नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्ष पदमा उद्योग र वाणिज्य तर्फ गरि दुईवटा उपाध्यक्ष पदका लागि चुनाव हुँदैछ । नेपालगन्जमा वाणिज्य र उद्योग तर्फका समस्या, अवसर र समाधानका उपायका विषयमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुका धारणा बुझ्ने प्रयास स्वरुप हामीले साझा प्रजातान्त्रिक प्यानलका उद्योग तर्फका उम्मेदवार तपेन्द्र विक्रम शाहसँग संवाद गरेका छौँ ।
चुनावी अभियानमा मतदाताहरुबाट कस्ता प्रतिक्रियाहरु पाउनुभयो ?
म हालपनि उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य छु । त्यसक्रममा संघको योजना उपसमितिको संयोजकको भुमिका इमान्दारीपुर्वक निभाएको छु । सदस्य पदमा रहँदा मैले आफुले चाहेका केही कामहरु गर्न नसकेको हुँदा त्यो भन्दा माथिल्लो पदमा पुगेपछि काम गर्न सजिलो हुने अपेक्षाले मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । मैले सदस्य पदमा रहँदा देखाएको सक्रियताका कारण नै व्यवसायी साथीहरुले उम्मेदवारी दिन हौस्याउनुभएको थियो । अहिले चुनावी प्रचारप्रसारका क्रममा पनि मतदाताहरुले मलाई हौसला दिइराख्नुभएको छ । तपाईजस्तै कुरा भन्दा काम गर्ने मान्छे संघमा आवश्यक छ भनेर उहाँहरुले मेरो कामलाई प्राथमिकता दिएको मैले पाएको छु ।
केही विशेष अपेक्षाहरु सुन्न पाउनुभयो ?
विशेष अपेक्षा भन्दापनि व्यवसायी साथीहरु उद्योग वाणिज्य संघमा पद ओगटेर बस्ने मान्छेभन्दा काम गर्ने मान्छेको खोजिमा रहेको मैले पाएँ । उहाँहरुले संघलाई राजनिती गर्ने माध्यम भन्दा पनि व्यवसायिक हितमा केन्द्रित रहने उर्जाशील प्रतिनिधिको खोजी गरेको मैले महसुस गरेको छु । त्यो उहाँहरुले हामीसँग भेट हुँदा व्यक्त पनि गर्नुभएको छ ।
तपाई उद्योग उपाध्यक्ष उम्मेदवार भएकोले कस्ता एजेण्डामा जोड दिनुभएको छ ?
मलाई के लाग्छ भने राजनितीक नेताहरुले जस्तो मैले यो गर्छु, या त्यो गर्छु भनेर आश्वासन बाड्न हामीले सुहाउँदैन । तर मेजर समस्याका विषयमा हामीले व्यवसायीहरुको आवाजको नेतृत्व गर्नैपर्छ । त्यस्ता केही समस्याहरुमा हाम्रो टिमले लिने पहलकदमीका विषयमा हामीले प्रतिबद्धता पत्रमै सार्वजनिक गरिसकेका छौँ । मैले के भन्न सक्छुँ भने म उपाध्यक्षमा विजयी भएमा सबैभन्दा पहिले मैले उद्योगीहरुसँग परामर्श र भेटघाटलाई प्राथमिकता दिन्छु । साना, मझौला र ठुला उद्योगीहरुसँग छुट्टाछुट्टै गहन छलफल गर्नेछु । किनभने म आफै उद्योगी भएपनि समग्र उद्योगको वास्तविक समस्या र अवसरहरु मलाई थाहा नहुन सक्छ । उहाँहरुका सुझावअनुसार नै मैले आफ्ना योजनाहरु तयार गर्नेछु र त्यहि अनुसार अघि बढ्नेछु ।
उद्योगीका साझा समस्याहरु चाहिँ के हुन त ?
अहिले सबै उद्योगीहरुले भोगिरहेका साझा समस्यामध्ये एक हो दक्ष जनशक्तिको कमी । जब उद्योगहरुमा उत्पादनशिल दक्ष जनशक्ति नै हुँदैन भने कसरी त्यसले नाफा कमाउन सक्छ ? उद्योगहरुको उत्पादन जनशक्तिको सिपसँग प्रत्यक्ष जोडिएको हुन्छ । अहिले हामीकहाँँ भएका जनशक्तिहरु लगानी अनुसारको प्रतिफल दिन सक्षम छैनन् । अहिले यहाँका अधिकांश उद्योगहरुले लक्ष्यअनुसार उत्पादन गर्न नसक्नुको कारण नै जनशक्तिको अभाव हो । यसले उत्पादन भन्दा सन्चालन खर्च बढ्न गई उद्योगहरु पलायन हुने डर रहन्छ । त्यसकारण संघले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सहजकर्ताको भूमिका खेलिदिनुपर्छ भन्ने मेरो योजना छ । त्यसले उद्योगीलाई मात्रै होइन यहाँको रोजगार क्षेत्रमा पनि योगदान देओस् भन्नेतिर मेरो ध्यान रहनेछ । रोजगारी नभएर युवाहरु विदेश पलायन भइरहेको अवस्थामा राज्यको ध्यान पनि देशमै रोजगारी सृजना गर्नेतिर लक्षित छ । अब उद्योग वाणिज्य संघले राज्यका निकाय र गैरसरकारी निकायसँग समन्वय र सहकार्य गरि जनशक्तिलाई दक्ष बनाउने र यहिँका उद्योगहरुमा योगदान दिनसक्नेगरि तयार गर्न भूमिका खेल्नसक्ने ठाउँहरु छन् । अर्काेतिर नेपालगन्ज राजनीतिक भागबण्डाको खेलमा पछि परेपछि यहाँको समग्र व्यवसायिक क्षेत्रमा त्यसको असर देखिन थालेको छ । अब त्यसलाई कसरी पहिलेकै अवस्थामा फर्काउने भन्ने विषयमा पनि संघले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्छ । कर्णाली प्रदेशमा जोडौँ भनेर उद्योग वाणिज्य संघले आवाज मात्रै उठाउन सक्ने हो । त्यो आवाज समाजका अरु तप्कासँग मिले उठाइएमा त्यसले परिणाम हाँसिल गर्न सक्छ । व्यवसायीहरुकै सुझावका आधारमा यहाँ सन्चालनमा रहेका उद्योगहरुलाई बलियो बनाउन मेरो संघको तर्फबाट गर्नुपर्ने कामको ठोस खाका बनाएर अघि बढ्ने मेरो योजना छ ।
नयाँ उद्योगहरु सन्चालन गर्ने वातावरण निर्माणमा संघको भूमिका कस्तो हुनेछ ?
नयाँ उद्योग सन्चालनका सन्दर्भमा कुरा गर्दा सबैभन्दा पहिले यहाँको सम्भावनाहरुको खोजी र त्यसको तथ्यगत विश्लेषण हुन आवश्यक छ । नयाँ उद्योग त खोल्ने भनियो, तर कस्ता खालका उद्योगहरु सन्चालन गर्ने ? तिनका लागि आवश्यक कच्चा पदार्थ छ कि छैन ? लगानी अनुसारको प्रतिफलका लागि के गर्नु आवश्यक छ ? जस्ता कुरामा संघको अभिभावकीय भूमिका हुनुपर्छ । अहिले युवाहरुमा उद्यमी बन्ने साेंचको विकास त भएको छ । तर त्यो सोचलाई मूर्तरुप दिन र सफल बनाउन मार्गदर्शनको पनि खाँचो छ । उनीहरुलाई लगानीको स्रोतको पहिचान गराउनु आवश्यक छ । लगानीकै कुरा गर्दा अहिले बैंकसँग सम्बिन्धत कारोबारमा समस्याहरु देखिन थालेका छन् । अधिकांश व्यवसायीहरु बैंकको तनावले ग्रसित भएका समेत सुनिन थालेका छन् । यसो हुनुका पछाडी सरकारको नितीको स्थायित्व नहुनु मुख्य कारण हो । हिजो खुकुलो रहेका नितीहरुमा अहिले कडाई गरिएको छ । यसो गर्दा व्यवसायीहरुमा अन्योलको वातावरण सृजना हुन्छ । नेपालगन्जकै सन्दर्भमा कहिले कर्णालीसँग गाभ्ने, कहिले राजधानी बनाउने, कहिले औद्योगिक राजधानी बनाउने जस्ता कुुराहरु सरकारका प्रतिनिधिहरुबाटै सुनिन्छ । यस्तो अवस्थामा संघले निती र राज्यका क्रियाकलापले उद्योग व्यवसायमा पार्ने असरहरुविरुद्धमा समाजका अन्य तप्काको सहयोग लिएर दवाब सृजना गर्नु आवश्यक छ । उद्योगमा लगानी गर्न चाहनेहरुले ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनु राज्यको जिम्मेवारी हो ।
नेपालगन्जको उद्योग क्षेत्रमा संभावनाहरु के–के देख्नुहुन्छ ?
बाँकेमा सबैभन्दा राम्रो सम्भावना भनेको कृषिसँग सम्बिन्धित उद्योगको हो । त्यसमा पनि जडिबुटीसँग सम्बन्धित उद्योगको सम्भावना यहाँ राम्रो देखिन्छ । किनभने जडिबु्टीको भण्डार कर्णाली हामीबाट नजिक छ । ति जडिबुटीको प्रशोधन गर्ने अत्याधुनिक उद्योगहरु यहाँ स्थापना गर्ने हो भने त्यसले राम्रो प्रगति गर्न सक्ने देखिन्छ । त्यसो भएमा अहिले जडिबुटी नपाइरहेको मुल्य र सहज बजारीकरण पनि प्राप्त गर्न सक्छ । मेरो दृष्टिकोणमा कि त साना उद्योगहरुको सम्भावना छ कि त ठुला उद्योगहरुको । सरकारको नीति नै त्यस्तै भएको मेरो बुझाइ छ । त्यसकारण उद्योग क्षेत्रमा आउन चाहनेहरुले लगानी र कच्चा पदार्थमा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म हाम्रै क्षेत्रमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगहरुकै सम्भावनाको खोजी गर्नुपर्छ । अबका उद्योगहरु आयातित कच्चा पदार्थमा आधाति भएमा त्यसले नयाँ संभावनाहरुको पनि ढोका खोल्छ भन्ने मलाई लाग्छ । यहाँका कच्चा पदार्थहरुलाई हामीले उपभोग्य बनाएर बजारमा पठाउन सक्यौँ भने त्यसले समाजलाई पनि अझ बढि योगदान दिन्छ ।
अघि सुरुवातमा सदस्य पदमा रहँदा केहि योजनाहरु पुरा भएनन् भन्नुभएको थियो ? ती के–के हुन ?
नेपालगन्जमा खस्किँदो व्यापार छ । त्यसका कारणहरुमध्ये एक खुला सिमानाका वारेमा व्यवसायीहरुले आवाज उठाउँदै आएका छन् । मैले यसअघि यहाँँका ग्राहकहरुलाई आकर्षित गर्न महिनामा एकपटक व्यापारिक क्रियाकलाप बन्द गर्ने र त्यसदिन हाटबजारलाई सन्चालन गर्ने विषयमा छलफल गर्ने प्रयास गरेको थिए । जुन सफल हुन सकेन । मेरो योजना के हो भने, हाटबजारलाई पनि विशेष बनाऔँ । पालैपालो सबै वस्तुहरुको हाटबजार सन्चालन गर्ने मेरो योजना हो । त्यसले ग्राहकहरुलाई पनि आकर्षण गर्ने र व्यवसायीहरुलाई पनि अवसर दिन्छ । म पुनः निर्वाचित भएमा यो योजना पुर्णता दिने प्रयास गर्नेछु ।