समाजमा रहेको विभिन्न कुसंस्कार अनि चलनहरु मध्यको एक बालविवाह पनि हो
हेमन्तराज काफ्ले
पछिल्लो अध्ययनहरुले देखाए अनुसार नेपालमा बालविवाह बढ्नुको एक प्रमुख कारण गरिबी, अन्धविश्वास अनि सूचना प्रविधिको बढ्दो दुरुपयोग पनि हो । सामाजिक सञ्जाल फेसबुक, व्हाटसएप, ट्वीटर, ईमो, भाईबर वाइफाई तथा इन्टरनेट मार्फत लुकीछिपी अश्लिल भिडियो हेर्ने, केटा केटि सँग नजिक र केटि केटो सङ्ग नजिक हुने यस्ता अश्लिल वस्तु सेयर गर्ने, आदि जस्ता कारणले बालविवाह बढेको देखिन्छ । अन्धविश्वास सङै बालविवाहको अर्काे मुख्य कारण गरिबी हो । जसले सबै क्षेत्रमा नकारात्मक असर पारेको छ ।
तराई क्षेत्रमा गौना प्रथाका कारण चाडै विवाह गर्ने प्रचलन रहेको छ । यसैगरी पश्चिम तथा विभिन्न विकट गाउँहरुमा अझै पनि धार्मिक रुपमा महिनावारी हुनुपूर्व बालिकाको विवाह गर्नाले बुवा आमा स्वर्ग जान पाउने धार्मिक अन्धविश्वास रहेको छ । यस्ता कुरिती कुसंस्कारका कारण दिन प्रतिदिन बालबिबाह बढ्दै गएको छ । हाम्रो समाजमा निकै जटिल समस्याको रुपमा बालबिबाहले जडा गाडेको छ ।
यसको रोकथामको लागि सरकार र गैर सरकारी संस्थाले निकै कसरत गरे पनि कमि हुन सकिरहेको छैन । यो जटिल समस्याबाट मुक्त पाउनलाई बाल क्लबको निकै ठूलो महत्व हुन सक्छ । बाल क्लब गठन भएका ठाउमा बालबिबाह कम हुँदै गएका उदाहरणहरु हाम्रो समाजमा देख्न सकिन्छ । बाल क्लबलाई सक्रिय बनाउन सरकार अथबा स्थानीय निकाएले निकै ठूलो भूमिका खेल्नु पर्छ । बाल क्लबलाई सक्रिय बनाउन विविध बाल अधिकार सम्बन्धि कार्यक्रमहरु नियमित भैइ रहेको हुनु पर्छ। बाल क्लब गठन गरे पछि समय समयमा विविध विषयमा तालिम या प्रशिक्षण बाल अधिकार विज्ञ वा मानव अधिकार सम्बन्धि काम गर्ने सस्थाहरुले दिनु पर्छ अनि बल्ल बाल क्लबहरु सक्रिय हुन सक्छन् ।
बाल क्लबले बाल बिबाह मात्र होइन समाजमा भएका विभिन्न कुरिती कुसंस्कार अनि लागू औसध दुरुपयोग, विद्यालय बिचमै छोड्ने हरुलाई पनि सजिलै अन्त्य गर्न सघाउन सक्छ होला । बाल क्लबले बालबालिकालाई आफ्नो अधिकारको बोधका साथै समाजमा हुने बिकृती रोक्न एक मियोको रुपमा काम गर्न सक्छ । बाल क्लब सक्रिय गर्न स्थानीय निकायका साथै नागरिक समाजको निकै ठूलो महत्व छ । बाल बालिका राज्यका गहना हुन भविष्यका कर्णधार हुन् । मात्र हामीले राम्रो सस्कार दिन सक्यौ भने देश निर्माणमा निकै ठूलो योगदान पुग्न सक्छ । बाल क्लबनै समाजको कुसंस्कार विकृति विसंगतिहरु रोक्ने एक आधार बन्न सक्छ ।
सरकारी तथा गैरसरकारी निकायबाट विगतदेखि नै यो समस्या समाधान गर्न विभिन्न पहल गरेता पनि तेति धेरै परिवर्तन आउन सकेको छैन । नेपालका पहाड अनि तराई मधेसका गाउँमा बस्ने अधिकांशको एक छाक टार्न मुस्किल छन गरिबिको रेखा मुनि छन् । छोराको आशमा धेरै सन्तान जन्माउछन् । जसका कारण परिवारका सदस्य बढ्ने र दैनिक गुजारा चलाउन गाह्रो हुन्छ । छोरीहरुको पढाइ तथा खानामा खर्च हुने भएकोले कम उमेर मै छोरीहरुको विवाह गरी दिने गर्दछन् । गरिबीका कारण विवाह कम उमेरमा गर्नुपरेको देखिएको छ ।
नेपालमा धनीहरुको तुलनामा गरिबहरुको र गैर दलितहरुको तुलनामा दलितहरुको विवाह तुलनात्मक रुपमा कम उमेरमा भएको पाइन्छ । यसैगरी छोरीको छिटै विहे नगरिदिए पछि बुढीकन्या बस्नुपर्छ, उमेर ढल्केपछि विहे गर्न केटा पाउन गाह्रो हुन्छ भन्ने डरले पनि कम उमेरमै विहे गरिदिएको पाइन्छ । यी विविध कारणले गर्दा समाजमा बालविवाह एक जटिल समस्याको रुपमा देखिएको छ । नेपालको संविधान अनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरीतको विवाहको रुपमा लिइएको छ तर बाल विवाह बढी हुने मुलुकको सूचीमा नेपाल एसियामा तेस्रो स्थानमा रहेको पाइएको छ । बाल विवाहका कारण महिलाको यौन तथा प्रजनन् स्वास्थ्य जोखिममा परेको भन्दै सरोकारवालाले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बाल–विवाहका कारण महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा गम्भीर समस्या देखिएको र अकालमा आमा या सिसुको मृत्यु भएका घटनाहरु थुप्रै छन् । बाल बिबाह रोक्न सबै पक्षबीच हातेमालो हुन जरुरी छ । बाल विवाह, बालअधिकार, महिला अधिकार, मानव अधिकारको अनि विभिन्न अधिकारहरुको हनन मात्रै होइन, विकास र समृद्धिको बाधक हो । मानिसहरूले सामाजिक मूल्य, इज्जतका कारण वालविवाहबिरुद्ध बोल्नसकेका छैनन्, बाल विवाह विरुद्धका उजुरीहरू दर्ता भएका छैनन् ।
खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेको छैन । बाल विवाह गराउन स्थानीय निकायका पदाधिकारी आफै सक्रिय भन्ने समाचारहरु पनि समय समयमा हामीले सुनेका छौं । निकै कठिन छ बाल विवाह कम गर्न हाम्रो देशमा जबसम्म यसले राजनैतिक प्रश्रय पाइरहन्छ । संघीयतामा गइसकेको अवस्थामा छ अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनका लागि बाल क्लबलाई स्थानीय, प्रदेश र संघ सरकारले विशेष ध्यान दिई विभिन्न तहमा संजाल बनाई परिचालन गर्न सक्यो भने मात्र बाल विवाह अन्त गर्न सम्भव हुनेछ । बाल बिबाह एक कुसंस्कार हो यसका अन्त्यका लागि सबै जुटौं ।