नेपालगन्ज उपमहानगरपालिकाको पुसको पहिलो साता बसेको बोर्ड बैठकले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि अगुवाइ गर्ने निर्णय ग¥यो । राजनीतिक दल, उद्योगी, व्यापारी, कानून व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवाहरुसँगको छलफलले समन्वय समिति गठन गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने अभियानको अगुवाइ गर्ने भएको थियो । अभियानले कर्णालीमा गाभिनको लागि आन्दोलन गर्ने र आन्दोलनको माहोल बनाउनका लागि स्थानीय तहलाई अगाडि सार्ने रणनीति बनाएको छ । कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले माघ ९ गते कोहलपुरमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा भाषा, संस्कृति रहनसहन मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अङ्गका रुपमा बाँके बर्दिया समाहित हुनुपर्ने भनाइ राखे भने त्यसको केहि दिनपछि माघ २५ गते नुवाकोटमा आयोजित एक कार्यक्रममा बाके र बर्दियाका जनताका केहि असन्तुष्टिहरु रहेकोले प्रदेश ५ को सिमाना हेरफेर हुनसक्ने बताए । प्रदेश स्थापनाको २ वर्ष बित्दा नबित्दै आएका यि खबरहरुले ठूलो तरंग उत्पन्न नगरेपनि एकपटक सोंच्नैपर्ने भने बनाउका छन् ।


नयाँ मुलुक मध्येका दुई जिल्ला बाँके र बर्दिया २०३० को दशकसम्म नेपालका अन्य भूभागको कम सम्पर्कमा रहेका थिए । घना जंगल, नेपालका अन्य क्षेत्रसंग सम्पर्क गर्न कठिन जस्ता कारणले यी जिल्लाहरुमा बाहिरि जिल्लाबाट कम मानिस यी जिल्लामा बसोबास गरेको पाइन्छ । वि.स. २०११ सालमा बाँकेमा ८२४४९ र बर्दियामा ५८३८३ जना बसोबास गरेकोमा वि.स. वि.स. २०२८ मा ति जिल्लाको जनसंख्या क्रमश १२५७०९ र १२८७२२ पुगेको थियो । वि.स.२०२८–३८ को दशकमा बाँकेको जनसंख्या ६३.३३ र बर्दियाको जनसंख्या ९५.९५ प्रतिशतले बढेको थियो भने २०४८–२०६८ को अवधिमा ति जिल्लाहरुको जनसंख्या क्रमश ५८.१२ र ६८ प्रतिशतले बढेको थियो । वि.स. २०२८ मा बाँकेको जनघनत्व ५४ र बर्दियाको जनघनत्व ५०.३ रहेकोमा वि.स. २०६८मा आइपुग्दा यी जिल्लाको जनघनत्व क्रमश २१० र २११ पुगेको देखिन्छ ।

वि.स. २०३८ सालमा मध्ये पश्चिम तराइको कूल जनसंख्याको ६७०७६० जना मध्ये ५४३६४ जना बाहिरि जिल्लाबाट आएका थिए । बाहिरि जिल्लाबाट आएकाहरु मध्ये ५७.२२ प्रतिशत साबिकको मध्य मश्चिमी पहाडी र १२.८२ प्रतिशत पश्चिमी पहाडबाट गएका थिए । वि.स. २०६८ को जनगणना अनुसार बर्दियाको कूल जनसंख्याको १७.४ र बाँकेको कूल जनसंख्याको १९.८ प्रतिशत जनसंख्या बाहिरि जिल्लाबाट आएको देखिन्छ । यी दुई जिल्लामा बसाइ सरेर आउनेहरु मध्ये अधिकांश मानिसहरुको उदगम स्थल हालको कर्णाली प्रदेश नै हो । पछिल्लो दशकमा यी दुई जिल्लाहरुमा कर्णाली प्रदेशबाट आउने मानिसहरुको संख्या अझ बढिरहेको कुरा यहाँको वस्ती विस्तारबाट देखिन्छ । तराईका समथर ठाउँमा बसेपनि बसाई सरेकाहरुको मनमा कर्णाली माया यथावत नै छ । यहि कारणले उनीहरुलाई आफ्नो उद्गम थलो र बसोबास थलो एकै प्रदेशमा रहोस भन्ने लागिरहन्छ ।


बाँकेमा मुस्लिम र बर्दियामा थारु मुख्य जाति हुन् । बसाइसराइ नहुदासम्म यी दुई जातिहरु यी जिल्लामा निर्णायक अवस्थामा भएपनि पछिल्ला दिनहरुमा यी जातिको अनुपात विस्तारै ओरालो लाग्दै छ । बर्दियामा थारुको संख्या ५३ प्रतिशत भएपनि थारु आन्दोलन र टिकापुर घटनाले त्यहा धेरै थारुहरुलाई बिस्थापित बनाएकोले अहिले थारुको अनुपात त्यहि नै छ भन्ने कुरामा विस्वास गरिहाल्न मिल्दैन । बाँके जिल्लामा थारु र मुस्लिमहरुको जनसंख्याले वि.स. २०५८मा क्रमश १६.४ र २१.१ प्रतिशत हिस्सा ओगटेको भएपनि २०६८मा आउदा यो अनुपातमा ओरालो लागेर क्रमश १५.६ र १९ प्रतिशत कायम भएको थियो । नव नागरिकलाई नागरिकता दिएर भित्राएको र पहाडी क्षेत्रबाट मानिसहरु बसाइ सरेर आएको कारणले यहाका पुराना बासिन्दाहरु जनसंख्यामा मात्र नभई दाङ्ग र कपिलवस्तु जस्ता आफ्नो समुदाय भहेका जिल्लाहरुसंगको सम्बन्ध विस्तारमा समेत कमजोर बनिरहेका छन् । कैलाली र कंचनपुर जस्ता थारु बहुल जिल्लाहरु टुक्रिएर अर्को प्रदेशमा परेको अवस्थामा यहाँका थारु र मुस्लिमहरु आफ्नो समुह ठुलो भएका यहाँकै अन्य जिल्लासंग मिलेर रहने आवाज उठिरहेपनि त्यो आवाज बाहिरियाहरुको आवाजको सामु शिथिल बनिरहेको छ ।


नेपालगन्जका केहि अगुवाहरुले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा राख्न चाहनु र कर्णालीका नागरिक र अगुवाहरुले पनि त्यहि चाहनुमा पूर्वाधारको प्रयोग र आर्थिक लाभ मुख्य आधार हो । नेपालगन्ज कर्णालीको लाइफलाइन हो । कर्णालीको सम्पूर्ण आयात निर्यात ब्यापार बाँके र बर्दिया हुदै हुने गरेको छ । कर्णाली प्रदेशका प्रायजसो ब्यापारी, सामाजिक अगुवा र कर्मचारीले बाँके र बर्दियामा घर घडेरी जोडेका छन् । धेरैका छोराछोरी नेपालगंज र कोहलपुरमा बसेर पढेका छन् । नेपालगन्जमा ब्यापार व्यवसाय गर्ने धेरैजना कर्णाली प्रदेशका वासिन्दाहरु छन् । त्यसैले पनि उनीहरुको लागि कर्णालीलाई बाँकेसंग जोड्नु जरुरि छ । कर्णाली प्रदेशकोलाई उत्तरी सिमाना निकै असहज छ । अन्तर्राष्ट्रिय ब्यापार र सहज आवागमनका लागि नेपालगंज र राजापुर आवस्यक छ भने उर्वर भूमिको लागि पनि बाँके र बर्दिया चाहिएको छ । सुर्खेतका धेरै राजनैतिक अगुवाका राजनैतिक शक्ति नेपालगन्ज, कोहलपुर, गुलरिया र राजापुरमा रहेकाले पनि उनीहरुसंग जोडीइरहनका लागि पनि जिल्ला गाभ्न जरुरि छ ।


संघियतामा नेपालगन्जले आफुलाई ठगीएको महसुस गरेको छ । पुर्वाधारयुक्त भएकोले नेपालगन्ज ५ नम्बर प्रदेशको राजधानी बन्छ भन्ने बाँकेका धेरै वासिन्दाहरुलाई लागेको थियो तर त्यसो भएन । बुटवललाई प्रदेशको अस्थायी राजधानी घोषणा गर्दा नेपालगन्जमा पापड नेपालगन्जको अगुवाइमा २०७४ माघमा नै विरोध ¥याली निकालिएको थियो । असहयोग आन्दोलन गरेर भएपनि नेपालगन्जलाई राजधानी बनाउन बाध्य पार्ने घोषणा आन्दोलनमा अगुवाहरुले गरेपनि त्यसले गति लिन भने सकेन । अहिले राजधानीको चर्चामा बुटवल र दाङ्ग मात्र आउने तर नेपालगन्जको बारेमा उच्च नेताहरु नबोलिदिदा बाँकेबासीको मन दुःखेको छ । पंचायतकालमा स्थापना गरिएका केहि कार्यालय र सस्था बाहेक नेपालगन्जले केहि पाउन सकेको छैन । सहकारी प्रशिक्षण केन्द्र, नेपाल टेलिभिजन र गोरखापत्रको कोहलपुर सस्करण बाहेक अन्य केहि नपाएको दुखेसो बाँकेबासिलाई छ ।

नेपालगन्जलाई सम्बोधन गरेर महानगर बनाउने कुरा प्रदेश सरकारले बारम्बार गरिरहेपनि नेपालगंज महानगर बनाउनको लागि प्रदेश सरकारले जुन आर्थिक र प्राविधिक सहयोग प्राप्त गर्नुपथ्र्यो, त्यो पाउन सकेको छैन । नेपालगन्जको सामाजिक र व्यापारिक सम्बन्ध हिजोका दिनमा लुम्बिनी अन्चलसंग थिएन तर राप्ति अन्चलका पहाडी जिल्लाहरु नेपालागंजसंग जोडिएका थिए । अब कोइलाबास नाकाको स्तरीकरण, मध्यपहाडी लोकमार्गको निर्माण, प्रदेश सरकारले बनाउन लागेको रानी सडक जस्ता पूर्वाधारले गर्दा राप्ति अन्चलका पहाडी जिल्लाहरुको नाता नेपालागंजसंग टुटिसकेको छ । यस कारणले अपनत्व नभएको क्षेत्रसंग जोडिएर ५ नम्बर प्रदेशमा बसिरहनु भन्दा सगोत्री, ब्यापार र भौगोलिक सम्बन्ध भएको कर्णाली प्रदेशसँग जोडीन खोज्नुलाई अस्वाभाविक भन्न मिल्दैन ।


प्रदेश ५ मा बाँके र बर्दियाको भौगोलिक, आर्थिक र सामाजिक महत्व निकै छ । प्रदेशको कूल वन क्षेत्र मध्ये २५.७७ प्रतिशत वन क्षेत्र छ भने कूल खेतीयोग्य जमिनको २३.९९ प्रतिशत जमिन यी जिल्लामा रहेको छ । प्रदेशको समृद्धिको आधार बन्न सक्ने भनिएको भेरी बबई डाइभर्सनका साथै पर्यटकीय सम्भावना बोकेका बाँके र बर्दिया राष्ट्रिय निकुन्ज यहि क्षेत्रमा छन् । नेपालगन्ज भारतीय पर्यटकको मुख्य हब बनेको छ । नेपालगन्ज प्रदेशको मुख्य नाका मात्र नभएर दाङ, रोल्पा र रुकुमको प्रमुख बाणिज्य केन्द्र समेत हो । बसाईसराइले गर्दा बाके र बर्दिया मिश्रित जातीय समाज बनेको छ र यो समाज राजनीतिको लागि उर्वर भुमि समेत बनेको छ । यिनै कारणले गर्दा बाके र बर्दिया प्रदेश ५ को लागि अनिवार्य भूगोल बनेको छ ।


प्रदेश भूगोल मात्र नभएर जनसंख्या, सस्कृति, समाज र आर्थिक निकटताको स्वरूप पनि हो । बाँके र बर्दिया भूगोलमा प्रदेश ५ मा रहेपनि यसका निर्भरता र आवश्यकताहरु कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेको छ । यसो भन्दैमा अहिले नै बााके र बर्दियाको मौलिकता र भूमिपुत्रहरुको त्यागलाई बिर्सन मिल्दैन । बाँके र बर्दियालाई कर्मथलो र सुरक्षित बासस्थान बनाएकाहरूले कर्णालीमा मिसिन चाहेपनि यहाँका भूमिपुत्रहरूले त्यो मागलाई पक्कैपनि स्वीकार्ने छैनन् । उनीहरुको लागि कर्णालीमा जोडिनु भन्दापनि दाङ र कपिलवस्तु वा कैलाली र कंचनपुर प्यारो हुन्छ । यस्तो अवस्थामा अगुवाहरुले चलाउने भनिएको आन्दोलनको प्रतिकारमा अर्को माग नआउला भन्न सकिदैन । कर्णाली प्रदेशमा गाभिएपनि नेपालगन्ज र गुलरिया किनाराका शहर मात्र हुनेछन, प्रदेशलाई नेतृत्व गर्न पाउने छैनन् । त्यसैले प्रदेशको राजधानी नपाएकै कारणले घुर्की लगाएर अर्को प्रदेशमा मिसिन्छौँ भन्नुको साटो बाँके र बर्दियालाई प्रदेशको आर्थिक सामाजिक केन्द्र बनाउन अगुवाहरु लाग्नु उचित हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया