नेपालमा अहिले कुना कुना गल्ली गल्लीमा चिया पसल देखि मसानघाटसम्म प्रशस्तै चर्चा गरिने बिषय हो समृद्धि । सरकारको र यसका निकायहरुको रातोदिनको रोइलो हो समृद्धि । सत्ताधारी पार्टी र यसका कार्यकर्ताको गर्व हो समृद्धि । स्थानीय सरकारका अधिकाशं नेताहरुको भाषण हो समृद्धि । समग्रमा नेपालका प्रधानमन्त्री ज्यूको नारा हो समृद्ध नेपाल सुखी नेपाली । तर यो लामो र निकै चर्को चर्को स्वरमा समृद्धिको कुरा गर्दै गर्दा मेटिएको र हराइरहेको बिषय हो नेपाली पहिचान, नेपालीको समग्र अस्तित्व अनि आफ्नो मौलिकता ।
नेपालमा पछिल्लो दुई दशक निकै सार्वजनिक चर्चा बनाइएको बिषय हो, पहिचान । यसैको बुइ चढेर अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले नेपालीहरुलाई आपसमा घृंणा गर्न र कित्ताकाटमा रमाउन सिकाए । उनीहरुको नग्न नाचमा देशले कहिल्यै नभोगेको हत्या हिंसाको बाटो समायो । राजनीतिमा नेपाल देश र यसको मौलिकता गौण बनि रह्यो । राष्ट्रियताले कहिल्यै महत्व पाएन । बरु यहाँका राजनीतिक पार्टीहरु नै यिनिहरुका गोठाला र भरिया बनेर आफ्नो मौलिकता, आफ्नो पहिचान मास्ने मतियार नै बनि रहे । नेपालको बौद्धिक जगत समेत देशको मौलिकताको, आफ्नो संस्कृतिको, भाषाको उछितो काढेर बढि नै सभ्य र बढि नै जान्ने सुन्ने कहलिन अग्रसर नै देखिए । नेपालका संचार जगतले बिज्ञापन, बेला बेलामा गराइने भ्रमण प्रायोजन आदिमा आफ्नो कलम नेपालको धर्म संस्कृति र भाषाका पक्षमा चलाउन सकेन या चाहेन । पत्रकारिता समेत कता कता “पर” कारितामा रमाउन खोज्यो ।
भनिन्छ जसको नून या मानो खाइन्छ उसको उछितो काढ्ने होइन । त्यसैले होला यो उखान कतै यहाँ पनि लागू भएको पनि । तर जुन देशले आफ्नो खुट्टा राख्ने स्थान दिएको छ , जुन धर्म, संस्कृति, भाषा र सभ्यताले आफ्नो पहिचान दिएको छ त्यसको उछितो काढेर हिड्ने छूट कसरी पाइयो त्यसको उत्तर कसैसँग छैन । बिगतका धेरै आश्वासनबाट उठेको आवाजले आज देश बिभक्त छ, आहत छ । देशको समाजिक संरचना नै खल्बलिएको छ । बैर भाव र मन मानिल्यताको अवस्थामा छ । राज्यले समेत यसमा भूल गरिरहेको छ । घृंणावाद र कित्ताकाटको यो मुस्लोले हाम्रो समाजको संयमता बिथोलिदिएको छ । नेपालका प्रायजसो मौलिकतामा नियोजित रुपमा आक्रमण भै रहेको छ । राष्ट्रको अस्मिता नै धरापमा पर्ने गरि शक्तिकेन्द्रहरुमा योजना बनाइँदै छ र यहाँ त्यसको भटाभट प्रयोग गरिँदै छ । नेपालीपनलाई योजनाबद्ध तरिकाले गाली गरिँदै छ । नेपालको आफ्नो राष्ट्रिय पहिचानलाई सम्पन्नताको नाउँमा तिरष्कार गर्ने संसकारको पक्षपोषण गरिँदै छ । यसमा न त नेपाली समाजको ध्यान पुग्न सकेको छ न यहाँको सर्वशक्तिमान जे पनि गर्न र गराउन सक्ने सरकारको । के देशले र नेपाली समाजले खोजेको मात्रै हो समृद्धि त्यो चाहे जुनसुकै कसौटी र मूल्यमा प्राप्त होस ?
पछिल्लो दिनमा यो पङ्तिकारले देशका केहि स्थानहरुमा र केहि शैक्षिक संस्थानहरुमा गएर नेपाली मौलिकता, नेपाली लगायत यहाँ रहेका अधिकाशं जातजातिका भाषा संस्कृतिका बारेमा बुझ्ने प्रयास गर्यो । यसरी बुझ्ने क्रममा त्यहाँ भेटिएको स्थितिले मलाई कहाली लाग्दो बनायो । यतिसम्म कि पूर्णरुपमा साक्षर सम्म नभएको स्थानमा समेत आफ्नो गाउँ ठाउँको भै रहेको नाम समेत मासेर पश्चिमाहरुले राखिदिएको नाममा रमाएको पाइयो । यहाँका विद्यालयहरुमा समेत आफ्नै भाषा प्रति घृणाको स्वभाव रहेको पाइयो । धेरैजसो विद्यार्थीहरु जो नेपाली माध्यमबाट अध्ययन गर्छन माध्यामिक तहकाले समेत स्पष्टसँग नेपाली पढ्न र लेख्न नसक्ने गरेको पाइयो । कतिपय बिद्यार्थीहरु सँग आफ्नो संस्कारको बारेमा सोध्ने मन भयो र जिज्ञासा राखें पनि तर त्यसको बारेमा कसैलाई खासै चासो रहेन बरु ख्रिसमस, अँग्रेजी नयाँ बर्षको बारेमा धेरै चासो देखियो । कतिपय बयस्क बालबालिकाहरुलाई आफ्ना नाता सम्बन्धको बारेमा सोधें तर धेरैजसोलाई यस बारेमा खासै जानकारी रहेको पाइएन । आफ्ना आमा बुबालाई र आफुले मान्य व्यक्तिको सम्मान र सम्बोधनका बारेमा सोध्दा धेरैलाई आएन । कतिले आफ्ना आमाबाबुलाई ढोग्छन त भनेर हात उठाउन लगाउँदा जम्मा जम्मी २५ प्रतिशतको हात उठेको पाइयो । खानपान र पहिरनको बारेमा त भन्नै पर्दैन र खोज्नै पर्दैन सबका सब पुरै अर्कैको । लामा लामा कपालहरु, रंगीबिरंगी बनाएर, टाटु हानेर, कपाल बिभिन्न किसिमबाट काटेर बिद्यालयमा आउने कुरा त झन सामान्य नै भैसकेको छ । खानामा अब घरको भन्दा होटलहरुको, रोटीको सट्टा चाउमिन पिज्जा बर्गर लगायत अन्य पाकवानमा रमाउने र घरमा पाकेको छोडेर बजारु पत्रु खानेकुरा (जंकफुड ) खाने खुवाउने सामान्य भैसकेको बिधितै छ ।
यो त एउटा अलि प्रचलित भएको सुगम स्थानको मेरो अध्ययन हो । म अन्य अलि दुर्गम या राज्यको किनारामा परेका ठाउँहरुमा पनि पुग्ने प्रयास गरेको छु जहाँको अवस्था हेर्ने हो भने मैले यहाँ उल्लेख गर्न पनि म आफैलाई लाज लाग्छ । त्यहाँ मात्रै आइएनजिओको भाषा छ, सभ्यता र संस्कृति छ । यिनिहरु कै या यिनका दलालहरुको शासन छ । शासन प्रशासन योजना नीति यिनीहरु कै चल्छ । भन्न त नेपालमा पहिचानको लडाईं लडेकाहरु आज सत्तामा छन । पहिचान कै नाममा सत्तामा मनमत्त भएकाहरुले पहिचानको परिभाषा ठाउँको ऐतिहासिकता मेटाएर, आफ्नो भाषालाई बिस्थापन गरेर, आफ्नो संस्कृतिको उछितो काढेर या यसलाई गाली गरेर गर्दैछन । हाम्रा आफ्ना मौलिक परम्परा, संस्कृतिमा रमाएको समुदायको सर्वस्व मासेर पहिचानको परिभाषा गर्दैछन । नेपालमा बोलिने दशौं बीसौं भाषाहरुलाई संरक्षण होइन, त्यसका पाठ्क्रम निर्माण गरेर होइन, प्राथमिक तहसम्म मातृभाषामा पढाउने व्यवस्था गरेर होइन, आफ्ना मौलिक खानपानहरुको बान्डिङ गरेर होइन मात्रै राजनीतिक रोटी सेक्ने मनसायले मात्रै पहिचानको ढोंग रचेर भ्रमजाल तयार गरिएको छ । झण्डा बोकेर आफ्नै देशभित्रका एक अर्काको भाषा, संस्कति र परम्परालाई गाली गरेर पहिचान खोजिँदै छ । राज्य सञ्चालकहरु यसैमा आफ्नो भविष्य खोजिरहेका छन ।
आज देश समृद्धिको यात्रामा रहेको भन्दै गर्दा कस्तो समृद्धि कस्तो खुशियाली या कस्तो सम्पन्नता हो यसको ठ्याक्कै परिभाषा छैन । भेटे र देखे जतिको सबै हब बनाउने, सबैथोक नेपाल मै प्रयोग गर्ने, संसारलाई नेपाल चलाउने ठेक्का दिने सोचले आउने समृद्धिको झलक केहि देखिँदै छ भने केहि बर्षमा यो उल्टी नै आउने गरि देखिनेमा रत्तिभर शंका गर्नु पर्दैन । बिगतको लामो समयकाल झण्डै सात दशक देखि रोपिएको ‘पहिचान’ को बीउ बिरुवा मात्रै बनेको छैन त्यसमा फल लागेर पनि झर्न थालि सकेको छ । यहि ‘पहिचान’ को खति उपतिमा धेरैका स्वार्थका बाली पाकेका छन भने त्यहि पाकेको बालीको भान्सा तयार गरेर आज नेपालमा धेरैको चुल्हो जलेको छ । तर पनि नेपालको र नेपालीको वास्तविक पहिचान के हो र के लाई हाम्रो समाजले आफ्नो पहिचान भन्ने यो सम्बन्धमा समुच्च नेपाली समाजको अधिकाशं प्रभुत्व वर्ग या त दिशाहीन बनेको छ या फेरि आफ्नो पाकिरहेको बालीमा अलि दिन रमाउन चाहिरहेको छ ।
यो संसारमा हरेक समाजको एउटा पहिचान छ, हरेक देशको आफ्नो बिशिष्ट पहिचान र परिचय छ । संसारका धेरै देशहरुले भौतिक समृद्धि हासिल गरेका छन । आधुनिक संसारका निकै सभ्य र बिकसित पनि भएका छन तर त्यहाँ आफ्ना् मौलिकता मासिएको छैन । आफ्नो भाषा मासेर संस्कृति मासेर सभ्य र भव्य समाजको निर्माण गरेको भन्ने दृष्टान्त दिएका छैनन । चाहे जापान होस या चीन या फेरि मस्लिम देशहरु नै किन नहुन त्यहाँ आफ्नो कुनैपनि आफ्नोपनलाई धरौटी राखेर बनेका होइनन । नेपालमा त सरकारी अड्डाहरुमा, व्यवसायिक प्रतिष्ठान या फेरि नीजि कारोबारका ठाउँहरुमा समेत आफ्नो भाषालाई दोश्रो दर्जामा राखेर साइनबोर्डमा लेखेर गदगद हुने र गर्व गर्ने गरिन्छ । ठूलो अक्षरमा अँग्रेजीमा लेखेर नेपाली अक्षरलाई सानो पारी लेख्ने त यहाँ चलन नै भैसक्यो । यसमा राज्यको मौन सम्मति छ । अनि यहाँ नेतैपिच्छे पहिचानका भाषण कान फुट्ने गरि गर्दै गर्दा तिनिहरुलाई रत्तिभर लाज लाग्दैन । तर त्यहि बिदेशीहरुले नेपालमा एउटा धारो गाडी दिँदा पनि आफ्ना् भाषामा लेखेर शिलालेख टाँस्छ । त्यो शिलालेखमा लेखेको भाषा नबुझे पनि भाषण गर्ने नेपालीले आफ्नो पहिचानको र आफ्नो भाषाको कुरा बोलिहाल्छ तथापि त्यो नेतालाई के लेखेको भन्ने थाह होस या नहोस । अनि त्यहि बिदेशी दातृराष्ट्रको भाषाको पत्थरमा लगाएको रातो कपडा उठाएर रिबन काट्दै नेपाली भएकोमा गर्व गरिन्छ ।
समृद्धि हुनु पर्छ यसमा कुनैपनि नेपालीको बिमति छैन र रहनु पनि हुँदैन । आजसम्म देशले पहिचानको र समृद्धिको नाममा ठूलो रत्तपात बेहोरिसकेको छ । अरबौं रुपैया जनताको करबाट खर्चेर दश बर्ष लगाएर जम्मा जम्मी एक थान संविधान पाएको छ । इतिहास कै सर्वशक्तिमान सरकार बनाएर हामी नेपालीले समृद्धिको नारा घन्काउँदै गर्दा र पहिचानको राँको बाल्दै गर्दा बर्षमा मात्रै एकदिन टुँडिखेल र देशका चोक चोकमा ताल ठोकेर हुँदैन । खानापूर्ति गर्ने केहि शब्द बोलेर मात्रै हुँदैन, बास्वबिक रुपमा आफ्नो धर्म, संस्कृति परम्परा भाषा र सभ्याताको संरक्षण र व्यवहारिक रुप मैं प्रयोग गर्न अब धेरै ढिला भै सक्यो । यस प्रति सबैको ध्यान पुगोस । हामी सबैले तत्तत् ठाउँमा रहेर आफ्नो कर्तव्यको निर्वाह गर्नै पर्छ । हाम्रो मौलिकता बचाइदिने कुनै पनि बिदेशीले होइन हामी आफैले हो । हाम्रा नानी बाबुहरुलाई संस्कार सिकाउने अरुले होइन आफ्नै आमाबाबुले हो । हाम्रा विद्यार्थीहरुलाई आफ्नो भूगोल, आफ्नो इतिहास आफ्नै भाषा र सभ्यतासँग सु–संस्कृत बनाउने बिदेशीले होइन हाम्रै गुरुहरुले हो । आफ्नो कर्तव्यबाट च्यूत भएकोले देश समाज र राज्यप्रतिको कर्तव्य सिकाउने ल्याकत राख्दैन यसको सबैले हेक्का राख्नै पर्छ । अब हरेक नेपालीले आफ्नो बास्तबिक पहिचान र धार्मिक, साँस्कृतिक, भाषिक र नेपाली सभ्यता सहितको पहिचान अनि यसै अनुरुपको नेपालीपनको संरक्षकत्व सहितको समृद्धि खोज्नै पर्दछ । अन्यथा आफ्नो नेपालीपन मासेर खोजिएको समृद्धि मात्रै दासता हुनेछ ।