याय प्राप्तिका उपाय अबलम्वन गरिनु पर्छ ।


घटनाको जरिया जे सुकै होस अन्याय र अपहेलितले न्याय र सम्मान पाउनु पर्छ त्यो स्वतन्त्र, निष्पक्ष, भयरहित, वैज्ञानिक र दवाब रहित अनुसन्धानले मात्रै प्राप्त हुने विषय हो । राज्यवाट स्थापित नियमित वा तत्काल निर्मित संयन्त्र मार्फत अपराध अनुसन्धानका आधारमा अभियोजन भई अदालत वा न्यायाधिकरणको फैसलाले गर्ने न्याय एउटा पक्ष हो । तर मानिसका लागि सामाजिक न्याय आधारभूत हुनुका साथै सम्मानजनक हुने गर्दछ भन्ने तर्फ पनि ध्यान दिनु जरुरी छ । सामाजिक न्याय प्राप्त भए मात्रै मानिसको जीवनमा सम्मान र मर्यादा कायम हुने गर्दछ । समाजमा मर्यादापूवक जीवन यापन गर्न सकिएन भने राज्यले गरेको फैसला हुनु र नहुनुमा कुनै फरक पर्दैन । मुख्य कुरा समाजमा पाउने सम्मान र मर्यादाको हो तब मात्रै मानव अधिकार प्राप्ति हुन जान्छ । प्रस्तुत घटनाको एउटा पक्ष अध्यारोमा पारिए छ । त्यो हो माया प्रेममा रहेकी भनिएकी नावालक किशोरीले न्याय कहाँ र कसरी पाउने ? घटनाको पिडीत मध्येकी एक पात्र हुन यी नावालक किशोरी । माया प्रेम कै कारण किशोरले ज्यान गुमाउँदा यी नावालक किशोरीले पनि आफ्नो भविष्यको सपना गुमाएकी छिन । किशोरले जातिय विभेदका कारण ज्यान गुमाएको हो भने किशोरी लैङ्गिक विभेदको शिकार हुनु परेको तितो यर्थात हो । तर ती नावालक किशोरीको पीडालाई सवैले गुमनाम गर्ने हो भने राज्यवाट पाउने न्याय प्रतिको अनुभुति कसरी हुन्छ ? सरोकारवालाले ध्यान किन पुर्याउन सकेका छैनन् ? विभेद जुनसुकै किसिमको होस विभेद नै हो । जुन किसिमले ती नावालक किशोरीका वारेमा सामाजिक सञ्जालमा कुराहरु बाहिर ल्याइएका छन ती विषयले महिला अधिकारको वारेमा गंभिर हुन पर्ने हो वा होईन ? किशोरले प्रेम सम्वन्ध जोडनु अपराध थिएन भने, किशोरीले माया प्रेम गर्नु पनि कुनै अपराध होईन भनेर भन्ने हिम्मत किन गरिदैन ? कानुनले विशेष संरक्षण प्रदान गर्नु पर्ने मध्येमा पर्ने नावालक किशोरीको न्यायमा पहँुचका लागि स्वरहरु किन सुनिएका छैनन् ? कि सरोकारवालाको ध्यान पुगेको छैन ? यी नावालक किशोरी कम जोखिममा छन भनेर आँकलन गरिएको हो भने त्यो भन्दा अर्को भुल हुन सक्दैन । ती किशोरी साच्चिकै जोखिममा छिन । नावालक उमेर छ, (हल्ला अन्यता होईन भने) उमेर नपुगी कनै गर्भावस्था हुनु परेकोछ, सामाजिक रुपमा परुष सरहको हैसियत प्राप्त हुन नसकेको तितो सत्य छ, गोपनियता छताछुल्ल पारिएको छ । यिनै हुन जोखिमका सूचकहरु । यस्तो जोखिमपूर्ण अवस्थामा सरोकारवाला निकाय जिम्मेवार हुनु जरुरी छ ।


नेपालको संविधानमा उल्लेखित मौलिक हकमा विषयहरु केवल उल्लेख गर्नका लागि मात्रै होइनन् । लोकतान्त्रिक राज्य प्रणालीमा नागरिकका अधिकार प्रति राज्य मात्रै होइन सरोकारवाला निकायहरु पनि उत्तिकै जिम्मेवार र उत्तरदायी हुन सके मात्रै सामाजिक न्याय प्राप्त हुनसक्छ । जातिय विभेदको अन्त्यका लागि वकालत गर्दा लैगिंक विभेदको सवाललाई अनदेखा गरियो भने सामाजिक न्याय प्राप्तिमा अन्याय हुनसक्छ भन्ने तर्फ पनि सजक र सचेत हुनु पर्छ । समानताको अधिकार र भेदभाव विरुद्धको अधिकारको कुरा गर्दा गोपनियताको अधिकार कुण्ठित हुनु किमार्थ उचित हुन सक्दैन । रुकुम घटनामा नावालक किशोरीको गोपनियता कायम गर्नमा सचेतता अपनाएको देखिएन । पीडाको मात्रा मापन गर्दा कम वेशी हुनसक्छ । तर विभेद जुनसुकै किसिमको किन नहोस त्यो केवल विभेद हो र विभेदको मापन गर्न सकिंदैन । नत न्यायको नै मापन गर्न सकिन्छ । आवश्यकताको आधारमा उपचार खोजिने भएको न्याय पनि कम वेशी वा मात्रामा मापन गर्न सकिंदैन । त्यसतर्फ सबै सरोकारवालाले ध्यान दिनु जरुरी छ । तब मात्रै न्याय हुनेछ । अपराधको मापन संख्यात्मक होइन की गम्भीरताका आधारमा हुने हो । यो घटनाले महिला अधिकार प्राप्तिको वकालतमा लागेका र सबै किसिमका विभेदको अन्त्यका लागि क्रियाशिल अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, राज्य संयन्त्र सबैलाई गम्भीर बनाएको हुनुपर्छ । न्याय प्राप्तिको कार्यमा सबैले रचनात्मक सहयोग गर्न सके मात्रै पीडितले न्याय पाउने हुँदा सबैले सचेत भई अगाडी बढनु पर्ने देखिन्छ । अन्यथा फेरि पनि निर्मला पन्त हत्याकाण्ड जस्तै कुहिरोको काग हुनेमा दुविधा छैन । (लेखक पाण्डे अधिवक्ता हुन्)






प्रतिक्रिया

प्रतिक्रिया